१५ चैत्र २०८० बिहीबार
अर्थ

नेपाली बैंकमा विदेशीलाई जागिर निषेध

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी लगानी नभएका बैंक तथा वित्तीय संस्थामा विदेशी नागरिकलाई जागिर दिन पूर्ण रुपमा रोक लगाएको छ। नेपालमा रहेका विदेशी लगानीमा स्थापित बैंक तथा वित्तीय संस्थाले राख्न पाउने विदेशी कर्मचारी संख्याको सीमा तोक्दै आइतबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार त्यस्ता संस्थाले बढीमा सातजनासम्म विदेशी कर्मचारी राख्न पाउने छन्।

निर्देशिकाले तोकेको प्राविधिक पदमा बाहेक अन्य पदमा विदेशी नागरिकलाई नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ। तर, नेपाल सरकारको लगानी भएको बैंक तथा वित्तीय संस्थामा भने उच्च पदमा यस्तो नियुक्ति गर्न पाउने बाटो निर्देशिकाले खुला राखेको छ। केन्द्रीय बैंकले सिइओको हकमा भने राष्ट्र बैंकले जारी गरेको सिइओ नियुक्तिको व्यवस्था लागू हुने जनाएको छ।

निर्देशिका अनुसार २० प्रतिशतदेखि ५० प्रतिशतसम्म विदेशी लगानी रहेको बैंकले बढीमा पाँचजना विदेशी कर्मचारी नियुक्त गर्न पाउने छ। ५० देखि  ७० प्रतिशतसम्म विदेशी स्वामित्व भएको बैंकले बढीमा सातजनासम्म विदेशी कर्मचारी नियुक्त गर्न पाउने छ।

विदेशी लगानीमा नेपालमा स्थापना भएका बैंक तथा वित्तीय संस्थामा विदेशी कर्मचारी राख्ने विषयमा हालसम्म कुनै व्यवस्था नभएकोले त्यसलाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको जनाएको छ। केन्द्रीय बैंकले हालसम्म विदेशी लगानीका बैंक तथा वित्तीय संस्थाले कतिजना विदेशी कर्मचारी राख्ने भन्ने व्यवस्था नभएको औंल्याउँदै आइतबार जारी निर्देशिकाले तोकेको जनाएको छ।

साथै, राष्ट्र बैंकले राष्ट्रियस्तरको पत्रिकामा विज्ञापन प्रकाशित गरेर नेपाली नागरिकबाट सेवा नपाएको अवस्थामा मात्र विदेशीलाई काममा लगाउन पाउने व्यवस्था गरेको छ। विदेशी नागरिकले नेपाली बैंक तथा वित्तीय संस्थामा बढीमा पाँच वर्षसम्म मात्र काम गर्न पाउने छन्। निर्देशिकाका अनुसार बैंकले विदेशी कर्मचारीबाट सेवा लिएपछि सो सेवामा नेपाली नागरिकलाई दक्ष बनाउनु पर्नेछ। र विस्तारै, नेपालीबाटै पदपूर्ति गर्दै जानुपर्नेछ।

प्रकाशित: २ फाल्गुन २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App