coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !

आठहजार मिटरसम्मको उचाईलाई फरक तरिकाले प्रयोग गर्ने तयारीः पर्यटन विभाग

सगरमाथाको आठहजार मिटरबाट उडेर आधारशिविरमा अवतरण गरेको प्याराग्लाइडिङ। तस्बिरः नागरिक

आठहजार मिटर उचाईसम्मका हिमाललाई आरोहणमा मात्र सिमित नराखि अन्य साहसिक गतिविधिमा पनि उपयोग गर्ने सरकारी योजना अनुरुप प्याराग्लाइडिङ उडानको परीक्षण सुरु भएको छ। त्यसै क्रममा सगरमाथाको आठहजार मिटर उचाईबाट एकजना चिनियाँ पाइलटले विहीबार बिहान सफलतापूर्वक प्याराग्लाइडिङ उडान भरेका छन्।  

पोखराको बाबु एडभेन्चर स्कुलको व्यस्थापनमा गएका चिनियाँ पाइलट लि सेङटाओले विहीबार बिहान सगरमाथाको आठहजार मिटरबाट उडान भरेर ५३ सय मिटर उचाईको आधारशिविरमा अवतरण गरेका हुन्। बाबु एडभेन्चरका प्रशिक्षण पाइलट सानोबाबु सुनुवारका अनुसार सरकारले आठहजार मिटरका हिमालबाट प्याराग्लाइडिङ उडान गर्न पाउने गरि परीक्षण उडानको अनुमति दिएको थियो। त्यही अनुसार चिनियाँ पाइलटले लि ले उडान भरेको उनले बताए।  

‘सगरमाथाको आठहजार मिटर भन्दा माथिबाट उड्न भने पाइदैन। तर, आठहजार मिटर मुनि रहेर नेपालका अन्य हिमालबाट पनि उडान गर्न सकिन्छ। अहिले गरिएको उडान परीक्षणको क्रममा हो,’ सुनुवारले भने, ‘अहिलेसम्म उच्च हिमाली श्रृंखला आरोहणमा मात्र उपयोग भएका थिए। तर, अब सरकारले आठहजार मिटरसम्मको उचाईका हिमाललाई फरक तरिकारले साहसिक पर्यटकीय गतिविधिका रुपमा पनि उपयोग गर्ने तयारी गरेको छ। त्यही अनुसार पर्यटन मन्त्रालयले अनुमति दिएको थियो।  

बिहान ९ बजे उडेर ९ः ४५ मा आधारशिविरमा अवतरण गरेको सुनुवारले बताए। ‘यो ज्यादै नै साहसिक गतिविधि हो। यत्तिको आँट जो कोहीले गर्न सक्दैन, सरकारले साच्चै व्यवसायिक रुपमा उडान गर्न दिने हो भने नेपालका चुचुराबाट प्याराग्लाइडिङ उडान गर्न पाइलटहरु आउनेछन,’ सुनुवारले भने, ‘यसले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा झनै ठुलो भूमिका खेल्नेछ।’  

सुनुवारका अनुसार पर्यटन मन्त्रालयले पटके अनुमतिका रुपमा अष्ट्रेलियन नागरिक हट केनेथ नेल, मार्कस चाल्र्स लोनी र चिनियाँ नागरिक लि लाई पटके उडानको अनुमति दिएको थियो। लबुचे, मेरापिक र सगरमाथा क्षेत्रमा उडान गर्नेगरि मे ५ देखि जुन ५ भित्र उडान भरिसक्नेगरि अनुमति दिएको थियो। ‘चिनियाँ पाइलटले सगरमाथा क्षेत्रमा उडान भरिसकेका छन्। अस्ट्रेलियन नागरिकले भने लबुचेमा उडान भर्ने तयारी छ,’ हाइ अल्टिच्यूड प्याराग्लाइडिङ प्रशिक्षक समेत रहेका सुनुवारले भने, ‘मौसमले साथ दिएकोले सगरमाथाको उडान सफल भयो।’  

उनीहरुलाई सरकारले एकपटकका लागि मात्र उडान अनुमति दिएको सुनुवारले बताए। परीक्षण उडानबाट प्राप्त भएका तथ्यहरु समेटेर पर्यटन मन्त्रालयमा प्रतिवेदन दिनुपर्नेगरि मन्त्रालयले अनुमति दिएको उनले बताए। ‘अहिले त परीक्षण उडान मात्र भएको हो। यसलाई व्यावसयिकता दिने तयारीमा सरकार छ,’ सुनुवारले भने, ‘अहिलेसम्म हिमाली चुचुरा आरोहणमा मात्र सिमित थिए। तर, अब प्याराग्लाइडिङ पनि गर्न सकिने गरि खुलाउने तयारी छ।’ हिमाल आरोहण मात्र नभइ अरु साहसिक गतिविधिका लागि पनि भन्ने देखाउनका लागि यस्ता गतिविधि आवश्यक रहेको उनले बताए।  

पर्यटन विभागका प्रवक्ता सुर्यप्रसाद उपाध्यायले पनि बाबु एडभेन्चरमार्फत एकजना चिनियाँ र दुइजना अस्ट्रेलियन नागरिकलाई सगरमाथा क्षेत्रबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको बताए। ‘उनीहरुले पटके अनुमति लिएर उडान भरेका हुन्। चिनियाँको उडान सफल भएको छ,’ उपाध्यायले भने। उपाध्यायले पनि आठहजार मिटर उचाइसम्मका हिमाली श्रृंखलालाई आरोहणमा मात्र सिमित नराखि फरक तरिकारले साहसिक गतिविधिमा उपयोग गर्ने सरकारी योजना अनुरुप विदेशी नागरिकलाई प्याराग्लाइडिङ उडानको अनुमति दिएको बताए।  

‘अहिलेको उडान परीक्षणका लागि हो। उडान भरेका पाइलटले प्रतिवेदन दिएपछि त्यसलाई अध्ययन गरेर केही समयपछि व्यावसायिक उडानका लागि खुलाउने तयारी छ,’ उनले भने, ‘अहिलेसम्म हिमाल क्षेत्र आरोहणमा मात्र सिमित थिए। तर, अरु साहसिक गतिविधिमा उपयोग गर्ने हो भने साच्चै साहसिक पर्यटक नेपाल भित्रिनेछन। त्यसले गर्दा राज्यको आम्दानी पनि बढ्छ। त्यसले रोजगारी पनि सिर्जना गर्छ।’ आठहजार मिटर भन्दा माथिबाट भने उड्न नपाउने उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०८० ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App