१६ चैत्र २०८० शुक्रबार
अर्थ

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।

चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा ‘ट्रान्जिट’ गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजलाई वरिष्ठ क्याप्टेन गोपालसिंह विष्टले ‘कमान्ड’ गरी ल्याएका हुन्। साथमा वरिष्ठ क्याप्टेन प्रशन्न समसेर राणा र क्याप्टेन सम्राटबहादुर शाह थिए।

‘५६ सिटे मोडर्न आर्क (एमए–६०) सिरिजको अर्को एकथान जहाज ल्यायौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकन्युजसँग भने, ‘यस्तै खालको पहिलो जहाज ३३ महिनाअघि ल्याएका थियौं। ठूलो आकारको यो जहाजबाट हामी सरल भाडा दरमा विभिन्न आन्तरिक गन्तव्यमा उडान गर्ने छौं।’

कुन्मिङबाट चार घन्टा उडेपछि जहाज काठमाडौं आइपुगेको हो । यसको उडान नम्बर ‘आरए ११३१’ थियो ।

जहाज लिन गएका निगमको अपरेसन (उडान सञ्चालन) विभाग प्रमुख वरिष्ठ क्याप्टेन रविन्द्रकुमार (आरके) शेरचन, इन्जिनियरिङ डाइरेक्टर पोषक ज्ञवालीसहित अन्य अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि यही जहाजमा फर्किएका छन्।

‘५६ सिटे मोडर्न आर्क (एमए–६०) सिरिजको अर्को एकथान जहाज ल्यायौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकन्युजसँग भने, ‘यस्तै खालको पहिलो जहाज ३३ महिनाअघि ल्याएका थियौं। ठूलो आकारको यो जहाजबाट हामी सरल भाडा दरमा विभिन्न आन्तरिक गन्तव्यमा उडान गर्ने छौं।’

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको यो नयाँ जहाजलाई ‘९एन–एकेआर’ कलसाइन दिएको छ। यो जहाज निगमले चीनबाट पाएको सहुलियत ऋणमा खरिद गरेको हो। नयाँ जहाज थपिएपछि निगम व्यवस्थापनले आन्तरिक तर्फ प्रत्येक साता थप १४ उडान गर्ने तालिका बनाएको छ।

‘नयाँ एमए–६० आइपुग्यो, अब यसबाट एक सातामा थप १४ उडान गर्ने छौं,’ निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले भने, ‘दुईथान एमए–६० बाट प्रत्येक साता ३२ उडान गर्ने तालिका बनाएका छौं । यसमा यात्रुवर्गबाट पनि उल्लेख्य सहयोग पुग्ने विश्वास छ ।’

उनका अनुसार हाल एकथान एमए–६० ले प्रत्येक साता काठमाडौंबाट भद्रपुरका लागि चार तथा विराटनगर र धनगढीका लागि सात÷सात उडान गरिरहेको छ । नयाँ जहाज थपिएपछि भद्रपुरका लागि सातामा चार, विराटनगर १४ तथा धनगढी र नेपालगन्जका लागि सात÷सात उडान गर्ने तालिका बनाइएको छ ।

त्यसैगरी सहुलियत ऋणबाट खरिद गरिएको अर्को एकथान सानो आकारको चिनियाँ जहाज आगामी मंगलबार (माघ १८) मा काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ । अब आउने जहाज भने १८ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको हो । यस्तै खालको एउटा जहाज निगमले उडाइरहेको छ।

प्रकाशित: १३ माघ २०७३ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App