coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्ग बनाउन नेपाल आफैं सक्रिय

काठमाडौं- तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफ्नै पहलकदमीमा बनाउन थालेको हो। हुलाकी राजमार्ग निर्माणका लागि भारतको सहयोग भने लिइने भएको छ।

पहिला भारतसँग सिमाना जोडिएका तराईंका २० जिल्ला समेटिने पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी बनाइने भनिएको हुलाकी राजमार्गमा लाग्ने सबै खर्च भारत सरकारले बेहोर्नुका साथै ठेकेदार कम्पनी र प्राविधिक पनि भारतीय नै हुने व्यवस्था थियो।

सन् २००७ यता हुलाकी राजमार्गका केही खण्डमा भारतीय निर्माण कम्पनीले एकलौटी रूपमा काम थाले पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। जसले गर्दा स्थानीय तहमा भारत र नेपालका अधिकारीको विरोध भइरहेको थियो। स्थानीय तहमा विरोधका स्वर बढ्न थालेपछि अघिल्लो वर्ष नेपालले भारतीय ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरी राजमार्गको निर्माण कार्य आफ्नै पहलकदमीमा गर्ने निर्णय गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६  फेब्रुअरी २० मा भारत भ्रमण गर्दा पहिलो चरणमा ५१८.५ किलोमिटर सडक बनाउने र यसका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो। यद्यपि पहिलो चरणको हुलाकी राजमार्ग सम्पन्न गर्न १३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना सुरु गर्ने बेला सबै लागत भारत सरकारले बेहोर्ने भनिए पनि गत वर्ष ८ अर्ब रुपैयाँमात्र दिने दुई देशका अधिकारीबीच सम्झौता भएपछि  यतिखेर हुलाकी राजमार्ग आयोजनाले भारत र नेपालले सम्पन्न गर्ने गरी विभिन्न खण्डलाई वर्गीकरण गरेको छ।

जस अनुसार पहिलो चरणमा भारत सरकारको अनुदानमा १० र नेपाल सरकारको अनुदानमा ६ वटा सडक खण्ड बन्ने तय भएको आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए। मिश्रका अनुसार भारतीय ठेकेदार कम्पनीले समयमा काम नसकेपछि ठेक्का तोडेर भारतीय अनुदानमा बन्ने तय भएका हुलाकी राजमार्ग अन्तर्गतका तीन खण्डमा ठेक्का भइसकेको छ भने एक खण्ड ठेक्काको अन्तिम प्रक्रियामा छ।

'भारतीय  अनुदानमा बन्ने तय भएका धनुषाको वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर (३२.३५ किलोमिटर), धनुषाकै जनकपुर–यदुकुवा (१७.५ किलोमिटर) तथा बाराको मानमत–कलैया–मटिअर्वा (२७ किलोमिटर) सडक खण्ड ठेक्कामा दिने निर्णय भइसकेको छ,' मिश्रले भने। उक्त राजमार्ग अन्तर्गत महोत्तरीको माइस्थान– गौशालाबजार–सम्सी (२७.२० किलोमिटर) सडकको ठेक्का लगाउने काम अन्तिम चरणमा पुगेको छ। दुई महिना यता आयोजनाले निर्माण कार्यलाई रफ्तारमा दिन ठेक्का प्रक्रियालाई तीव्र बनाएको हो।

मिश्रले भारतीय अनुदानमा बन्ने अन्य खण्डको डिपिआर निर्माणको काम पनि तीव्र गतिमा भइरहेको बताए। पहिलो चरणमा बन्ने ५१८.०५ किलोमिटर हुलाकी राजमार्गमध्ये २९९.३ किलोमिटर भारतीय सहयोगमा बन्ने बताइएको छ। नेपालले आफैंले बनाउने तय गरिएका ६ खण्डमध्ये पनि तीनवटा ठेक्कामा लागेर निर्माण कार्य सुरु भइसकेको छ भने दुई खण्डको ठेक्का अन्तिम चरणमा छ। नेपालले आफ्नै लगानीमा निर्माण थालेको खण्डमा जनकपुर–जलेश्वर–भिट्टामोड (१८.७५ किलोमिटर), सर्लाहीको नयाँरोड–वरथहवा–मधुवनी (४०.३१ किलोमिटर) र सर्लाहीकै नवलपुर–मंलगवा (२६.५९ किलोमिटर) हुन्। आयोजनाले नेेपालगन्ज–वघौडा (४४.५० किलोमिटर) सडकको ठेक्का मूल्यांकन गरिरहेको जनाएको छ।

भारतबाट रकम आउन बाँकी

हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ दिने सम्झौता अनुसार ठेक्काको काम अघि बढाए पनि उक्त रकम आयोजनाले अझै पाउन सकेको छैन।

हुलाकी राजमार्गका तीन खण्ड करिब एक अर्ब रुपैयाँमा ठेक्कामा लागेको बेला भारतबाट रकम प्राप्त नहुँदा आयोजनाले ठेकेदार कम्पनीलाई मोबिलाइजेसन बापतको रकम भुक्तानी गर्न सकेको छैन। मोबिलाइजेसनका लागि १० प्रतिशत रकम दिन नसकेपछि ठेकेदार कम्पनीले काम थालेका छैनन्। 'ठेक्काको काम सकिएपछि भारतीय दूतावास लगायत निकायसँग रकम पठाइदिन आग्रह गरिरहेका छौं,' आयोजना प्रमुख मिश्रले भने, 'उताबाट चाँडै सम्झौता अनुसारको रकम आउने जानकारी पाएकाले आशावादी छौं।' भारतीय अनुदानमा बन्ने १० र नेपालको आफ्नै लगानीमा बन्ने विभिन्न ६ खण्ड सडक आउँदो ३० महिनाभित्र सम्पन्न गर्ने आयोजनाले लक्ष्य लिएको छ। नेपालले आफ्नै लगानीमा बनाउने तय भएका सडक खण्डका लागि भने आवश्यक रकमको कुनै समस्या नभएको बताइएको छ।

प्रकाशित: २४ पुस २०७३ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App