८ वैशाख २०८१ शनिबार
अर्थ

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

काठमाडौं- रोजगारीमा विदेश पुगेका कामदार समस्यामा पर्ने क्रम बढेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोगको रकम बढाउँदै लगेको छ। करार अवधिमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा अंगभंग भएका व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको बोर्डले कामदारलाई खानाको रकम पनि बढाउँदै लगेको हो।

हाल बोर्डले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ तथा बिमाबापत ५ लाख रुपैयाँ उपलब्ध गराउँछ। यद्यपि बोर्डले अघिल्लो वर्ष नै वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराउन प्रस्ताव गरे पनि श्रम तथा रोजगार मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत हुन सकेको छैन। पाँच महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई ७ लाख रुपैयाँ राहत दिन निर्देशन दिएपछि मन्त्रालय ७ लाख रुपैयाँ राहत दिने तयारीमा रहेकाले ५ लाखको प्रस्ताव कार्यान्वयन हुन नसकेको बताइएको छ।

यसको साथै राम्रो पारिश्रमिक पाउने आशामा विदेश पुगेका युवायुवती खान नपाउने अवस्थामा पुगेपछि बोर्डले तिनको जीवनरक्षाका लागि पनि आर्थिक सहायता बढाउँदै लगेको छ। केही समययता साउदी अरेबिया र मलेसियाका रोजगारदाता कम्पनीको आर्थिक अवस्था बिग्रेपछि बोर्डले ती देशमा समस्यामा परेका कामदारलाई खाना खुवाउन ५/५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ।

'समस्यामा परेका कामदारलाई सहयोग पुर्‍याउन तत्काललाई मलेसिया र साउदीमा ५/५ लाख तथा कतार, कुबेत र युएईमा २/२ लाख रुपैयाँका दरले रकम पठाउने निर्णय गरिएको छ,' बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने। काफ्लेका अनुसार ती देशमा समस्यामा परेका कामदारलाई सहयोग पुर्‍याउन जति रकम चाहिन्छ, त्यति नै पठाइने छ। साउदी र मलेसियामा आर्थिक संकट परेपछि विगत वर्षको तुलनामा त्यहाँस्थित दूतावासले रकम माग्ने क्रम बढेको बताइएको छ।

रोजगारीको क्रममा समस्यामा परेका कामदारलाई सहयोग पुर्‍याउन सरकारले साउदी, कतार, कुबेत, ओमानमा सुरक्षित गृह स्थापना गरेको छ। मलेसियामा भने अहिलेसम्म सुरक्षित गृह स्थापना हुन सकेको छैन। मलेसियामा पनि सुरक्षित गृह आवश्यक रहेको त्यहाँ नेपाली बताउँछन्। काफ्लेका अनुसार अघिल्लो वर्ष साउदी, मलेसिया जस्ता ठूला देशमा रहेका कामदारलाई सहयोग गर्न करिब १०/१० लाख रुपैयाँ जस्तो पठाउनु पर्थ्यो भने यो वर्ष बढी रकम पठाउनु पर्ने अवस्था देखिएको छ। वर्षभरि १० लाख रुपैयाँ सहयोग पठाएका देशमा पहिलो चरणमै ५ लाख रुपैयाँ पठाउनु पर्ने अवस्था आएको छ। विगतमा बोर्डले बहराइन, ओमान जस्ता देशमा समस्यामा परेका कामदारलाई सेल्टरमा राख्न वर्षभरि ४/४ लाख जति पठाउने गर्थ्यो।

यो आर्थिक वर्ष सुरु भएसँगै साउदीमा इन्धनको मूल्यमा गिरावट आउँदा त्यसको असर नेपाली कामदारमाथि परेको हो। रोजगारदाता कम्पनी बन्द हुँदा कैयौं कामदार स्वदेश फर्के पनि अझै ठूलो संख्याका कामदार साउदीमा अलपत्र अवस्थामा रहेको बताइन्छ। साउदीस्थित गैरआवासीय नेपाली संगठन (एनआरएनए) ले त्यहाँ कार्यरत नेपालीमध्ये करिब १० प्रतिशत जति उद्धार गर्नुपर्ने अवस्थामा रहेको भन्दै उद्धारको व्यवस्था मिलाउन माग गर्दै आएको छ। तर, वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराई भने हालसम्म ५ सय जतिले मात्र उद्धारको माग राखी निवेदन दिएको बताउँछिन्। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ६ लाख नेपाली साउदी पुगेका छन्।

भट्टराईले साउदीमा समस्यामा परेका वास्तविक कामदारको विवरण संकलनको कार्य जारी रहेको बताइन्। 'समस्यामा परेका कामदारको विवरण लिन साउदीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेका सम्बन्धित निकाय क्रियाशील छन्,' उनले भनिन्। बोर्डले तत्कालका लागि पठाउने निर्णय गरेको रकम समस्यामा परेका कामदारको खानपान र बस्नका लागि प्रयोग गरिनेछ ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार बोर्ड बैठकले समस्यामा परेका कामदारलाई सहयोग गर्न रकम पठाउने निर्णयको साथै नयाँ गन्तव्य खोजीमा जुट्ने, कामदारलाई आर्थिक सहायता उपलब्ध गराउन नियमावली संशोधन गर्ने लगायतका श्रमिक मैत्री निर्णय पनि गरेको छ। हाल करार अवधिमै कामदार स्वदेश फर्केको बेला मृत्यु भयो भने राहत उपलब्ध गराउन नियमावली अस्पष्ट छ। जसका कारण बिदामा घर आएका कामदारको निधन हुँदा आफन्तले राहत पाउन नसकेका घटना थुप्रै छन्।

प्रकाशित: ६ माघ २०७३ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App