८ वैशाख २०८१ शनिबार
अर्थ

पुसभित्र उपत्यकामा थप ३ यातायात कार्यालय सञ्चालनमा आउने

एकान्तकुनास्थित अञ्चल यातायात व्यवस्था कार्यालय बागमतीमा लागेकाे सेवाग्राहीकाे घुइँचाे। तस्बिरः प्रबिन काेइराला

काठमाडौं– यातायता व्यवस्था विभागले काठमाडौं उपत्यकामा थप ३ ओटा यातायात व्यवस्था कार्यालय विस्तारको काम पुस महिनाको अन्तिममा मात्र सकिने जनाएको छ। यसअघि पुसको शुरुबाट नै तीनै ओटा कार्यालय सञ्चालनमा ल्याउने भनिए पनि घर भाडामा लिने र कार्यालय ‘लेआउट’ मिलाउने प्रक्रिया लम्बिएकोले पुसको अन्तिमसम्ममा मात्रै ती कार्यालयहरु सञ्चालनमा आउन सक्ने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए।

ललितपुरको एकान्तकुनामा सञ्चालित एक मात्र यातायात व्यवस्था कार्यालयको निरीक्षणका क्रममा सेवाग्राहीको चाप निकै ठूलो पाएपछि यातायात व्यवस्था मन्त्री रमेश लेखक तीन ठाउँमा विस्तार गर्ने भनिएका कार्यालयहरु शीघ्र सञ्चालनमा ल्याउन विभागलाई मंसिर १४ गते निर्देशन दिएका थिए। मन्त्रीले निर्देशन दिएको २० दिन बितिसकेको छ। मन्त्रीको निर्देशनपछि कार्यालय विस्तारमा सक्रियता देखाएको विभागले ऐननियमसंगत तरिकाले विस्तार प्रक्रिया अगाडि बढाएको भन्दै पुसको अन्तिमसम्ममा मात्र कार्यालय सञ्चालनमा आउने जानकारी दिएको हो।  

भक्तपुरको सुर्यविनायकमा पुसको पहिलो हप्ताभित्र अर्थात् १० गतेभन्दा अगाडि नै कार्यालय सञ्चालनमा ल्याउने तयारी रहेको प्रवक्ता पाण्डेले बताए। त्यस्तै, भक्तपुरको कार्यालय सञ्चालनमा आएको एक साताभित्र कलंकी र चावहिलमा कार्यालय सञ्चालन ल्याउने गरी काम अघि बढाइएको उनको भनाइ छ। प्रक्रिय लम्बिएमा पुस अन्तिमसम्ममा मात्रै सबै कार्यालय सञ्चालनमा आउने देखिएको छ।

प्रवक्ता पाण्डेका अनुसार भक्तपुरको सुर्यविनायकमा सञ्चालनमा ल्याउन लागिएको यातायात कार्यालयका लागि घर भाडा सम्झौता गर्ने सम्पन्न भइसकेको छ। कार्यालय लेआउट मिलाउने काम केही दिनमै पूरा भई कार्यालय सञ्चालनमा आउने छ। कलंकी र चावहिल कार्यालयका लागि भने घर भाडा सम्झौता गर्ने, प्रमुख जिल्ला अघिकारीको अध्यक्षतामा रहेको रेन्ट कमिटिले भाडा स्वीकृत गर्नेलगायत काम बाँकी छ।

विभागले प्रत्येक कार्यालयका लागि २६/२६ स्थायी दरबन्दीका कर्मचारी र १०/१० करार कर्मचारीको व्यवस्था मिलाउन लागेको छ। थपिने कार्यालयहरुले निजी क्षेत्रको ट्रायल स्पट भाडामा लिएर लाइसेन्सको ट्रायल परीक्षा लिने व्यवस्था गर्न लागेको छ।
यातायात व्यवस्था बागमती अञ्चल कार्यालय एकान्तकुनामा सेवाग्राहीको चाप अत्यधिक भएपछि गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले भीड व्यवस्थापन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि यातायात व्यवस्था मन्त्रालयको प्रस्तावलाई असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरी काठमाडौं उपत्यकामा थप तीन ओटा कार्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयबमोजिम यातायात व्यवस्था विभागले काठमाडौंको कलंकी र चावहिल तथा भक्तपुरको सुर्यविनायकमा यातायात व्यवस्था कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी थालेको थियो।

थप तीन ठाउँमा कार्यालयहरु सञ्चालनमा आएपछि उपत्यकामा मात्र ४ ओटा कार्यालयहरु सञ्चालन हुने र सेवाग्राहीको चाप व्यवस्थापन गर्न सकिने विभागको अपेक्षा छ। तर, सेवाग्राहीहरु भने अनलाइन फारम भर्ने व्यवस्था नभएसम्म सेवाग्राहीले सुविधा नपाउने बताउँदै आएका छन्।

अनलाइनको विकल्प छैन

यातायात कार्यालय व्यवस्थित गर्न अनलाइनबाट फारम बुझ्ने प्रणाली नबनाउँदा कतिपय सर्वसाधारण लाइसेन्सको फारम भर्न बागमती अञ्चल यातायात कार्यालय एकान्तकुनामा अघिल्लै दिनदेखि लाइन बस्ने गरेका छन्। तीन वर्षअघि सरकारले यातायातसहित सेवाग्राहीको चाप बढी हुने कार्यालयहरुलाई डिजिटलाइज्ड गर्न एशियाली विकास बैंकको सूचना तथा प्रविधि कार्यक्रम भिœयाएको थियो । अनलाइन प्रणालीमा जान ठूलो बजेटको आवश्यकता पर्दैन। तर, यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भने स्रोतको अभावमा सर्भर राख्न नसक्दा अनलाइन सेवा सुरु हुन नसकेको बताउँछन् ।

‘सर्भर राख्न स्रोत अभाव छ । सेवाग्राहीको संख्याको अनुपातमा जनशक्ति थोरै छ । त्यही भएर भिड बढी देखिएको हो’, उनले नागरिकसँग भने,’ यसलाई व्यवस्थित गर्न चाबहिल, भक्तपुर र कलंकीमा कार्यालय विस्तार गर्न लागिएको हो ।’

प्रकाशित: ४ पुस २०७३ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App