१६ चैत्र २०८० शुक्रबार
अर्थ

गुणस्तरको लागि प्रविधि र अनुसन्धान

वीरगन्ज- मुलुकभित्र बढ्दो सिमेन्ट बजारमा आफ्नो उत्पादनको हिस्सेदारी बढाउन र साख उच्च राख्न वीरगन्ज पथलैया करिडोरको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले गुणस्तर र प्याकेजिङमा विशेष ध्यान दिएको दाबी छ। यसको लागि नयाँ प्रविधि अपनाउने र उत्पादनको गुण नियन्त्रणका लागि नियमित अनुसन्धान र परीक्षण गराई राख्ने रणनीति उद्योगले लिएको छ।

'ओपिसी' (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र 'पिएससी' पोर्टल्यान्ड स्लेग सिमेन्ट गरी दुई थरीका ६० लाख बोरा अर्थात तीन लाख टन सिमेन्ट यो वर्ष बजारमा खपत भएकोउद्योगका कार्यकारी निर्देशक राजेश अग्रवालले बताए। ९७ प्रतिशत क्लिंकर र तीन प्रतिशत जिप्सम मिलाए बनाइने 'ओपिसी' जगदम्बा गोल्ड, जगदम्बा एफ २ आर र जगदम्बा अल्ट्रा प्रिमियम ब्रान्डसँगै अर्को पाँचथरीका पिएससी सिमेन्ट पनि यसले बजारमा पुर्‍याउने गरेको छ। ५० प्रतिशत क्लिंकर, ४७.५ प्रतिशत स्लेग र २.५ प्रतिशत जिप्समको समिश्रणले बन्ने पिएससी सिमेन्टका पाँचवटा ब्रान्ड उत्पादन गर्ने जगदम्बाले नेपालमा स्लेग सिमेन्टको चलनलाई बढावा दिरहेको छ। जगदम्बा पिएसी, अल्ट्रा पिएसी, एभर एलएटी पिएसी, माउन्ट पिएसी र फोर्स पिएसी उसका ब्रान्ड हुन्।

फलाम प्रसोधन गर्ने ब्लास्ट फर्निस कारखानाको अतिरिक्त उत्पादन (बाइ प्रोडक्ट)को रुपमा निस्किने बालुवाजस्तो वस्तु 'स्लेग'लाई सिमेन्ट उत्पादनमा खपत गरी वातावरणलाई त्यसको प्रभावबाट जोगाउन स्लेग सिमेन्टको अवधारणा सुरुमा ल्याइएको हो। ब्लास्ट फर्निस स्टिल प्रसोधनबाट निस्किने 'स्लेग'मा सिमेन्टलाई चाहिने तत्व प्रचुर मात्रामा हुने गरेको छ।

सुरुवाती समयमा यसको उत्पादन लागत सस्तो पनि थियो। रासायनिक प्रतिक्रिया (केमिकल रियाक्सन) खप्न सक्ने प्रतिरोधी क्षमता अधिक भएको कारण हालका दिनमा संवेदनशील माटो र वातावरण भएको ठाउँमा स्लेग सिमेन्ट लगाउन इन्जिनियरहरुले सुझाउन थालेपछि यसको माग बढेर गएको छ। नेपाल त्यस्तै खाले संवेदनशील वातावरणीय प्रभाव भएको भूगोल भएकोले यहाँ स्लेग सिमेन्टको उपयोगिता बढी भएको इन्जिनियर अवधेश तिवारी बताउँछन्। उनले अरु खाले सिमेन्टको पनि आफ्नै खास विशेषता भएको बताए।

अहिले प्रतिघन्टा १५ टन उत्पादन क्षमता भएको चारवटा एकाइ यस उद्योगले सञ्चालनमा राखेको छ। ती एकाइहरुलाई बजारमा जुनथरीको माग रहन्छ त्यसै अनुसार चलाउने गरिएको उद्योगका माहाप्रबन्धक आलोक अग्रवालले बताए। उनका अनुसार नौ सय टन प्रतिदिन उत्पादन क्षमता भएको शुभश्री जगदम्बाले वर्षको तीन लाख टन सिमेन्ट बजारमा पुर्‍याउने गरेको छ। 'वर्षको लगभग ६० लाख बोरा सिमेन्ट हामीले बजारमा बेच्ने गरेका छौं,' अग्रवालले भने, त्यसैले गुणस्तर कायम राख्न हामी आफैं पनि निरन्तर रुपमा उत्पादनको परीक्षण गरिरहन्छौं।' उद्योग प्रांगण मै जगदम्बाले आधुनिक प्रविधियुक्त भौतिक र रासायनिक प्रयोगशाला राखेको छ।

