coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

काठमाडौं– भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिबन्धपछि नेपालमा रहेका भारतीय नोटहरु के गर्ने भन्नेबारे भारतीय रिजर्व बैंकका डेपुटी गर्भनर आर गान्धीसँग बुधबार आफैले फोनमा कुराकानी गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

‘भारतीय रिजर्व बैंकका डेपुटी गभर्नरले नेपालमा के कती त्यस्ता नोट छन् भन्ने चासो राख्नु भयो,’ शिवाकोटीले नागरिकसँग फोनमा भने, ‘यो भारत सरकारको निर्णय भएकोले रिजर्व बैंक एक्लैले मात्र समस्या समाधान गर्न नसक्ला।’

राष्ट्र बैंकसँग पनि भारतीय नोट केकती परिमाणमा छ भन्ने यकिन तथ्याङ्क नभएको उनले बताए।

२५ हजार रुपैयाँसम्म भारतीय नोट नेपालमा बोक्न पाउने व्यवस्था भएका कारण नेपालमा पनि भारतीय मुद्रा भएको र नागरिकसँग भएका ती नोटहरु के गर्ने भन्ने विषयमा हाल छलफल जारी रहेको उनले बताए।

‘यसै विषयमा छलफल गर्न हामीले राष्ट्र बैंकका प्रतिनिधिलाई अर्थमन्त्रालय र नेपालस्थित भारतीय दूतावासमा बुधबार छलफल गर्न पनि पठाएका छौं,’ उनले भने, ‘तर, भारतले तत्कालै नेपालमा मौज्दात भारतीय नोट साटिदिइहाल्छ भन्ने यकिन भैसकेको छैन, भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि उक्त नोटहरु स्वतः प्रतिबन्धित भएका छन्।’

नेपालका बैंकहरुसँग भारतीय मुद्राको मौज्दातका जानकारी पठाउन राष्ट्र बैंकले बिहानै सूचना पठाएकोमा २० ओटा बैंकले जानकारी दिइसकेको उनले बताए।

यदी भारतले चासो देखाएर नेपालमा रहेको भारतीय नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग रहेका भारतीय मुद्रा थोरै मात्रामा साटिदिन सक्ने उनले बताए।

‘भारतको नोटमा उसैको अधिकार हुन्छ,’ उनले भने, ‘नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले साटिदिएन भने त्यतीबेला के गर्ने ?’

विदेशी नोट राख्नु आफैमा गैरकानुनी विषय भएको भन्दै डेपुटि गभर्नर शिवाकोटीले भने– ‘खुला सिमानाका कारण भारतीय जाली नोटको कारोबार भइरहेको समाचार पनि सुनिएको छ। त्यसैले यो सम्वेदनशील विषय हो । भारतीय रिजर्व बैंक मात्र आश्वस्त भएर हुँदैन भारत सरकारसमेत नेपालमा रहेका भारतीय नोट साटीदिन वा फिर्ता लान सहमत हुनुपर्छ।’
 

प्रकाशित: २४ कार्तिक २०७३ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App