सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर सरकारको सो निर्णयले व्यवसायीहरू मर्कामा परेको बताएका छन्।
भन्सारबाट विधिवत् रूपमा ल्याइएका गरगहनाहरू त्यसपश्चात् व्यवसायीको पसलमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यसप्रति गलत आशंका गर्ने, व्यवसायीलाई त्रसित र आतंकित बनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिने जस्ता कार्यप्रति व्यवसायीहरूले विरोध गरेका छन्।
यस्तै विदेशबाट आउने नेपालीले विना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउने क्रममा पनि भन्सारमा अनावश्यक तनाव भोगिरहेको प्रति व्यवसायीहरूले सरकारको ध्यान आकृष्ट गराउन चाहेका छन्।
सम्मेलनमा राज्यलाई कर भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट प्रष्ट मापदण्ड, ऐन, कानून बनाइ शीघ्र लागु गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुने गरी ऐन, नियम तथा कार्यविधि निर्माणका लागि पहल गर्न तीनै महासंघले संयुक्त रूपमा सरकारसँग माग गरेको छ।
प्रकाशित: १० फाल्गुन २०७९ ००:३७ बुधबार