१६ चैत्र २०८० शुक्रबार
अर्थ

स्थानीयबाहेकलाई केरुङ प्रवेश निषेध

ऋषि खतिवडा
काठमाडाैं-पछिल्लो समय चीनसँगको प्रमुख व्यापारिक नाका बन्न पुगेको रसुवागढीबाट केरुङ प्रवेश गर्न रसुवाबाहेक अन्य जिल्लाका चालकलाई चिनियाँ अधिकारीले अनुमति नदिँदा व्यवसायीहरु करोडौं लगानी गरेको सामान अर्कैकै भरमा आयात गर्न बाध्य भएका छन् ।

खुलेको वर्ष दिन बित्न लाग्दासमेत सरकारी उच्च तहबाट नाका व्यवस्थापनका लागि उचित पहल नगर्दा व्यवसायीले समस्या भोग्नुपरेको हो ।
व्यवसायीले चिनियाँ एजेन्टको सहयोगमा केरुङसम्म सामान आयात गर्छन् । रसुवागढीबाट केरुङसम्मको २७ किलोमिटर बाटोमा व्यवसायीले धेरै समस्या भोग्दै आएका छन् । केरुङबाट नेपाल भित्रने क्रममा सम्बन्धित मालधनी नभएको मौका छोपी सामान समान चोरी हुने, ड्यामेज हुने, ड्राइभर अभावले आयातमा समय लाग्ने लगायत समस्या देखिएको छ ।

आयातका क्रममा गाडी बिग्रिँदा बनाउन समस्या हुने, महँगो भाडा तिर्नुपर्ने, अर्डर अनुसारको सामान नहुने तथा नक्कली सामान पर्नेसम्मका कठिनाइबाट व्यवसायी आजित छन् । नभएका सामानको कर तिर्नुपर्ने जस्ता समस्या पनि भोग्नुपरेकोले केरुङसम्म जाने पासको व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने व्यवसायीको माग छ ।

‘सामान हराउने, टुटफुट हुने, पानीले भिज्ने, अर्डर गरेकोभन्दा फरक सामान पर्ने समस्या भोग्दै आएका छौं,’ केरुङ नाकामा भोग्दै आएको समस्याबारे हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष कुमार कार्कीले नागरिकसँग भने, ‘अर्काको भरमा सामान आयात गर्दा असुरक्षा र नक्कली सामान पर्नेप्रति हाम्रो चिन्ता छ ।

नेपाल व्यापार संघका अध्यक्षसमेत रहेका कार्कीले केरुङसम्म ड्राइभर, मालधनी र लोड गर्ने मान्छेको प्रवेश पाउनुपर्ने माग राखे । ‘सामान लिन गएको गाडी बिग्रिँदा मिस्त्री लैजानसमेत समस्या छ,’ उनले भने, ‘गाडी बिग्रेको खण्डमा हप्तौंसम्म रोकिनु पर्दा ढुवानी खर्च समेत बढ्छ ।’ कार्कीले तत्कालीन समस्या समाधान गरेर दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।  

रसुवाका प्रमुख जिल्ला अधिकारी क्ृmष्णप्रसाद अधिकारी व्यवसायीले भोग्दै आएको समस्या र उठाएको माग जायज भएको भन्दै सरकारी उच्च तहबाट पहल गर्नुपर्ने बताए । ‘चीनले रसुवाबाहेक जिल्लाका नागरिकलाई केरुङ प्रवेश दिएको छैन,’ उनले भने, ‘पास पाउनेले पनि सशस्त्र प्रहरी, भन्सार कर्मचारीको व्यक्तिगत सम्बन्धका आधारमा मात्रै त्यस्तो मौका पाएको पाइएको छ ।’

प्रजिअ अधिकारीले सरकारले ६ महिने र ३ महिने पासको व्यवस्था गर्ने तयारी गरेको सूचना पाएको तर त्यो आधिकारिक नभएको बताए । सामान हराउनेदेखि पर्याप्त ड्राइभर नहुने, रसुवा जिल्लाका चालक, सहचालकले मात्र चीन प्रवेश अनुमति पाउँदा व्यवसायीलाई मर्का परेको स्वीकार गर्दै उनले आफ्नो तर्फबाट समाधानका लागि पहल गरेको बताए ।

‘८० प्रतिशत चालक र २० प्रतिशत मालधनीलाई प्रवेश गराउनेसम्म पहल भएको हो,’ उनले भने, ‘हतारमा केरुङ नाका सञ्चालन गर्नुपरेकाले बोर्डरको स्तरोन्नति, भौतिक संरचना तथा नाकाको स्तर सन्तोषजनक छैन ।’ प्रजिअ अधिकारीले केरुङ नाकालाई व्यवस्थित र स्तरोन्नति गर्दै व्यवसायीको समस्या समाधान उच्च सरकारी स्तरबाट गरिनुपर्ने बताए ।

केरुङ नाका सुरक्षा प्रमुख डिएसपी दर्शन गिरीले व्यवसायीले प्रवेशका लागि गुनासो गर्ने गरेको तर आफ्नो पहलले केही नहुने तर्क राखे । सुरक्षा निकायले व्यवसायीको सामान सुरक्षामा चिनियाँ प्रहरीसमक्ष समन्वय गरेको समेत बताए । उनले माथिको आदेश रहेको भन्दै रसुवा बाहेकका व्यक्तिलाई चिनियाँ प्रहरीले प्रवेश नदिएको समेत जानकारी गराए ।

मालबाहक कन्टेनर चीनतिरै बिग्रियो भने व्यापारी धेरै मर्कामा पर्ने गरेको बताउँदै डिएसपी गिरीले भने, ‘चिनियाँ प्रहरीलाई आग्रह गर्दा केही घन्टाका लागि मिस्त्रीलाई प्रवेश दिने गरेको छ ।’भूकम्पपछि बन्द भएको तातोपानी नाकाबाट आयात गर्दै आएका व्यवसायीले अहिले रसुवागढीबाट आयात गर्न थालेका छन् । गत असोज २८ बाट सञ्चालनमा आएको रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रुपान्तरित हुँदै गएको छ । जाडो मौसमका सामान, जुत्ता, चप्पल, तयारी पोसाक, विद्युतीय सामग्री चीनबाट आयात हुने गरेको व्यापारी बताँउछन् ।

रसुवागढी भन्सार प्रमुख क्mेदार पनेरुले उक्त नाकाबाट आयात गर्ने व्यवासायीले भोगेको समस्या समाधान गर्दा राजस्व संकलन सहज हुने बताए । गत आर्थिक वर्षमा २ अर्ब ४० करोड राजस्व संकलन गरिएको सो नाकामा चालु अर्थिक वर्षको २ महिनामा ३७ करोड संकलन भएको उनले जानकारी गराए । यस वर्ष केरुङ नाकाबाट २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App