१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपाल लाइफको एफपिओले सेयर कारोबारमा मन्दी

काठमाडौं- सर्वसाधारणले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबारमा मन्दी आएको छ। आधाभन्दा बढी फाइदा हुने आसमा सर्वसाधारण उक्त कम्पनीको सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबार बिहीबार ३२ करोडको मात्र हुन पुगेको छ। बुधबार ३६ करोडको कारोबार भएको थियो।

नेपाल लाइफको एफपिओमा पर्याप्त मात्रामा पैसा जाने देखिएको छ। यसले सेयर बजारको कारोबारमा असर पुगेको लगानीकर्ताको भनाइ छ।

बिहीबार कारोबार रकम घटे पनि सेयर बजार मापक नेप्से भने उकालो लागेको छ। साताको अन्तिम दिन बिहीबार बढेर बन्द भएको छ। नेप्से ३.३५ बिन्दुले बढेर १४७९.८६ बिन्दुमा आइपुगेको हो।

पुस मसान्तको प्रभावका कारण पनि कारोबार रकममा भने मन्दी आएको विश्लेषकको भनाइ छ। पुस मसान्तमा लगानीकर्ता तथा अन्य सरोकारवाला सबैले आयकर तिर्नुपर्छ। यसबाहेक बैंकसँग लिएको ऋणको साँवा र ब्याज पनि भुक्तानी गर्नुपर्ने हुन सक्छ। यसले पनि दोस्रो बजारमा असर पुर्‍याएको ब्रोकरको भनाइ छ।

बैंक, वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार घटेको छ।

उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ। दैनिक सरदर ८० करोड रुपैयाँबराबरको सेयर कारोबार हुने गरेकोमा अहिले घटेर ३२ करोडमा झरेको छ।

लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर बैंकमा राखेर बैंकबाट ऋण लिँदै आएका छन्। ब्याजदर बढेसँगै सेयर धितोमा राखेर लिने ऋण भने घटेको ब्रोकर बताउँछन्। बैंकहरू पछाडि सर्दा सेयर कारोबारमा कमी आएको छ, सेयर मूल्यमा पनि क्रमशः गिरावट आएको छ,' एक ब्रोकरले भने।

बैंकहरूले ७–८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएका थिए। तर, लगानीयोग्य पुँजी (तरलता) को अभाव भन्दै बैंकहरूले ब्याजदर बढाएर १०–११ प्रतिशतमा सेयर धितो राखेर ऋण उपलब्ध गराउन थालेपछि कारोबार रकममा कमी आएको हो।

बिहीबार एक सय २० कम्पनीको २६ लाख ७७ हजार १३ कित्ता सेयर किनबेच भएको छ। होटल र अन्यबाहेक बाँकी सबै समूहका सूचक बढेकोे छ। बिमा सूचक ९.२३ बिन्दु र बैकिङ सूचक ५.९३ अंकले माथि लागेका छन्। कारोबार रकममा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ ले अग्रता लिएको छ।

उक्त स्किमको मात्रै चार करोड ९४ लाख ८३ हजार रूपैयाँभन्दा धेरैको कारोबार भएको हो। कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा भने क्रमशः लक्ष्मी बैंक र सिद्धार्थ बैंक परेका छन्। लक्ष्मीले ३८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ भने सिद्धार्थले फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। यसबाट लगानीकर्ता थप उत्साहित बनेका हुन्।

प्रकाशित: २९ पुस २०७३ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App