जगदम्बाको कुल उत्पादनको ६० प्रतिशत स्लेग सिमेन्ट र ४० प्रतिशत सधारण पोर्टल्यान्ड सिमेन्ट रहने गरेको उनले जानकारी गराए। हरेक किसिमको निर्माण उत्कृष्ट हुने भएकोले धेरैजसो देशमा परम्परागत सिमेन्टको साटो स्लेग सिमेन्टको उत्पादन बढ्न थालेको उद्योगका उत्पादन तथा गुणस्तर प्रबन्धक एसके रहमानले बताए।

विश्वस्तरीय प्रविधि ल्याई क्षमता दोब्बर

शुभश्री जगदम्बाले आउँदो भदौभित्रमा सुरु हुनेगरी अर्को उत्पादन एकाइ स्थापना गर्न लागेको छ। 'पहिलेको भन्दा यो नयाँ एकाइले विश्वको सबभन्दा नयाँ प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्नेछ,' उद्योगका प्रोजेक्ट म्यानेजर सन्तोषकुमार सिंहले भने, 'यो विशिष्ट किसिमको सिमेन्ट उत्पादनको लागि प्रचलनमा ल्याइएको नयाँ प्रविधि हो।' उनले भनेको नयाँ एकाइ उद्योगको हाताभित्रै निर्माण भइरहेको छ।

अहिले प्रचलित 'क्लोज सर्किट बल मिल्स'बाट जगदम्बाले उत्पादन गर्दै आएकोमा नयाँ प्रोजेक्टबाट भदौदेखि 'भर्टिकल सिमेन्ट ग्राइन्डिङ मिल्स' स्थापना गर्न लागेको हो। त्यस नयाँ उत्पादन एकाइमार्फत उद्योगले ७० हजार टन प्रतिघन्टा ओपिसी र ६० हजार टन प्रतिघन्टा पिएससी सिमेन्ट उत्पादन गर्न सक्ने सिंहले बताए। उनका अनुसार नयाँ प्रविधिको मिलले अधिकतम मसिनो सिमेन्ट निकाल्न सक्छ। यसको सञ्चालन सुरु भएपछि जगदम्बाले अहिलेको तुलनामा कम्तीमा दोब्बर सिमेन्ट उत्पादन गर्नेछ।

लेमिनटेड प्याक

सिंहका अनुसार जगदम्बाले आफ्ना उत्पादन 'पोलिलेमिनेटेड' ब्यागमा बजारमा पुर्‍याउने गरेकोले यसका ग्राहकले प्रयोग गर्ने बेलासम्म उच्च गुणस्तरको सिमेन्ट बोराबाट झिकेर लगाउन पाउने गरेको दाबी गरेको छ। 'सिमेन्टको साधारण बोराभन्दा यो फरक हो, भरेको सिमेन्टलाई हावापानीबाट बचाउन प्लास्टिकको भरपर्दो पत्र भएको बोरा हामीले प्रयोगमा ल्याउने गरेका छौं,' सिंहले भने, 'यसले हावाको चिसोपना बोराभित्र पस्दैन र सिमेन्ट सुरक्षित रहन्छ।'

त्यसैगरी उत्पादन मिति लेख्न'कम्प्युटराइज्ड' अनलाइन प्रविधि समेत जगदम्बाले प्रयोगमा ल्याएको छ। हात लेख्दा मेटिने र गडबड हुने सम्भावना भएकोले उत्पादन मिति लेख्न'कम्प्युटराइज्ड' अनलाइन प्रविधि प्र्रयोगमा ल्याइएको अग्रवालले जानकारी गराए। जगदम्बाअघि नेपालमा सिमेन्टको लागि मिति लेख्न'कम्प्युटराइज्ड' अनलाइन प्रविधि र 'लेमिनेटेड' बोरा प्रयोगमा ल्याइएको थिएन।

जगदम्बाले उद्योगबाट वातावरणलाई असर नपुग्ने प्रविधि पनि कारखानामा राखेको छ। सिमेन्ट कारखानामा धुलो नदेखिने उद्योगको रुपमा यो रहेको छ। 'ब्याग फिल्टर्स' प्रविधि उद्योगमा पर्याप्त मात्रामा जडान गरेर धुलो नियन्त्रण गरेको रहमानले बताए। ताजा जाँचमा प्रतिघनमिटर हावामा पाँच मिलीग्राममात्र धुलो पाइएको उनले बताए। यो भनेको अतिन्यून हो। जगदम्बाले वातावरणीय व्यवस्थापन प्रणाली उत्कृष्ट प्रमाणित गर्ने आइएसओ १४००१ः २००४ को प्रमाणपत्र हासिल गरेको छ। नेपाल गुणस्तर चिह्न प्राप्त यसका उत्पादनले इन्डियन गुणस्तर प्रमाणपत्र पनि पाएको छ। 

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App