७ वैशाख २०८१ शुक्रबार
अर्थ

सम्मेलन फलोअप समिति बन्यो

काठमाडौं- उद्योग मन्त्रालयले नेपाल लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्न देखाएको इच्छालाई मूर्त रुप दिन पहल सुरु गरेको छ। लगानी सम्मेलनका बेला लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले चारवटा समिति निर्माण गरेको छ।

उद्योग मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले नेेपाल लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न देखाएको इच्छालाई यथार्थमा बदल्न आफ्नै अध्यक्षतामा सरोकारवाला मन्त्रालयका मन्त्रीसमेत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए। 

उद्योगमन्त्रीको अध्यक्षतामा गठित २१ सदस्यीय उच्चस्तरिय समितिमा  भौतिक योजना, वाणिज्य, पर्यटन र ऊर्जामन्त्री समेत सदस्य छन्। यसैगरी राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी सम्बन्धी नीति उपसमिति गठन गरिएको छ ।

११ सदस्यीय सो समितिमा निजी क्षेत्रको समेत सहभागिता रहने व्यवस्था मिलाइएको छ। उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा विदेशी लगानी प्रवर्द्धन उपसमिति गठन गरिएको छ। ११ सदस्यीय उक्त समितिमा सरोकारवाला मन्त्रालयका सहसचिवहरु सदस्य रहने व्यवस्था गरिएको छ। यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा विदेशी लगानी सम्बन्धी परियोजना उपसमिति गठन गरिएको छ। सो समितिमा पनि ११ जना सदस्य रहने व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनमा उद्योगमन्त्री जोशीले लगानी प्रवर्द्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्वार नीतिलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने गरी प्रक्रिया सुरु गरिएको बताए। 

लगानी सम्मेलनमा सहभागी क्यानाडाको सरकारी स्वामित्वको जलविद्युत कम्पनी क्युमेकले नेपालको जलविद्युत विकासमा लगानी गर्ने चासो देखाएको समेत उद्योगमन्त्री जोशीले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७३ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App