१५ चैत्र २०८० बिहीबार
अर्थ

हुलाकी राजमार्गलाई पूर्व–पश्चिम विस्तार गरिने

काठमाडौं–तराईं–मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अब पूर्व–पश्चिमसम्म पनि विस्तार गरिने भएको छ ।

अहिलेसम्म हुलाकी राजमार्ग उत्तर–दक्षिण जोड्नका लागि मात्र बनाउने तयारी भइरहेको थियो । भारत सरकारले बनाउने भनिएको उत्तर–दक्षिण राजमार्ग पछिल्लो समयमा आएर बन्ने सम्भावना नदेखिएपछि अघिल्लो वर्ष नेपाल सरकारले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफैँ निर्माण गर्ने निर्णयसँगै हुलाकी राजमार्गलाई पूर्व–पश्चिम विस्तार गर्ने अवधारणा तयार गरिएको थियो । सोही अवधारण अनुसार हाल हुलाकी राजमार्ग आयोजनाले उक्त राजमार्गलाई पूर्व–पश्चिम विस्तार गर्न विस्तृत सर्भे गरिरहेको हो ।

आयोजनाका निर्देशक बलराम मिश्रले तरार्इं–मधेसको विकासका लागि उत्तर–दक्षिण जोड्ने मात्र नभई हुलाकी राजमार्गलाई पूर्व–पश्चिमसम्म विस्तार गर्नुपर्ने धेरैको माग रहेपछि विस्तृत सर्भेको काम अघि बढाइएको बताए । हाल नेपालमा पूर्व–पश्चिम एक मात्र राजमार्ग रहेकाले पूर्व–पश्चिम हुलाकी राजमार्गको यतिखेर झनै आवश्यकता ठानिएको हो । सरकारले मध्यपहाडी राजमार्ग निर्माणको कामलाई निरन्तरता दिए पनि अझै निर्माण कार्य पूरा हुन सकेको छैन ।

पूर्व–पश्चिम हुलाकी राजमार्गको विस्तृत अध्ययन सकिनेबित्तिकै भौतिक तथा योजना मन्त्रालयमा उक्त प्रतिवेदन पेश हुने र त्यसपछि काम सुरु हुने बताइएको छ । ‘अहिलेसम्मको प्रारम्भिक अध्ययन अनुसार पूर्व–पश्चिम हुलाकी राजमार्ग बनाउन करिब ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ मिश्रले भने, ‘वास्तविक खर्चको विवरण भने मार्च (चैत) सम्म प्राप्त गरिसक्ने गरी काम भइरहेको छ ।’ हालको पूर्व–पश्चिम राजमार्गको दूरी करिब एक हजार ३२ किलोमिटर भए पनि सोही राजमार्गको समानान्तर हुने हुलाकी राजमार्गको दूरी भने करिब ९ सय ७५ किलोमिटर हुने बताइएको छ । त्यस्तै, सडकको चौडाइ पनि हालको राजमार्गको तुलनामा केही कम हुने बताइएको छ । अहिलेको पूर्व–पश्चिम राजमार्गको चौडाइ सडकको मध्य विन्दुदेखि २२÷२२ मिटर परिपरि छ भने हुलाकी राजमार्गको चौडाइ मध्य विन्दुदेखि १५÷१५ मिटर वरिपरि रहने छ ।

हुलाकी राजमार्गको सुरुवातमा भारत सरकारले बनाइदिने बताए पनि पछि भारत सरकारले ठेक्का दिएका निर्माण कम्पनीले समयमै काम नगर्दा गत वर्ष नेपालले बाध्य भएर भारतीय ठेकेदारसँग सम्झौता ताडेको थियो ।

भारतीय ठेकेदारसँग सम्झौता तोडपछि उत्तर–दक्षिण जोड्ने हुलाकी राजमार्ग निर्माण गर्न भारत सरकारले ८ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति जनाएको छ भने उत्तर–दक्षिण राजमार्ग निर्माणका लागि अपूग रकम नेपाल सरकारले नै बेहोर्ने आयोजना प्रमुख मिश्रले जानकारी दिए । ८ सय ७० किलोमिटर लामो उत्तर–दक्षिण जोड्ने हुलाकी राजमार्ग निर्माण गर्न साढे १३ करोड रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ । उत्तर–दक्षिण जोड्ने हुलाकी राजमार्गमा अपूग साढे ५ करोड रुपैयाँ नेपाल सरकारले बेहोर्ने छ । उत्तर–दक्षिण हुलाकी राजमार्गमा ३२ वटा सहायक सडक हुनेछन् ।

हुलाकी राजमार्ग बनाउन नेपाल सरकार सक्रिय भएपछि आयोजनाले दुई महिना अघि उत्तर–दक्षिण जोड्ने ८ वटा खण्डको ठेक्का प्रक्रिया अघि बढाइसकेको छ । बाँकी खण्डको पनि ठेक्का प्रक्रिया चाँडै सुरु हुने मिश्रले जानकारी दिए । अहिले ठेक्कामा लगाइएका सडक खण्ड बढीमा ३० महिनाभित्र सक्ने आयोजनाले लक्ष्य लिएको  छ । आयोजनाले उत्तर–दक्षिण अन्तर्गत पहिलो चरणमा १२ खण्डको कामलाई प्राथमिकताकरण गरेको छ । पहिलो चरणमा काम थालिएको खण्डमा धनुषाको वीरेन्द्रनगर–यदुकुवा–महिनाथपुर, जनकपुर–यदुकुवा, मानमत–कलैया–मटिअर्वा, माइस्थान–गौशालाबजार–सम्सी हुन् । त्यस्तै जनकपुर–जलेश्वर–भिट्टामोड, नयाँरोड–बरथहवा–मधुवनी, नवलपुर–मंलगवा, नेपालगन्ज–बघौडा, भुरीगाउँ–गुलरिया–मूर्तिया, चारआली–केचनालगायत सडक खण्डको काम सुचारु भएको आयोजनाले जनाएको छ ।

नयाँ सम्झौता अनुसार उत्तर–दक्षिण जोड्ने सडकको पहिलो चरणमा भारत सरकारको सहयोगमा २ सय ९९ किलोमिटर र नेपाल सरकारको लगानीमा २ सय १९ किलोमिटर सडक बन्नेछ । पूर्व–पश्चिमसम्म विस्तार हुने हुलाकी राजमार्ग निर्माणमा आवश्यक पर्ने आर्थिक स्रोत भने कसरी जुटाउने भन्नेबारे सरकारले केही बताएको छैन । आयोजनाका कर्मचारीले भने उक्त राजमार्गका लागि स्रोत जुटाउन गाह्रो नभएको बताउँछन् ।

प्रकाशित: २ माघ २०७३ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App