coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदेशीसँग एटिएमबाट पैसा चोर्न मिल्ने उपकरण

पोखरा- गत कात्तिकमा राजधानीस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएमबाट मास्टर र भिसा कार्डको पिन नम्बर चोरेर रकम निकाल्न सक्रिय विदेशी नागरिकलाई प्रहरीले धमाधम पक्राउ गर्‍यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्यस बेला काठमाडौं सहित पोखराका विभिन्न एटिएम बुथबाट डाटा बाहिर पठाएकाले बैंकिङ कारोबारमा सतर्क रहन सर्वसाधारणलाई भनेको थियो।

सिआइबीले गरेको आशंकालाई बल पुग्ने गरी वित्तीय संस्थाका एटिएम बुथबाट रकम निकाल्न प्रयोग गर्ने केही डिभाइस र कार्डसहित कास्की प्रहरीले शनिबार दुईजना बुल्गेरियन नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुको साथबाट आठवटा एटिएम र मास्टर कार्ड, तीनवटा ल्यापटप, तीनवटा मोबाइल र इलेक्ट्रोनिक डिभाइस सहितका उपकरण फेला परेका छन्। पक्राउ परेका ती नागरिकबाट तीन लाख रुपैयाँ फेला परे पनि त्यो रकम आफ्नो रकम भएको विदेशीले प्रहरीसमक्ष दाबी गरेका छन्।

कास्की प्रहरी स्रोतका अनुसार बुल्गेरियाका ५८ वर्षीया लुसिया नोभ र ४६ वर्षीय मार्टिन इभानोभलाई प्रहरीले शनिबार बिहान लेकसाइडको एक अपार्टमेन्टबाट पक्राउ गरेको हो। हिमालयन बैंकको पोखरा शाखाले लेकसाइडस्थित एटिएम मेसिनमा पैसा निकाल्न पुगेका ती विदेशीको गतिविधिप्रति आशंका गर्दै प्रहरीलाई सिसिटिभी फुटेज उपलब्ध गराएको थियो। त्यही फुटेजका आधारमा प्रहरीले खोज्दै जाँदा शनिबार बिहान उनीहरु अपार्टमेन्टबाटै पक्राउ परेका हुन्।

'उनीहरुले अहिलेसम्म रकम चोरे वा चोरेनन् भन्ने प्रमाण फेला परिसकेको छैन। बैंकले पनि रकम हराएको विवरण दिएको छैन। तर, एटिएम बुथमा चोरी गर्न मिल्ने डिभाइस उनीहरुको साथमा फेला परेका छन्,' प्रहरी स्रोतले भन्यो, 'सिआइबीले पोखरामा सञ्चालित वित्तीय संस्थाका एटिएमको डाटा चोरेको भन्दै सतर्क हुन भनेको थियो। त्यही अनुसार चोरी गर्न मिल्ने डिभाइस सहित विदेशी पक्राउ परेपछि सिआइबीको आशंकालाई थप बल पुगेको छ।' यसअघि राजधानीमा पक्राउ परेका विदेशीमध्ये केही बुल्गेरियन नागरिक पनि थिए। पोखरामा शनिबार पक्राउ पर्ने पनि बुल्गेरियन हुन्। पोखराका एटिएम बुथबाट चोरी गर्न सजिलो हुने भन्दै ती विदेशी पोखरा आएको हुन सक्ने प्रहरीको आशंका छ।

ती प्रहरीका अनुसार पक्राउ परेका विदेशीले सामान आफूहरुको नभई साथीको भएको बयान दिएका छन्। 'बिदाको दिन परेकाले पनि वित्तीय संस्थाले विवरण दिन नसकेका हुन सक्छन्। चोरी गर्न नभ्याए पनि उनीहरुको सिसिटिभी फुटेज निकै शंकास्पद देखिन्छ,' ती प्रहरीले भने, 'निकै बेर एटिएम बुथभित्र अल्मलिएपछि बैंकलाई शंका लाग्यो। त्यही आधारमा हामीलाई खबर गरेपछि पक्राउ गरेका हौं। अहिलेसम्म उनीहरुले चोरेको प्रमाण छैन। उनीहरुको साथमा चोर्न मिल्ने डिभाइस छन्।'

राजधानीमा एटिएम बुथबाट चोरी बढेपछि सिआइबीले त्यस बेला पोखराका विभिन्न एटिएम बुथबाट डाटा बाहिर पठाएको जानकारी दिएको थियो। त्यसपछि वित्तीय संस्था अझै बढी सचेत बनेका थिए। वित्तीय संस्थाले पोखराका एटिएम बुथमा २४सै घन्टा सुरक्षा निगरानी बढाउनेदेखि कारोबार अद्यावधिक गर्न पनि ग्राहकलाई आग्रह गरेका थिए। त्यस्तै कार्डको पिन नम्बर फेर्न पनि वित्तीय संस्थाले भनेका थिए। 'सिआइबीले त्यो बेला नै पोखराका एटिएम बुथको डाटा बाहिर पठाएको भनेको थियो। त्यसैलाई पुष्टि गर्दै यहाँ डिभाइस सहित विदेशी भेटिए,' ती प्रहरीले भने, 'पोखराका एटिएम बुथ र बैंकिङ कारोबारप्रति सचेत हुनुपर्ने पुष्टि भएको छ।'

वित्तीय संस्थाका पदाधिकारी पोखरामा धेरै मुलुकका पर्यटक भित्रिने र पक्राउ परेका विदेशीसँग एटिएमबाट रकम निकाल्न मिल्ने विद्युतीय डिभाइस फेला परेकाले सचेत हुनुपर्ने बताउँछन्। ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विश्वमोहन अधिकारी बैंक परिसरभन्दा बाहिर एटिएम बुथ राख्दा बढी जोखिम हुने बताउँछन्। 'बैंक परिसरमा सुरक्षा व्यवस्था हुन्छ। केही आशंका लागे तत्काल सोधपुछ गर्न सकिन्छ। तर, एकान्तमा राख्दा बढी जोखिम हुन्छ,' उनले भने, 'तर पनि सचेत हुनैपर्ने छ।' विदेशीहरुले बढी मात्रामा भिसा र मास्टर कार्ड प्रयोग गर्ने भएकोले ठुला ती कार्ड चल्ने बुथमा ध्यान दिनुपर्ने उनले बताए।

कास्की प्रहरीका डिएसपी खड्कबहादुर खत्रीले पक्राउ परेका विदेशीले सामान आफ्नो नभएको बताएका छन्। 'उनीहरुले सामान हाम्रो होइन, साथीको हो भनेका छन्। हामी त्यसबारेमा थप अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'अहिलेसम्म रकम चोरी भयो भनेर आएको छैन। तर, उनीहरुका साथबाट फेला परेका डिभाइस र बैंकको सिसिटिभी फुटेजले केही आशंका गर्न सकिन्छ।' बैंकले उपलब्ध गराएको फुटेज हेर्दा विदेशीको गतिविधि निकै नै शंकास्पद रहेको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७३ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App