coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लाइसेन्सकाे अनलाइन अावेदनः मध्यरातमा खुला, उज्यालो हुँदा बन्द

काठमाठौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न बाध्य थिए। बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो। अहिले अवस्था फेरिएको छ।

अनलाइनबाट अावेदन गर्नेहरुले घरबाटै फारम भर्न सक्छन्। तर यो त्यति सजिलो भने छैन।

मध्यरातिदेखि नै सेवाग्राहीले घरैबाट अनलाइन फारम दर्ता सुरु गर्छन्। बिहान उज्यालो हुँदा नहुँदै करिब ५ सय फारमको कोटा पूरा भइसक्छ। त्यसपछि पनि कुनै सेवाग्राहीले अनलाइन फारम दर्ता गर्ने प्रयास गरे कम्प्युटर स्क्रिनमा एउटा सन्देश देखा पर्छ: ‘आजका लागि अनलाइन दर्ता सीमा पूरा भएको छ, कृपया अनलाइन दर्ताका लागि भोलि भिजिट गर्नुहोला।’

पुस ११ गतेबाट अनलाइन फारम दर्ता सेवा सुरु भएको भए पनि फारम भर्नैका लागि कार्यालयमा सबेरैदेखि लाम बस्नु पर्ने सेवाग्राहीको समस्या भने हटिसकेको छैन।

पुस ११ गतेबाट अनलाइन फारम दर्ता सेवा सुरु भएको भए पनि फारम भर्नैका लागि कार्यालयमा सबेरैदेखि लाम बस्नु पर्ने सेवाग्राहीको समस्या भने हटिसकेको छैन। रातिदेखि बिहानसम्म अनलाइन कोटा पूरा भई फारम भर्न नपाएका र अनलाइन फारममा पहुँच नभएकाहरुका लागि कार्यालयले लाइनमै बसेर फारम भर्ने हाते दर्ता प्रणाली सेवा पनि चालू नै राखेको छ।

‘अनलाइनमा भर्न नपाउने र पहूँच नभएकाहरुका लागि हामीले हाते दर्ता प्रणाली पनि चालू नै राखेका छौं,’ कार्यालय प्रमुख तेजनारायण यादव भन्छन्, ‘दैनिक करिब ३ सय जनाले कार्यालयमा आएर फारम भर्न सक्छन्। अनलाइन दर्ता सुरु भएपछि लाइनमा लाग्ने सेवाग्राहीको चाप केही घटेको छ।’  

एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालयमा सेवाग्राहीकाे भीड। तस्बिरः प्रबिन काेइराला

हाल एकान्तकुनमा रहेको एउटा मात्र अञ्चल यातायात कार्यालयले बाग्मती अञ्चलसहित अन्य अञ्चलबाट समेत आउने सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ। यसले गर्दा पनि कार्यालयले अनलाइन दर्तामा समेत सीमा तोक्नु परेको प्रमुख यादवको भनाइ छ। ‘फारम भराउने, लिखित र ट्रायल परीक्षा दैनिक रुपमा लिनु पर्ने भएएकोले कुल ८ सय सेवाग्राहीलाई मात्रै दैनिक रुपमा यस कार्यालयले सेवा दिन सकेको छ,’ उनले भने।

त्यस्तै हाल ‘ए’ वर्गको सवारी मोटरसाइकल र ‘के’ वर्गको सवारी स्कुटर, मोपेडको लाइसेन्सका लागि मात्र अनलाइन लाइसेन्सको व्यवस्था गरिएको छ। बाँकी सवारीको लाइसेन्स परीक्षा दिनका लागि लाममै बसेर फारम भर्नुपर्ने हुन्छ। त्यसैले पनि कार्यालयमा सेवाग्रहीको भीड हट्न भने सकेको छैन।

‘स्वयम्भू, चावहील र जगातीका ३ कार्यालय सञ्चालनमा आइसकेपछि तीनै कार्यालयले अनलाइन फारम दर्ता सुरु गरे भने सेवाग्रहीको चाम कम भएर जान्छ,’ उनले भने, ‘पुसभित्रै तीन ओटै कार्यालय सञ्चालनमा ल्याउने गरी यातायात व्यवस्था विभागको तयारी रहेको जानकारी पाएको छु।’

यातायात व्यवस्था विभागको वेवसाइट www.dotm.gov.np  मा लगइन गरेर देशभरीबाट अनलाइन आवेदन दिन सकिने भए पनि लिखित परीक्षा र ट्रायल परीक्षाका लागि काठमाडौं नै आउनु पर्ने भएकोले काठमाडौं आएकाहरुले मात्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन दिँदा परीक्षा दिन सहज हुने गरेको छ।

प्रकाशित: २२ पुस २०७३ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App