आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।
विष्णुपादुका युवा क्लबको आयोजनामा हुने महोत्सवको ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ नारा दिइएको छ। नारा अनुसार नै आलुको फरक फरक परिकार तयार पारिन्छ। परिकारले नै महोत्सव पुग्ने सर्वसाधारणको सत्कार गरिन्छ । महोत्सवमा ३÷४ क्विन्टल आलु बिक्री गरिने तथ्यांक आयोजकसँग छ।
कास्कीको हेमजामा भने झण्डै ४५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुदैं आएको छ। अन्नपुर्ण सिंचाई आयोजनाले ३५० हेक्टरमध्ये ३२० हेक्टरमा सिचिंत हुदैं आएको छ। १८५ हेक्टरमध्ये १०० हेक्टर क्षेत्रफल चौरासी नहरले सिंचाई सुविधा पुर्याउँदै आएको छ। उत्पादकत्व भने प्रति हेक्टर ५ देखि ७ टन रहेको स्थानीय किसानको दावी छ। वर्षेनी आलु उत्पादन मात्रै २१ करोड रुपैयाँको हुने गरेको छ। हेमजामा विशेष गरी एम.एस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल, सेतो र डेजिरे नामक आलु लगाइने गरिएको छ।
सिजनमै आलु बिक्री गरिएन भने कुहिएर नोक्सानी व्यहोर्नुपर्ने समस्या समेत छ। किसानबाट उत्पादित आलुलाई उत्पादनस्थलबाटै बजारएवं घरमा पु¥याउने माध्यमक नै महोत्सव रहेको जिकिर मुल आयोजक समितिको संयोजक सुबिन श्रेष्ठले जनाए। वर्षेनी आलुको उत्पादन लागत बढेपनि नाफै नभएपनि विक्रीतिवरण गर्नुपर्ने बाध्यता रहेको छ।
यो वर्ष आलुको उत्पादन कमी हुने अनुमान गरिएको छ। उत्पादन क्षेत्र पनि विस्तारै घट्दै गएको छ। त्यसो त यो वर्ष पानी समयमै नपर्दा उत्पादन कमी हुने अनुमान किसानको छ। ज्याला, मल, सिंचाईको सुविधा लगायतलाई ध्यानमा राख्दा लागत उकालिदैं गएको गुनासो किसानहरुले गर्दै आएका छन। आलुको मूल्य निर्धारण समितिले निर्धारण गरेपछि मात्रै महोत्सवमा आलु बिक्री गर्न राखिने सयोजक श्रेष्ठले जानकारी दिए। ‘किसानको लागतलाई हेरेर मूल्य निर्धारण गर्छौ ।’ उनको भनाई थियो।
क्लबको बैठकले आलु महोत्सव मुल आयोजक समिसतसँगै विभिन्न उपसमिति समेत गठन गरिएको छ। अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ।
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले आयोजना गरेको थियो। दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको छ। कोरोना संक्रमणकै कारण पछिल्ला तीन वर्षयता आलु महोत्सव आयोजना गरिएन्।
प्रकाशित: १० फाल्गुन २०७९ १०:०३ बुधबार