२३ असार २०७७ मंगलबार
अर्थ

पर्यटक बढे पनि आम्दानी बढ्न सकेन

भैरहवा- केही वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीप्रति विदेशीको आकर्षण बढ्दै गएको छ। बौद्ध धर्मालम्बीका साथै युरोप, अमेरिका जस्ता मुलुकबाट पनि लुम्बिनी आउनेको संख्या उल्लेख्य बढेको छ। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार वार्षिक डेढ लाखको हाराहारीमा बाह्य पर्यटक लुम्बिनी आउँछन्। जबकी १५ वर्षअघि सन् २००२ मा यो संख्या नौ हजार थियो। त्यसपछिका वर्षमा लुम्बिनी आउने स्वदेशी तथा विदेशीको संख्या बर्सेनि बढ्दो छ। सन् २०१६ मा १२ लाख ८५ हजार पर्यटक लुम्बिनी आएकामा सवा लाखभन्दा बढी भारतीय र एक लाख ३६ हजार बाह्य पर्यटक थिए। सन २०१७ को दुई महिनामा ३१ हजार विदेशी लुम्बिनी आएका छन्।

यो तथ्यांकले लुम्बिनीप्रति बाह्य पर्यटकको अकर्षण बढ्दै गएको देखाए पनि पर्यटकको बसाइ अवधि लम्ब्याउन नसक्दा यहाँको पर्यटन क्षेत्रले उल्लेख्य फाइदा लिन सकेको छैन। पर्यटक आगमन बढे पनि पर्यटन क्षेत्रको आम्दानी बढ्न नसकेको व्यवसायीको गुनासो छ। तथ्यांकमा विदेशी पाहुनाको आगमन बढे पनि यहाँको पर्यटन व्यवसाय आन्तरिक पर्यटककै भरमा चलेको सिद्धार्थ होटल एसोसियसनका लुम्बिनी च्याप्टर अध्यक्ष मिथुनमान श्रेष्ठले बताए।

'सय जना विदेशी लुम्बिनी आए मुस्किलले पाँच जनाले रात बिताउँछन्,' लुम्बिनी गेस्ट हाउस सञ्चालक श्रेष्ठले भने।  लुम्बिनी विकास कोषको तथ्यांकले पनि यो कुराको पुष्टी गर्छ। कोषका अनुसार ८५ प्रतिशत बाह्य पर्यटक आएकै दिन घर फर्कन्छन्। बाँकी १० प्रतिशत आ–आफनै देशका बिहार र गुम्बामा बस्छन्। पाँच प्रतिशतले मात्रै होटलमा राती बस्ने गर्छन्।

पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, अधुरो लुम्बिनी गुरुयोजना तथा लुम्बिनी बाहेकका बुद्धस्थलको प्रचार प्रसारको अभावमा विदेशी दुई–चार घन्टाका लागि लुम्बिनी आउँछन् र सोही दिन फर्कन्छन्। खासगरी छिमेकी मुलुक भारतको बाटो हुँदै आउने विदेशीले लुम्बिनी बाहेकका बुद्धस्थल भारतमै रहेको बुझ्ने गरेको पाइन्छ। बेलहिया नाका हुँदै आउने पर्यटकलाई भारतीय टुर प्याकेजमा दुई–चार घन्टाका लागि लुुम्बिनी ल्याउने र अन्य बुद्धस्थल भारतमै रहेको गलत जानकारी दिने गरिएको सिद्धार्थ एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट साटाका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताए। अधिकारी भन्छन्, 'यसरी आउने पर्यटकलाई लुम्बिनीसँगै अन्य बुद्धस्थल तथा नेपालबारे जानकारी दिने कहिंकतै व्यवस्था छैन, उनीहरु भारतीय गाइडले जे भन्यो त्यही पत्याउन बाध्य छन्।'

बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने नाका हो। यहाँबाट नेपाल आउने पर्यटकको पहिलो गन्तब्य लुम्बिनी नै हो। तर नाकामा अध्यागमन र पर्यटन कार्यालयले पर्यटकलाई लुम्बिनी तथा बुद्धस्थलका बारेमा सामान्य जानकारी दिने व्यवस्था समेत गर्न सकेका छैनन्। अध्यागमनमा इन्ट्री गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी भेटाउन मुस्किल पर्छ। पर्यटन बोर्डको कार्यालयका गतीविधि झन सून्य छन्। कार्यालयले नेपाल भारत नाकामा समान्य सूचना बोर्ड र नेपालको झन्डा समेत राख्न सकेको छैन। पर्यटकले चाहेर पनि लुम्बिनी र बुद्धस्थलबारे जानकारी र नेपाली गाइड नाकामा फेला पार्न सकिँदैन। त्यसका अलावा सबैभन्दा धेरै थोत्रा गाडी चल्ने भैरहवा लुम्बिनी रुटमा हरियो नम्बर प्लेटका गाडीमा समेत ठूला व्यवसायी समितिको सिन्डिकेट छ। जसले पर्यटकको लुम्बिनी यात्रा सहज हुन सकेको छैन। लुम्बिनी भित्रै पनि पर्यटकलाई भुलाइ राख्ने खालका संरचना, बौद्धकला र संस्कृति झल्कने विशेष कार्यक्रम वा पर्याप्त भौतिक पूर्वाधार तथा सुविधाको अभाव छ। लुम्बिनी परिसरभित्र बालबालिका, बृद्धबृद्धा तथा अपागंता भएकालाई घुम्न निकै समस्या छ। जसको निराकरणका लागि दुई वर्षअघि इलेक्ट्रिक रिक्सा सञ्चालन गर्ने भनिए पनि कमिसनमा कुरा नमिलेपछि योजना अलपत्र परेको हो। लुम्बिनीसँगै बुद्धले २९ वर्ष बिताएको कपिलबस्तुको तिलौराकोट, बुद्धमावली देवदह, अस्तुधातु रहेको नवलपरासीको रामग्राम लगायत यस क्षेत्रका पर्यटकीय स्थालका बारेमा सही जानकारी दिने व्यवस्था सहितको एकिकृत पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। त्यस्तै निजी क्षेत्रले पनि पर्यटकलाई भुलाइ राख्ने खालका पूर्वाधार निर्माण तथा आकर्षक प्याकेजका कार्यक्रम गरेको देखिँदैन।

पर्यटकलाई लक्षित गरेर केही वर्षयता भैरहवा, लुम्बिनी तथा बुटवल क्षेत्रमा दजर्नौं ठूला होटल निर्माण भइरहेका छन्। सानाले पनि धमाधम कोठा थपिरहेका छन्। टुर एन्ड ट्राभल एजेन्सीमा पनि लगानी बढ्दो छ। भैरहवामा निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएपछि पर्यटक आगमन अझ बढ्ने अपेक्षामा व्यवसायीले लगानी विस्तार गरेका हुन्। तर अहिलेको जस्तै तथ्यांकमा सीमित पर्यटक आगमनले लगानी सुरक्षित नहुने जानकार बताउँछन्। लुम्बिनी आउने दुई–चार घन्टा सुस्ताउने र फकर्ने प्रवृत्ति रोक्न नसके अर्बौंको लगानी धरासायी हुने निश्चित रहेको सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए। पर्यटन नीति नै देशको हितमा नभएको भन्दै उनले नीतिगत सुधार गरी निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकको बसाइ लम्ब्याउन दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए। अध्यक्ष श्रेष्ठ भन्छन्, 'पहिलो कुरा भिसा फ्री सिष्टम हटाइनुपर्छ, हैन भने वन नाइट स्टेको नीति ल्याउनुपर्छ र लुम्बिनीका बौद्ध गुम्बा र बिहारले सञ्चालन गरेका गेस्ट हाउस बन्द गराइनुपर्छ।'

सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिष्णु शर्माले स्थलमार्ग हुँदै आउने पर्यटकका लागि नाकामा र हवाइमार्ग हुँदै आउनेका लागि विमानस्थलमै लुम्बिनी र बुद्ध क्षेत्रका बारेमा पर्याप्त जानकारी, टुरिस्ट गाइडको व्यवस्था र सहज यात्राका लागि सुविधा सम्पन्न यातायातको व्यवस्था गर्नुपर्ने बताए। शर्मा भन्छन्, 'लुम्बिनी र बुद्ध क्षेत्रहरुको एकीकृत विकासमा हातेमालो गर्दै पर्यटकीय गतिविधि बढाउन निजी क्षेत्र तयार छ तर सरकारले निजी क्षेत्रमैत्री पर्यटन नीति बनाउनु जरुरी छ।' राजनीतिक आस्थाका आधारमा नियुक्त हुने कोषका पदाधिकारी र कर्मचारीबीच हुने राजनीतिक दाउपेच तथा राजधानीमा बसेर लुम्बिनीबारे गरिने कागजी समिक्षा र योजनाका कारण पनि  पर्यटन क्षेत्रको विकास हुन नसकेको ठहर व्यवसायीको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App