२३ श्रावण २०७७ शुक्रबार
अर्थ

घट्यो चिया उत्पादन

इलाम- समयमा वर्षा र मल अभाव हुँदा यो वर्ष मेची पहाडमा चिया उत्पादन घटेको छ। गत हिउँदमा वर्षा कम भएकाले जिल्लाका केही बगानको चिया उत्पादन निकै घट्यो। चिसो क्षेत्रका बगानमा मात्रै सन्तोषजनक उत्पादन रहेको बगान र कारखाना सञ्चालकले बताएका छन्।

कारखानाहरूले गत भदौसम्म उत्पादन भएको हरियो पत्तीबाट प्रशोधित तयारी चिया यतिबेला बिक्री गरिरहेका छन्। कतिपय कारखानाले भने बिक्री गरिसकेको जनाएका छन्। अघिल्लो वर्ष ६७ हजार किलो तयारी चिया उत्पादन गरेको सूर्याेदय नगरपालिकास्थित सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटले यो वर्ष ५८ हजार किलोमात्रै उत्पादन भएको जनाएको छ। प्रमाणित अर्गानिक चिया उत्पादन गरिरहेको गोर्खाले बगानमा काम गर्ने कामदार र सिँचाइ अभावले चिया उत्पादन घटेको जनाएको छ। ‘पोहोर हिउँदमा पानी नआएर सिँचाइ पुर्‍याउन सकिएन,' कारखाना सञ्चालक उदय चापागाईंले भने, ‘चिया बगानमा काम गर्ने मजदुरको अभाव झन् बिकराल समस्याका रूपमा छ।'

उनले आफ्नो बगानमा काम गर्ने मजदुर नपाउँदा सिजनकै बेला चियाबाट भरपुर उत्पादन लिन नसकेको गुनासो गरे। ‘मुख्य सिजनमै मजदुर नपाउँदा कतिपय चियाको मुना हुर्केर गयो,' उनले थपे, ‘एकपटक हुर्केपछि अर्काेपटक पत्ती ढिलो पलाउँदा उत्पादन कम भइहाल्छ।' उनले वर्षभरकै गुणस्तरीय र महँगो मानिने फस्ट फ्लस (पहिलो टिपाइ)कै उत्पादन घटेको बताए। यो वर्ष पत्ती नै ढिलो पलाएको र एकपछि अर्काे टिपाइको अवधि लामो हुँदा उत्पादनमा असर पुगेको उनको भनाइ छ।

उद्योगी चापागाईंले सरकारी र गैरसरकारी संघ–संस्थाले पनि साना उद्योगमा मात्र सहयोग केन्द्रित गरेकाले ठूला उद्योग संकटमा पर्दै गएको बताए। ‘दाताले साना कारखाना र बगानलाई मात्रै सहयोग पुर्‍याउन थालेका छन्,' उनले भने, ‘बर्सेनि ५० हजार किलोभन्दा बढी तयारी चिया उत्पादन गर्ने कारखानालाई कसैले खास सहयोग नै नगर्दा निरास बन्नुपरेको छ।' उनले साना उद्योगले उत्पादन गरेको अर्गानिक चियाको तेस्रो मुलुकमा बजार विस्तारका लागि पनि सहयोग आवश्यक हुने बताए। गोर्खा, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि र पाँचथर फिदिमको कञ्चनजंघा चिया उद्योगले उत्पादन गरेको तयारी अर्गानिक चिया जर्मनीलगायत दर्जनभन्दा बढी मुलुकहरूमा बिक्री हुने गरेको छ।

सधैं चैत पहिलो साता पहिलो टिपाइ (फस्ट फ्लस) हुने हरियोपत्ती गतवर्ष चैत अन्तिममा मात्रै भएको थियो। हरियोपत्ती टिपाइ ढिलो हुँदा उत्पादनको परिमाणमात्र घटेन, दोस्रो टिपाइलाई त्योभन्दा बढी हानी पुर्‍याएको थियो। फस्ट फ्लसपछि सेकेन्ड फ्लसको टिपाइ बढीमा १५ दिनमा हुने गरेपनि गतवर्ष महिना दिन बित्दामात्र दोस्रो टिपाइ भएको थियो।

