१५ चैत्र २०८० बिहीबार
अर्थ

‘खाद्य संस्थानले कुहिएको चामल बेच्यो’

खोटाङ- नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, कुहिएर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ । ‘दसैं र तिहारका बेला खाद्य संस्थानबाट ल्याएको अधिकांश चामल कुहिएको छ,’ खाल्लेका स्थानीय नेत्र कटवालले भने ।

दशैंका लागि खरिद गरिएको खाद्य संस्थानको चामलको स्वाद समेत अमिलो भएको खार्मी– ५ का सुरेश श्रेष्ठले बताए । दसैं–तिहारका बेला खाद्य संस्थानले खान अयोग्य अवस्थाका ६११ क्विन्टल चामल बिक्री गरेको स्रोतले जनाएको छ ।

संस्थानले आर्थिक वर्ष ०७१÷७२ मा प्याकिङ गरिएको चामललाई यस वर्ष बिक्री गरेको स्रोतको दाबी छ । तीन वर्षअघि संस्थानमा आएको चामल गत वर्ष बिक्री नभएकाले यस वर्ष बेच्न बाध्य भएको संस्थानले बताएको छ । जिल्लामा पछिल्लो समय गाउँ–गाउँमा यातायातका सवारी साधन पुगेपछि उपभोक्ताले संस्थानको चामल कम उपयोग गर्ने गरेका छन् । उपभोक्ताले कम प्रयोग गर्न थालेका कारण संस्थानको चामल वर्षौंसम्म गोदाममा थन्किँदा सडेको हुन सक्ने उपभोक्ता बताउँछन् । सोही चामल जिल्ला कारागारका कैंदीबन्दीले समेत उपभोग गर्दै आएका छन् । यसपटक कैदीबन्दीलाई ९० क्विन्टल चामल छुट्याइएको थियो ।

संस्थानको चामल बेच्न योग्य भएक संस्थान प्रमुख देवकिशोरलाल कर्णले दाबी गरे ।

प्रकाशित: १३ कार्तिक २०७३ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App