२६ श्रावण २०७७ सोमबार
अर्थ

पौस्टिक अन्न कोदो लोप हुँदै

बिरा गडाल

बैतडी–आधा दशक अघिसम्म भटना–७, खुतुडीका जनकराज भट्टको खेतमा प्रशस्तै कोदो फल्थ्यो तर आजभोलि गाउँमा यसको बीउसम्म पाउन समस्या छ । पछिल्लो समय किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ ।

कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दै गएको हो । पाँच÷सात वर्षअघिसम्म जिल्लाका अधिकांश लेकाली भेगमा प्रशस्त कोदो फल्थ्यो आजभोलि किसानले लगाउन छोडेपछि बीउसम्म पाउन मुस्किल हुने गरेको
कुवाकोटका–६ का वीरेन्द्रसिंह बोहरा बताउँछन् । कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो अवस्था आएको उनको भनाइ छ । कोदो खेती गर्दा धेरै मलजल  र गोडमेल गर्नु पर्दैन ।

गाउँघरमा कोदोको महत्व नबुझदा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिने बोहराले बताए । औषधिका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्नका रुपमा लिइन्छ । पहिला वर्षे खेतीका रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको  स्थानीय किसान बताउँछन् । किसानले विस्तारै खेती गर्न छाडेपछि गाउँमा कोदो अभाव हुँदै गएको हो ।

कुवाकोटकी लालमती बोहराले भनिन्, ‘यस पटक पाँच रोपनी खेतबारीमा कोदो लगाएकी छु तर पहिला बीउ खोज्नै समस्या भयो ।’
कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ । भटनाका किसान अम्भादत्त भट्टले भने, ‘गाउँघरमा हेपिएको कोदो अहिले सहरबजारतिर खोजीखोजी खान थालिएको छ तर हामीले यसको महŒव थाहा नपाउँदा र काम गर्न अल्छीले लगाउन छाडेका छौं, आफ्नै खेतबारीमा फलाउन सकिने कोदो किनेर खानुपर्ने अवस्था छ ।’
पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत पाउन मुस्किल भएको उनी बताउँछन् ।

सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि पोसिला कोदो, फापर, जौं जस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको हो । स्वास्थ्यका लागि बढी फाइदाजनक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाजा खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढन थालेको छ । ‘हामी पोलिस गरेकोे चम्किलो चामल, दालमा लोभिन्छौं,’ उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले भने, ‘गाउँघरमै हुने पोसिलो अन्न भने लगाउन छाडेका छौं ।’
धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हँुदै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउँछन् । कार्यालयका अनुसार जिल्लाको शिवलिंग, चौखाम, थलाकडा, कुवाकोट, भटना, शिखरपुर, सिद्धेश्वर, सिद्धपुर, कैलपाललगायत क्षेत्रमा कोदो खेती गरिन्छ । उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने तिवारीको भनाइ छ । मुड्के जातको कोदो स्वादका हिसाबले उत्तम मानिन्छ ।

परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी पनि बनाइन्छ । जाडोयाममा कोदोको पिठोमा मसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि उत्तम मानिन्छ ।

कोदो पौस्टिक आहारका रुपमा सबैभन्दा राम्रो बाली भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थी बताउँछन् । उनले भने, ‘कोदोको महत्वबारे थाहा नहुँदा खेती गर्ने चलन हराएको छ ।’ उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदोका परिकारले बढी हित गर्छ ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App