coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धरानको बजेट एक अर्ब

धरान- नगरको दीर्घकालीन विकासमा प्रभाव पार्ने नयाँ महत्वकांक्षी आयोजनाहरुलाई समेट्दै धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को लागि एक अर्ब बढीको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाले सोमबार आगामी आर्थिक बर्षको लागि कुल अनुमानित बजेट एक अर्ब ८७ लाख ७२ हजार रुपैयाँ सार्वजनिक गरेको हो। जसमध्ये पुजीगत खर्च रकम ९१ करोड ४५ लाख ३६ हजार ८ सय हो भने चालु खर्च रकम ९ करोड ४२ लाख ३५ हजार २ सय हो । अनुमानित कुल बजेटमध्ये ४० करोड भने एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी परियोजनाको हो । यो बजेटलाई अलग गर्दा उपमहानगरपालिकाको बजेट ६० करोड ८७ लाख ७२ हजार मात्र हुन आउछ । त्यसमध्ये पनि २० करोड ३५ लाख सामाजिक सुरक्षालगायत कार्यक्रमहरुको बजेट हो । जनसहभागिताबाट २ करोड र अनुदान तथा सहयोगबाट ४३ करोड ८४ लाख ७६ हजार आम्दानी हुने अनुमान गरिएको छ । उपमहानगरको आन्तरिक आय भने १५ करोड २ लाख ९६ हजार मात्र अनुमान छ ।

बजेटसँगै धरानको लागि नयाँ आयोजनाहरुको पनि शुरुवात गर्ने घोषणा गर्दै कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले पुराना योजनालाई क्रमागतरुपमा पुरा गरेर मात्र नयाँ योजनालाई सञ्चालन गरिने पनि प्रष्ट प्रष्ट्याए । ‘थप नयाँ योजनाहरु शुरु गरी पुराना योजनालाई अलपत्र पार्न उपयुक्त पनि हुँदैन, त्यसैले पुराना योजना क्रमागतरुपमा पुरा गरेर मात्र नयाँ योजनालाई समावेश गरी सञ्चालन गर्दै लानुपर्ने बाध्यात्मक अवस्था छ’–उनले भने–‘नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा नगरको दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने महत्वपुर्ण आयोजनाहरुको शुरुवात, सर्वजनिक निजी साझेदारी, जनसहभागीताको बढीभन्दा बढी संलग्नता जस्ता पक्षलाई ध्यान दिइएको छ।’

उपमहानगरपालिकाले नयाँ आयोजनाकोरुपमा सर्दु तथा सेउती करिडोर निर्माण र त्यस क्षेत्रमा आवश्यक पुलहरु निर्माण गरी भित्री तथा बाहिरी चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । यस्तै, एकीकृत बस्ती विकास तथा धरान विमानस्थल निर्माण, सडकपेटी अतिक्रमण नियन्त्रण, वधशाला निर्माण, खहरे खोला सडकपेटी निर्माण, भौडीमा व्यवस्थित बजार निर्माण, अस्पतालजन्य फोहोर र फोहोरबाट उर्जा उत्पादन कार्यलाई पनि बजेटले नयाँ योजनाकोरुपमा समेटेको छ । यस्तै, सर्दु जलाधार संरक्षण र सिमांकन कार्य गर्ने, प्रक्रिया पुर्‍याएर थाउजेण्ड बिग बुद्ध निर्माण गर्ने, कोकाह खोलामा बाँध बाध्ने र रिक्रिएशन पार्क निर्माण गर्ने, वडा नम्बर २४, २५ र २६ लाई संरक्षित क्षेत्र घोषणा गरी प्राणी उद्यान बनाउने तथा भानुचौकमा मल्टीप्लेक्स निर्माण गर्नेजस्ता महत्वकांक्षी योजनाहरुलाई यसै आर्थिक बर्षदेखि शुरुवात गर्ने घोषणा गरिएको छ। जनप्रतिनिधिविहन अवस्थामा यति धेरै नयाँ आयोजनाहरु समेटिएको यो पहिलो बजेट हो।

बजेटले नयाँ आयोजनाहलाई समेटे पनि क्रमागत तथा अधुरो योजनाहरु, जनप्रतिनिधिविहिनता, विस्तारित भुगोल, बढ्दो चालु खर्च, बढ्दो जनअपेक्षा तथा सिमित स्रोत साधन, साझेदारी कोष जुटाउने सवाल, जनसहभागीता परिचालनको सवाल पनि बजेटको मुख्य चुनौती हुन् । धरानमा समावेश भएका नयाँ वडाहरुमा शहरी पुर्वाधार ज्यादै कम भएकोले तुलनात्मकरुपमा विकासित र कम विकसित सबै क्षेत्रमा योजना र सेवासुविधा पुर्‍याउँदै विकास निर्माणमा सहभागी गराउनु पनि बजेटको चुनौती हो । कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय राज्यमन्त्री श्रीप्रसाद जवेगुले समृद्ध धरान बनाउन धरानबासीहरु नै एकजुट हुनुपर्ने बताए भने सुनसरी क्षेत्र नं १ का सांसद कृष्णकुमार राईले योजनाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गर्न सुझाव दिए।

प्रकाशित: १८ पुस २०७३ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App