श्रीअन्तु गाउँका किसान बैकुण्ठ घिमिरेले समयमा मुना नपलाउँदा चियाले निरास बनाएको बताए। ‘फस्ट फ्लसदेखि नै चिया उत्पादन कम भयो,' उनले भने, ‘पहिलो टिपाइमै आधाले उत्पादन घटेको चियामा वर्षभर सुधार आउने सकेन।' नेपालमा कलमी बिरुवाबाट बढी चिया खेती विस्तार हुने गरेको र मौसम परिवर्तनले यस्तो बिरुवामा छिटो असर पुग्ने गरेको पनि किसान र चिया उद्योगीको अनुभव छ। अन्य मुलुकमा बीउबाट चियाका बिरुवा उत्पादन गरिने र नेपालमा चाहिँ छिटो उत्पादनका लागि कलमी गरेर बिरुवा उत्पादन गर्दा हरियो पत्ती उत्पादनमा असर पुग्ने उद्योगी चापागाईंले जनाए।

गतवर्ष १ लाख २३ हजार किलो तयारी चिया उत्पादन गरेको हिमालयन सांग्रिलाले यो वर्ष १ लाख २० हजार किलोमात्रै उत्पादन भएको जनाएको छ। ‘पोहोरभन्दा उत्पादन कम भयो, बिक्रीका लागि पनि अलि समस्या नै छ,' प्रालि प्रबन्धक आरसी नेपालले भने, ‘पोहोर साल देखिएको ‘एन्थ्रा क्विनन्' (एक्यु) समस्याले चियाको अन्तर्राष्ट्रिय बजार भने प्रभावित भएको हो।' युरोप लैजानेबित्तिकै नेपालको चियामा एक्युको शंका गरिहाल्ने गरेको उनले बताए। ‘हाम्रै उत्पादनमा त त्यो समस्या देखिएन तर नेपालको चिया भन्नेबित्तिकै सोधपुछ बढी हुन्छ,' उनले सुनाए। सिँचाइ र मलखाद पुर्‍याउँदा भने अर्गानिक चियाको उत्पादन बर्सेनि निश्चित बिन्दुमा राख्न सकिने अनुभव नेपालको छ।

गतवर्ष ५० हजार किलो तयारी चिया उत्पादन गरेको पाँचथरको फिदिमस्थित कञ्चनजंघा टी स्टेटले पनि यो वर्ष उत्पादन घटेको जनाएको छ। ‘पोहोर पहिलो टिपाइमा १२ हजार किलो तयारी चिया भएकामा यो वर्ष ९ हजार किलोमात्रै भयो,' स्टेट प्रबन्धक निरानन्द आचार्यले भने, ‘पहिलो टिपाइपछि लामो समय दोस्रो टिपाइ हुन नसक्दा उत्पादन घट्यो।' जिल्लाका अन्य किसान र करिब २ दर्जन कारखानाको चिया उत्पादन पनि यो वर्ष घटेको छ।

नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार इलाम, पाँचथर, धनकुटा, झापा र तेह्रथुम चिया उत्पादनका लागि मुख्य छन्। बोर्डका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा नेपालमा २ करोड ३१ लाख ८६ हजार किलो तयारी चिया उत्पादन भएको छ। चिया निर्यात गरेर यो वर्ष २ अर्ब ६८ लाख ७७ हजार रुपैयाँ भित्रिएको बोर्डको तथ्यांक छ।  बोर्डका अनुसार १० हजार ३ सय २४ हेक्टरमा सिटिसी (क्रस टिएर कर्ल) तथा ८ हजार ९ सय ४७ हेक्टरमा अर्थाेडक्स चिया उत्पादन हुने गरेको छ।

प्रकाशित: ४ माघ २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App