८ वैशाख २०८१ शनिबार
अर्थ

युरोपेली आकाशमा नेपाली उडान खुला गर्न आग्रह

काठमाडौं- परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकरसँग भेटी युरोपेली आकाशमा नेपाली जहाज उडानमा युरोपेली युनियन (इयू) ले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। बेल्जियमको ब्रसेल्सस्थित आयोगको कार्यालयमा भएको भेटमा महतले नेपालले उडानका क्षेत्रमा सुरक्षा व्यवस्था निकै सुधार गरिसकेको जानकारी गराउँदै प्रतिबन्ध हटाउन आग्रह गरेका हुन्।

'आयोगका अध्यक्ष जिनक्लाउड जंकरले नेपालले बुझाएको प्रगति विवरणका आधारमा प्रतिबन्ध हटाउने आग्रहलाई सकारात्मक रुपमा हेरिने आश्वासन दिनुभएको छ,' ब्रसेल्सस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इयूले नेपाली हवाई उड्डयन सुरक्षा कमजोर रहेको औंल्याउँदै २०७० मंसिर २० गतेदेखि नेपाली उडानलाई युरोपेली आकाशमा प्रतिबन्ध लगाएको छ। नेपाली उडानको सुरक्षा अवस्थाप्रति प्रश्न उठाउँदै इयुले आफ्ना नागरिकलाई नेपालमा दर्ता कुनै पनि जहाज तथा हेलिकोप्टर नचढ्नसमेत आग्रह गरेको थियो।

'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले एसिया प्रशान्त क्षेत्रका लागि तोकेको हवाई उड्डयन सुरक्षा मापदण्ड ५९ (प्रतिशत) छ। अहिले नेपालले हवाई सुरक्षा मापदण्डमा सुधार ल्याई ५८.४ प्रतिशत पुर्‍याएको छ। इयूले उडानमा प्रतिबन्ध लगाउँदा नेपाली हवाई सुरक्षा मापदण्ड ४३ प्रतिशत थियो। यही तथ्यसम्बन्धी जानकारी परराष्ट्रमन्त्री महतले युरोपेली आयोग अध्यक्ष जंकरलाई गराएका थिए।

उडान अनुमतिपत्र, दुर्घटना, जाँच प्रतिवेदन, वायु सेवा कम्पनीको सुरक्षा मापदण्ड लगायत ८ गम्भीर सूचकका आधारमा आइकाओले हवाई उड्डयन सुरक्षा मापदण्ड तय गर्छ। यसैलाई आधार बनाई इयूले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको छ। 

भेटमा नेपालको विकास प्रयासमा इयूले गर्दै आएको सहयोग  र द्विपक्षीय हितका विषयमा पनि छलफल भएको थियो। नेपालमा पूर्वाधार निर्माण र भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग बढाउन मन्त्री महतले जंकरलाई आग्रह गरेका थिए।

भेटमा युरोपेली बजारमा नेपाली उत्पादनलाई प्रोत्साहनका लागि थप सहुलियत, ठूला आयोजना र पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा थप सहयोग गर्न  मन्त्री महतले आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन र आगामी निर्वाचनबारे पनि महतले जंकरलाई जानकारी गराएका थिए।

जंकरले नेपालको विकास प्रयासमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ६ फाल्गुन २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App