१६ चैत्र २०८० शुक्रबार
अर्थ

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

काठमाडौं- आगामी फागुनमा काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो। सम्मेलन फागुन ८ र ९ मा काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुने नेपाल उद्योग परिसंघमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य अतिथि रहने शिखर सम्मेलनमा भारत सरकारका रेलमन्त्री सुरेशप्रभाकर प्रभु विशिष्ट अतिथि तथा प्रमुख वक्ता रहने पनि आयोजकले जानकारी दिए। साथै विभिन्न क्षेत्रका विशिष्ट र बौद्धिक व्यक्तित्वबाट फरक फरक विषयमा प्रस्तुतीकरण रहने यो सम्मेलन सन् २०१४ को नोभेम्बरमा सम्पन्न पहिलो पूर्वाधार सिखर सम्मेलनको निरन्तरता भएको शर्माले बताए।

सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, निर्माता, विद्वान, सरकारी निकाय, कूटनीतिज्ञ, विकास साझेदार, नीति–निर्माता र सञ्चार माध्यमको सहभागिता रहने भन्दै परिसंघले सम्मेलनको उद्देश्य पूर्वाधार विकासमा निजी क्षेत्रको परिहार्यता माथि बहस गर्नु रहेको जनाएको छ।

त्यसैगरी, देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, यो क्षेत्रमा दिगो र दरिलो पूर्वाधार सञ्जाल किन आवश्यक छ भन्ने चेतना जगाउनु पनि सम्मेलनको लक्ष्य रहेको भन्दै परिसंघले शिखर सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेको करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शन समेत गर्ने कार्यक्रम रहेको जनाएको छ।

नेपालमा पूर्वाधार क्षेत्रको अवस्था दयनीय छ, जसको कारणले उद्योग व्यवसायका साथै आर्थिक सामाजिक विकासमा उपलब्ध अवसरलाई उचित उपयोग गर्नमा अप्ठेरो परिरहेको छ। यसै सन्दर्भमा सम्मेलनमा आइडिया स्टुडियोको सहकार्यमा परिसंघले देशका विभिन्न समुदायबाट पूर्वाधार विकाससम्बन्धी आइडियाहरु संकलन गर्ने र यी परियोजनामार्फत यातायात, सिँचाइ, ऊर्जा, हाउजिङ र डिजिटल क्षेत्रमा लागू गर्न सकिने सिर्जनशील र नयाँ आइडिया संग्रहित हुने अपेक्षा पनि गरेको छ।             

विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार पर्याप्त र गुणस्तरीय पूर्वाधार अभावमा नेपालको एक दशकमा कुल सम्भावित राष्ट्रिय आयको ८ देखि १२ प्रतिशत गुमाइरहेको छ। नेपालले सन् २०३० सम्ममा आफूलाई अति कम विकसित मुलुकको सूचीबाट मध्यम आय भएको विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ भन्दै शर्माले यो लक्ष्य उच्च र दिगो आर्थिक वृद्धिदरबाट मात्र सम्भव रहेको बताए। 'यसका लागि निजी क्षेत्र समेतको सहभागितामा पूर्वाधार विकासमा लगानी वृद्धि गर्नु अपरिहार्य छ,' उनले भने। नयाँ प्रविधिको उपयोग, लामो व्यवस्थापकीय अनुभव र आर्थिक रुपमा क्षमतावान निजी क्षेत्रले पूर्वाधार विकासका क्षेत्रमा कम खर्चमा सहज र गुणस्तरीय परिणाम ल्याउन सक्छ भन्ने परिसंघको ठम्याइ रहेको पनि पत्रकार सम्मेलनमा शर्माले जानकारी दिए।

प्रकाशित: ७ पुस २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App