१६ चैत्र २०८० शुक्रबार
अर्थ

मनोवैज्ञानिक त्रास सिर्जना नगरौँ: आपूर्तिमन्त्री

काठमाडौँ- वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहोराले अनावश्यक दबाब दिएर नेपाली ग्यास उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरिएकोमा आपत्ति जनाएका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घको १७ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले छलफल र वार्ताको माध्ययमबाटै सबै समस्या समाधान गर्न ग्यास व्यवसायीलाई आह्वान पनि गरे।

मन्त्री बोहोराले ग्यास आपूर्ति व्यवस्था चुस्त तुल्याउन र आमउपभोक्तालाई त्यसको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उपभोक्ता हितका लागि सङ्घसँग मिलेर काम गर्न सरकार सदा तत्पर रहेको उल्लेख गरे।  

मुनाफा आर्जनतर्फ मात्र नलागी अतिकष्ठका बेला रु १० हजार सम्म तिरेर एउटा सिलिन्डर किनेका उपभोक्तालाई बेवस्ता नगर्न आग्रह गर्दै उनले उद्योगहरु पनि मर्जर हुनुपर्नेमा जोड दिए।

सांसद अनन्तप्रसाद पौडेलले ग्यास उद्योगी र उपभोक्ताहरुको हितमा संसदीय समितिले काम गर्नुपर्ने बताउँदै सैद्धान्तिक रुपमा फलामका विशाल साङ्ग्लो टुक्रयाउने हाम्रो संस्कृति व्यवहारमा परालको त्यान्द्रासमेत नभाच्ने नियतीबाट मुक्त हुनुपर्नेमा जोड दिए।  

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले एलपी ग्यास उद्योगसँग सहकार्य गर्दै ग्यासको व्यवस्थित आपूर्तिमा निगमले सघाउने दृढता व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ग्यास आपूर्तिमा विद्यमान सिन्डिकेट अन्त्य गर्न सरकारले तत्काल आवश्यक निर्णय गनुपर्र्ने माग गरे।

सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अबको एक वर्षमा नेपाली ग्यास बुलेटबाटै ग्यास ढुवानी गर्न नसके आम नेपाली उपभोक्ताले दुःख पाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए।

हाल मुलुकमा ५५ वटा एलपी ग्यास उद्योगले ७७ लाख सिलिन्डरमार्फत उपभोक्तालाई ग्याउ आपूर्ति गर्दै आएका छन् । विगत ४२ वर्षदेखि नेपालीले ग्यास उपभोग गर्दै आएका भए पनि एलपी ग्यास व्यवसायी सङ्गठित भएको १६ वर्ष मात्रै पूरा भएको छ। रासस

 

प्रकाशित: ५ पुस २०७३ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App