coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

काठमाडौं- पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि सरकारले सो पाइपलाइनलाई चितवनसम्म ल्याउने भएको छ। भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न पहिलो चरणमा रक्सौल–अमलेखगन्ज निर्माण गरेपछि दोस्रो चरणमा चितवन ल्याउन नेपाल आयल निगमले तयारी थालेको हो।

पाइपलाइनलाई लक्ष्य गरेर चितवनमा इन्धन भण्डार बनाउने जग्गा खरिदको प्रक्रिया निगमले सुरु गरेको छ। 'पहिलो चरणमा रक्सौल–अमलेखगन्ज निर्माण पूरा भएपछि उक्त पाइपलाइनलाई चितवनसम्म ल्याइने छ,' निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले भने, 'भण्डार स्थल बनाउन चितवनमा जग्गा खरिद प्रक्रिया सुरु गर्‍यौं।'

निगमले चितवनमा इन्धन भण्डार बनाउन करिब २० बिघा जग्गा किन्न बोलपत्र आह्वान गरिसकेको छ। रक्सौल–अमलेखगन्जको दुरी ३८ किलोमिटर छ। त्यहाँबाट चितवनसम्म ल्याउन थप ७० देखि ८० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने निगमले जनाएको छ ।

अमलेखगन्जबाट चितवनसम्म पाइपलाइन ल्याउनुपर्ने आवश्यकता ठानेर अध्ययन भइरहेको आपूर्ति मन्त्रालयले जनाएको छ। 'राष्ट्रको भविष्यको लागि पाइपलाइन चितवन ल्याउन आवश्यक ठानेका छौं,' मन्त्रालयका प्रवक्ता सूर्य श्रेष्ठले भने, 'तर सरकारले यसमा ठूलो रकम खर्च गर्नुपर्छ।' ठूलो मात्रामा पेट्रोलियम पदार्थ राजधानी सहित पोखरा, भैरहवा लगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी  लागत घटाउन चितवनसम्म पाइपलाइन निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन्।

मुलुकको हितको लागि पेट्रोलियम पाइपलाइन अमलेखगन्जसम्म मात्र नभएर चितवनसम्म ल्याउन आवश्यक रहेको निगमका निमित्त नायव कार्यकारी सुशील भट्टराईले बताए। 'पाइपलाइनबाट ढुवानी गर्दा लागतसमेत कम पर्छ,' उनले भने, 'पाइपलाइन परियोजना मुलुकको हितको लागि आवश्यक छ।'

पाइपलाइन अमलेखगन्जबाट चुरियामाईको जंगल हुँदै चितवनसम्म ल्याए दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण र व्यवस्थापन गर्न सजिलो हुनेछ।

निगमले इन्धन भण्डार क्षमता बढाउन विभिन्न ठाउँमा जग्गा खरिद प्रक्रिया सुरु गरेको छ। मुलुकका सातै प्रदेशमा भण्डार बनाउन लागेको निगमले चितवनसहित झापा, धादिङ र रुपन्देहीमा जग्गा किन्न टेन्डर आह्वान गरिसकेको छ। अहिले भएको संरचनामा पाँच गुणा वृद्धि गर्ने निगमको योजना हो। इन्धन भण्डारण क्षमता करिब ३९ करोड लिटर पुर्‍याउने तयारी गरेको निगमले जनाएको छ। विद्यमान डिपोको क्षमतामा थप ३१ करोड १७ लाख लिटर (३ लाख १७ हजार किलोलिटर) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) भण्डारण गर्न (ट्यांक) पूर्वाधार निर्माण गर्ने निगमको तयारी छ।

कार्यान्वयन चरणमा प्रवेश गर्न आर्थिक वर्ष ०७३/७४ को लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। निगमसँग अहिलेको ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) क्षमताले दुई साताको बजार माग पनि नथेगेपछि भण्डार क्षमता विस्तार गरेर ३ लाख ८८ हजार किलोलिटर (३८ करोड ८० लिटर) पुर्‍याउन लागेको निगमले जनाएको छ। १ किलोलिटरमा हजार लिटर हुन्छ। पूर्वाधारसहित भण्डार क्षमता बढाउन यो वर्ष ५ अर्ब रुपैयाँ विनियोजन गरेको निगमले जनाएको छ। विगत लामो समयदेखि क्षमता विस्तार गर्ने योजना बनाए पनि चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरी काम गर्न लागेको हो। निगमले नाफा कमाउन थाले पनि उपभोक्ताको अपेक्षा अनुसार मूल्य नघटाएको आरोप लागिरहेको बेला उसले नाफालाई पूर्वाधार निर्माणमा रकम खर्चिन थालेको हो। यसले उपभोक्तलाई सहज रुपमा इन्धन आपूर्ति गर्न सघाउ पुग्ने छ। निगमले प्रदेश नं १ को झापा चारआलीमा ५५ हजार किलोलिटर, २ को जनकपुरमा ३६ हजार किलोलिटर, ३ को काठमाडौंमा १ लाख ३७ हजार किलोलिटर, ४ को पोखरामा ४० हजार किलोलिटर, ५ को भैरहवा भलवारीमा ६५ हजार किलोलिटर, ६ को सुर्खेतमा ३० हजार किलोलिटर र प्रदेश नं ७ को धनगढीमा २५ हजार किलोलिटर क्षमताको नयाँ भण्डार बनाउने योजना तय गरेको छ।

हाल निगमका १० डिपोको ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ। इन्धन भण्डारण क्षमता बढाउन पहल भैरहेको निगम प्रवक्ता भानुभक्त खनालले बताए। 'निगमले इन्धन भण्डार बढाउन नाफाको रकम खर्च गर्दैछ,' खनालले भने, 'नाफामा गएपछि पूर्वाधार विकासमा जोड दिएका छौं।' भारतको सहयोगमा निर्माण अघि बढेको रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना निर्माण सुरु गर्ने तयारी भए पनि सरकारले रुख, सडकछेउका बस्ती हटाउन ढिलो गर्दा निर्माणमा ढिलाइ भएको छ।

प्रकाशित: १९ पुस २०७३ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App