काठमाडौं- गत वर्ष स्वाट्टै घटेको वैदेशिक लगानी प्रतिबद्धता यस आर्थिक वर्ष बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशतले वृद्धि भएको छ। योसँगै समग्र उद्योगको लगानी प्रतिबद्धता समेत बढेको छ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस १९ सम्म वैदेशिक लगानीका १ सय ७८ परियोजनाले प्रतिबद्धता गरेका छन्। पोहोर उक्त अवधिमा १ सय ५२ वटा विदेशी परियोजनाको प्रतिबद्धता आएको थियो।
देशले भोगेको प्राकृतिक र मानवीय अवरोधका कारण गत आर्थिक वर्षमा वैदेशिक लगानी ८४ प्रतिशतल घटेको थियो। यस आर्थिक वर्षमा भने लगानी प्रतिबद्धतामा विस्तारै सुधार हुन थालेको उद्योग विभागले जनाएको छ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै साना उद्योगमा धेरै लगानी आएको छ। उक्त अवधिमा १ सय ६० वटा साना परियोजना स्थापना गर्ने प्रतिबद्धता आएको छ। त्यस्तै, मझौलास्तरका १३ र ठूला स्तरका ५ वटा उद्योग स्थापना गर्न प्रतिबद्धता आएको छ।
समग्र औद्योगिक लगानी प्रतिबद्धतामा पनि सुधार देखिएको छ। यस आर्थिक वर्षको पुससम्म २ सय ७१ उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको विभागले जनाएको छ। जबकि पोहोर उक्त अवधिमा जम्मा १ सय ९३ वटा उद्योगमा प्रतिबद्धता आएको थियो। तथ्यांक अनुसार २९ प्रतिशतले उद्योगमा लगानी प्रतिबद्धता बढेको छ। यस अवधिमा ठूला स्तरका ५९, मझौला ४३ र साना १ सय ६९ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ।
अघिल्लो वर्ष वैशाखको भूकम्प, त्यसपछिका निरन्तर आन्दोलन र नाकाबन्दीका कारण विदेशी लगानीकर्ताको आकर्षण घटेको थियो। सो वर्ष ठूला लगानीका उद्योग आउन सकेका थिएनन्। नेपालका ठूला परियोजना र उद्योगमा विदेशी व्यवसायीको लगानी छ। कृषि तथा वन, निर्माण, ऊर्जा, खानी, उत्पादनमूलकका साथै सेवा क्षेत्रमा पनि प्रत्यक्ष विदेशी लगानी भित्रिने गरेको छ।
भूकम्प र नाकाबन्दीलाई वैदेशिक लगानी नआउनुको कारण बताए पनि देशको अस्थिर राजनीति र लगानीको वातावरण पहिलेदेखि नबन्नु मुख्य समस्या रहेको व्यवसायी बताउँछन्। अन्य देशको तुलनामा हाम्रोमा सुविधा कम हुँदा वैदेशिक लगानी आकर्षित हुन नसकेको उनीहरुको भनाइ छ। नेपालमा स्थानीय उत्पादनभन्दा आयातित तयारी वस्तुबाट धेरै फाइदा हुँदा विदेशी लगानीकर्ता आकर्षित नभएका हुन्।
ठुल्ठूला उद्योग र परियोजनामा लगानी गर्ने स्वदेशी क्षमता कमजोर रहेको नेपालमा विदेशी लगानी आउन नसके समग्र आर्थिक विकास प्रभावित हुन्छ। वैदेशिक लगानी कम आउँदा गत आवको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको थियो।
वैदेशिक लगानी प्रतिबद्धता आइरहे पनि त्यसको धेरै कम मात्र लगानी हुने गरेको छ। देशको राजनीतिक अस्थिरता, ऐन–नियममा कमजोरीका कारण प्रतिबद्धता व्यक्त भएकोमध्ये २५ देखि ३० प्रतिशतमात्र लगानी हुने गरेको विज्ञ बताउँछन्।
नेपालमा बर्सेनि अर्बौं रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आउँछ। लगानी बोर्ड र उद्योग विभागमार्फत आउने त्यस्तो प्रतिबद्धता व्यवहारमा पूर्णतः लागू भएको पाइँदैन। लगातार अस्थिरताका कारण विदेशी लगानी कम आइरहेको बेला त्यसमध्ये पनि धेरै कम मात्र उद्योगमा लगानी हुने गरेको छ। नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता विश्वस्त हुन नसकेको बताइन्छ।
उद्योग स्थापना गर्न प्रतिबद्धता गरे पनि यहाँको वातावरणका कारण लगानीकर्ताले जोखिम लिन नचाहेको व्यवसायी बताउँछन्। वैदेशिक लगानीकर्ताहरू लाइसेन्स लिएर अनुकूल वातावरण कुरेर बसेको देखिन्छ। अनुकूल बातावरण नबन्दा लगानी हुन नसकेको हो। निहित स्वार्थ (भेस्टेड इन्ट्रेस्ट) भएकाले केही मात्रामा लगानी गरे पनि खास रोजगारी सिर्जना गर्ने खालको लगानी हुन नसकेको व्यवसायीको भनाइ छ।
प्रकाशित: १० माघ २०७३ ०४:०० सोमबार