coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुर्घटना टर्‍यो, छानबिन समिति गठन

काठमाडौं- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो।

नेपाल वायुसेवा निगमको गत सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने ७ बजे त्यसबाट पाँच टन (५ हजार लिटर) तेल चुहिन पुगेको थियो।

'एघार नम्बरको पार्किङ बेमा रहेको निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानीट्यांकर, सुरक्षाकर्मी, एम्बुलेन्स एकैचोटि परिचालित गरेर दुर्घटना टार्‍यौं,' विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले बुधबार नागरिकसँग भने, 'चुहिएको तेलमा मसिनो आगोको झिल्कोमात्र परेको भए जहाजदेखि वरिपरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।'

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित एक सय ५८ सिट क्षमतायुक्त निगमको 'ए३२०–२००' सिरिजको उक्त जहाजको मंगलबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जाने तालिका थियो। '९एन–एकेडब्लु' कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि 'ग्राउन्डेड' थियो।

'दायाँ पखेटामा रहेको इन्धन ट्यांकको फ्युल पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर ट्यांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो', सम्बद्ध एक अधिकारीले भने, 'त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्यो, रोक्नै सकिएन।'

विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनसाथा तत्काल विमानस्थल दमकल (फोमसहितको), पानी ट्यांकर, सुरक्षाकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो। तेल बिस्तारै नजिकैको कुलो (ड्रेनेज) मा बगाउन थालियो।

'हवाई इन्धन यति प्रज्ज्वलनशील हुन्छ कि मसिनो आगोको झिल्कोले पनि ह्वात्तै टिप्छ र ठूलो आगलागी हुन्छ', ठाकुरले भने, 'कसैगरी पनि चुहिएको तेल रोक्न सकिएन र तेल बगेर जताजता पुग्यो, त्यता–त्यता प्रहरीले घेरा हालेर बसे। झन्डै डेढ घन्टासम्म तेल चुहिएपछि सुरक्षित तरिकाले निगमको जहाजलाई उसको ह्यांगरमा लग्यौं।'

जहाजलाई गुडाउँदै ह्यांगरमा लाने क्रममा पनि तेल थोपाथोपा चुहिरहेपछि बाल्टी थाप्दै तेल भुइँमा झर्न नदिइएको र जहाजसँगसँगै दमकल पनि गुडाउँदै लगिएको उनले बताए। भुइँ र ड्रेनेजमा पोखिएको तेलमाथि 'फोम' छ्यापेर पानीको फोहोराले पखाल्दै डेढ घन्टा लगाएर सफा गरिएको थियो।

तेल चुहिएको जानकारी पाउनासाथ विमानस्थल व्यवस्थापनले ७, ८ र ९ नम्बरका अन्तर्राष्ट्रिय पार्किङ बे तुरुन्त खाली गराएको थियो। तेल चुहिरहेका बेला पार्किङ बेमा निगमकै अर्को ए३२०, मलेसियाको मालिन्दो एयर र सिल्क एयरका जहाज थिए। घटना अवधिभर विमानस्थल भने बन्द नगरिएको ठाकुरले जानकारी दिए।

घटनापछि विमानस्थलले के कति कारण घटना भयो छानबिन गरी स्पष्ट जानकारी दिन बुधबार वायुसेवा निगमलाई पत्राचार गरेको छ। लगत्तै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको निर्देशनपछि इन्जिनियरिङ डाइरेक्टर पोषक ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा क्लालिटी एस्योरेन्स विभागका एक अधिकारी र लाइन मेन्टिनेन्स इन्जिनियर एकजना सदस्य छन्। समितिलाई १० भित्र प्रतिवेदन पेस गर्ने कार्यअवधि दिइएको छ। 'निगम इतिहासमै यसखालको घटना भएको थिएन,' सम्बद्ध अधिकारीले भने, 'नयाँ जहाजमा कसरी यस्तो हुन गयो छानबिन समितिले पत्ता लगाउनेछ।'

निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले छानबिन समितिको प्रतिवेदन नआई घटनाबारे यसै भन्न नसकिने बताए। 'जहाज अहिले ग्राउन्डेड छ, मर्मत गर्न विदेशबाट मगाएको सामान भारत नयाँदिल्लीबाट बुधबार राति आइपुगेको छ', उनले भने, 'सामान जडान हुनासाथ जहाज नियमित उडानमा फर्कनेछ।'

प्रकाशित: ३ चैत्र २०७३ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App