१६ चैत्र २०८० शुक्रबार
अर्थ

मेची पहाडमा पेट्रोल अभाव

इलाम– गतवर्ष करिब ५ महिना पेट्रोलियम अभाव खेपेको मेची पहाडमा ३ दिनयता उही समस्या दोहोरिएको छ। ‘स्थानीय तहको निर्वाचन घोषणापछि तराईमा हुनसक्ने विरोध’ र ट्यांकर व्यवसायीको आन्दोलनका कारण मेची पहाडमा पेट्रोलियम अभाव हुन थालेको हो। 

सदरमुकामको इलमी पाथीभरा इन्टरप्राइजेजले मंगलबारयता पेट्रोल बाँडेको छैन। ‘डिजेल बाँड्दैछौं, पेट्रोल छैन,’ इन्टरप्राइजेजका प्रोप्राइटर प्रह्लाद चौधरीले भने, ‘आउँदो मंगलबार मात्रै पेट्रोलको ट्यांकर आउने सुनेको छु।’ उनले शुक्रबारदेखि लगातार बिदा परेकाले पनि पेट्रोलको ट्यांकर लोड हुन नसकेको बताए। ‘निर्वाचन घोषणापछि तराईमा आन्दोलन भएर पेट्रोलीयम अभाव हुने हल्ला भइरहे पनि त्यो सत्य होइन,’ उनले भने, ‘भारतमा पेट्रोलियम लोड नै हुन नसकेकाले अभाव भएको हो।’

सदरमुकामनजिकै बिब्ल्याँटे बजारमा रहेको पेट्रोल पम्पले बुधबारयता पेट्रोल वितरण गर्न नसेकेको जनाएको छ। डिजेल बाँडिरहे पनि पेट्रोल अपुग भएकाले बाँड्न नसकेको प्रोप्राइटर नेत्र लिम्बूले बताए। ‘तराईमा आन्दोलन हुने हल्लाले नै पेट्रोलियम आउनेक्रम पातलो भएको सुनेको छु,’ उनले भने, ‘अब कहिले पेट्रोल आउने भन्ने पत्तो छैन।’

जिल्लाको सूर्योदय नगरपालिकास्थित कन्याममा रहेको उत्तम आयल स्टोरमा भने शुक्रबारसम्म पेट्रोल र डिजेल दुवै वितरण गरियो। तर, पम्पले १ जनालाई ५ सय रुपैयाँ बराबरको मात्रै पेट्रोल दिएको थियो। पम्प सञ्चालक उत्तम श्रेष्ठले अलि–अलि बचेको पेट्रोल पनि शुक्रबार साँझ नै वितरण गरिसकिएकाले अब पम्पमा पेट्रोल नभएको बताए। 

‘साना र ठूला सवारीको यात्रा दूरीका आधारमा इन्धनको मात्रा तोकेर दिनुपरेको छ,’ उनले भने, ‘स्थानीय तहको चुनाव घोषणापछि पूर्वबाट भित्रिएको इन्धन काठमाडौंसहित पश्चिमी जिल्लामा पठाइएकाले पूर्वमा इन्धन अभाव भएको सुनेको छु।’ 

श्रेष्ठले शुक्रबार भारतमा लोड भएको इन्धन बोक्ने गाडीलाई नेपाली भन्सारमा शनिबार र आइतबारसम्म रोक्ने र भन्सार पास नदिने कारण पनि यहाँ पेट्रोलियम अभाव हुने गरेको बताए। ३ दिनदेखि पेट्रोल नहुँदा मेची राजमार्गसहित इलाम, पाँचथर र ताप्लेजुङका सडकमा सवारी चाप कम हुन थालेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App