१६ चैत्र २०८० शुक्रबार
अर्थ

एक दशकपछि नगदमै उखु बिक्री

रौतहट–  उखुलाई नगदे होइन उधारो बाली घोषणा गर्नुपर्ने भनी व्यंग्य गरिरहेका किसानले करिब एक दशकपछि नगदमै उखु बेच्ने मौका पाएका छन् । उखु उत्पादनको तुलनामा माग बढी भएपछि प्रतिस्पर्धाले किसानलाई नगद दिलाउन थालेको हो ।

रौतहट जिल्लामा यसपालि उत्पादित उखु बारा, महोत्तरी र सर्लाहीमा सञ्चालित चिनी मिलले प्रतिस्पर्धा गरी किन्न थालेपछि किसानको हातमा नगद परेको हो । करिब एक दशकपछि खुसी फर्केको किसानको भनाइ छ ।

विगतमा गरुडास्थित श्रीराम सुगर मिल्सले रौतहटका किसानसँग उधारोमा उखु लिन्थ्यो । श्रीरामले उधारो उखुको रकम तीन वर्षसम्म नदिने गरेको किसान बताउँथे । जसले गर्दा जिल्लाका किसानले उखु खेती नै छाड्न थालेका थिए । यसपालि उत्पादनमै कमी आएपछि चिनी उद्योगले नगदमै उखु किनेका हुन् ।

श्रीरामले करिब एक दशकपछि नगदै दिएर उखु किनेको उखु उत्पादक संघले जनाएको छ । बारा, सर्लाही र महोत्तरीका चिनी उद्योगले ठेकेदारमार्फत किसानसँग नगदमै उखु किन्न थालेपछि श्रीराम पनि प्रतिस्पर्धामा उत्रेको हो । जिल्लाबाहिरका चिनी मिलका ठेकेदारले सरकारले तोकेभन्दा कम मूल्य दिए पनि भुक्तानी भने तत्कालै गर्ने गरेका छन् ।

किसानको हातमा नगद पर्न थालेपछि उखु खेतीप्रतिको नकारात्मक धारणा कम हुन थालेको रौतहट, गंगापिराका अगुवा उखु किसान राजेश चौधरीले बताए ।

किसानले उखु खेती छाडेका कारण चिनी उद्योगीले आफ्नो उत्पादन लक्ष्य पूरा गर्न विभिन्न सूत्रमार्फत किसानसँग नगदमै किनिरहेको चौधरीको भनाइ छ ।
यसपालि उखुको मूल्य ५ सय ३१ रुपैयाँ प्रतिक्विन्टल तोक्न सिफारिस भए पनि अनुमोदन हुन बाँकी छ । चिनी मिलले बिचौलियामार्फत प्रतिक्विन्टल ४ सय ८५ देखि ५ सय रुपैयाँ नगदै तिरेर उखु किनिरहेको संग्रामपुरका रामएकवाल साह बताउँछन् ।
विगतमा ४ बिघामा उखु खेती गरेका साहले भुक्तानी समस्याकै कारण यसपालि १ बिघामा सीमित गरेको बताए । उद्योगीबीचको तानातानले यसपालि नगदमै उखु बेच्न पाएको उनले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानबाट बाराको रिलायन्स तथा जिल्लाबाहिरका इन्दुशंकर र एभरेस्टले दैनिक सयौं सवारी साधनमा उखु लगिरहेको किसान बताउँछन् ।
चिनी उद्योगले किसानलाई सास्ती दिएकै कारण धेरै किसानले गत असोजदेखि मंसिरसम्म प्रतिक्विन्टल ३ सय रुपैयाँमा पनि खाँडसारी उद्योगलाई उखु बेचेका थिए । खाँडसारीले किसानलाई तत्काल नगद दिएर उखु किनेका थिए । अहिले पनि जिल्लाका दुई दर्जनभन्दा बढी खाँडसारी उद्योगले चिनी मिलसित प्रतिस्पर्धा गर्दै उखु किनिरहेको बलुवा, मदनपुरका किसान ब्रह्मदेव यादवले बताए ।
जिल्लाको एक मात्र चिनी उद्योग श्रीराम सुगर मिल्सले विगतको बक्यौता भुक्तानीसँगै यसपालि नगदै दिएर उखु किनिरहेको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए । खेतीमा कमी आएपछि यसपालि लक्ष्य अनुसार क्रसिङ गर्न नपाउने चिनी उद्योगको अनुमान छ ।

 

प्रकाशित: ३ माघ २०७३ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App