७ वैशाख २०८१ शुक्रबार
अर्थ

१८ किलोमिटर हुलाकी सडक बनेन

धनगढी- कैलालीमा राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक १८ किलोमिटर बन्न नसकेर अधुरो रहेको छ। हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय जिआर गावर कम्पनी सम्झौता अनुसारको १८ किलोमिटर काम अधुरो छोडेर फिर्ता गएको छ। धनगढीदेखि सत्तीसम्मको ६१.२ किलोमिटरमध्ये कटनीदेखि भजनीको कान्द्रा पुलसम्मको १८ किलोमिटर खण्डमा सामान र भेहिकल लैजाने उपाय नै नभएको भन्दै काम अधुरो छोडेर भारतीय कम्पनी फर्केको हो। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख तुरन्त मण्डलले १८ किलोमिटर बाँकी छोडेर भारतीय ठेकेदार कम्पनी फिर्ता भएको बताए। अब उसले यो निर्माणको काम नगर्ने उनको भनाइ छ। 'काम छोडेर भारतीय कम्पनी फिर्ता गएको छ,' उनले भने,'अब बाँकी काम उसले गर्दैन।'

सम्झौता अनुसार सडक निर्माणको काम पूरा नगरी फिर्ता फर्कनुमा भारतीय कम्पनीको दोष छैन। नेपाल पक्षको कमजोरीका कारण ऊ फर्केको हो। 'सामान लैजान नपाएर १८ किलोमिटरमा उसले काम गर्न नसकेको हो,' कार्यालय प्रमुख मण्डलले भने। सत्ती तर्फबाट हुलाकी सडक बनेको भजनीको कान्द्रा नदीमा पुल नहुँदा अगाडि सडक निर्माणको लागि सामान लैजाने बाटो बन्द भयो। धनगढीबाट हुलाकी सडक पुगेको कटनीअघि सामान लैजान र भेहिकल जान बसन्ता क्षेत्रको क्षेत्रको २ किलोमिटरमा रहेका रुखले अवरोध गरेको हो।

बसन्ता क्षेत्रअन्तर्गत २ किलोमिटरमा रहेका रुख काट्ने अनुमति वनविभागले नदिँदा कटनीबाट निर्माण अघि बढ्न नसकेको हो। विभागले रुख काट्ने अनुमति दिएको भए पूरै १८ किलोमिटर सडक बनाउन सकिने उनी बताउँछन। वन विभागले अनुमति नदिँदा पनि कान्द्रा नदीमा पुल बनेको भए बाँकी १६ किलोमिटर निर्माण पूरा भएर रुख काट्न नदिइएको २ किलोमिटरमात्र बाँकी रहन्थ्यो। ०६८ सालमा अढाइ वर्षमा निर्माण सिध्याउने गरी सम्झौता गरेका ठेकेदारले समयमा काम नगर्दा कान्द्रा नदीमा अझै पुल नबनेको योजना कार्यालयका इन्जिनियर नरेन्द्र ओझा बताउँछन। 'सम्झौता गरेर ठेकेदारले काम गरिदिँदैनन्, जति ताकेता गर्दा पनि सुन्दैनन्,' उनले भने, '१८ किलोमिटर सडक नबन्नुमा ठेकेदारको लापरबाहीले कान्द्राको पुल नबन्नु पनि कारण हो।'

पवेरा–६ बैजपुरदेखि रापपुरसम्म २ किलोमिटर क्षेत्रफलमा रहेका रुख काट्ने स्वीकृति वन मन्त्रालयले दिएको छैन। रुख काट्ने स्वीकृतिका लागि वन कार्यालयमार्फत विभागमा फाइल पठाएको एक वर्ष भइसक्दा पनि सुनुवाइ नभएको ओझा बताउँछन्।

'कान्द्रा र बैजपुरबीचको १८ किलोमिटर खण्डमा दुवैतिर बन्द भएर सामान लैजान नसकिने भएकाले काम छाडेर नेपाल सरकारलाई हस्तान्तरण गरी फिर्ता गएका हौं,' जिआर गवार कम्पनीका एक कर्मचारीले भने। यतातिर रुख काट्न नमिलेको र उतातिर पुल नबनेकाले अवरोध भएको उनले बताए।

धनगढीदेखि सत्तीसम्म ६१.२ र टीकापुर–खग्रौला–लम्की २७ किलोमिटर गरेर ८८ किलोमिटर हुलाकी सडक निर्माणको ठेक्का यो कम्पनीले लिएको हो।

कैलाली जिल्लामा सदरमुकाम धनगढीबाट हसुलिया, भजनी, बसन्ता वन क्षेत्र हुँदै सत्तीसम्मको ६१.२ किलोमिटर र लम्कीबाट टीकापुर–खक्रौलासम्मको २७ किलोमिटरमध्ये धनगढीदेखि कटैनीसम्मको करिब ३१ किलोमिटर र भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर सडक निर्माण पूरा भएको छ। यो भागमा १८ किलोमिटर निर्माण हुन बाँकी हो। यस्तै लम्कीदेखि टीकापुर–खक्रौलासम्मको २७ किलोमिटर लामो सडक पनि निर्माण पूरा भएको छ।

भारतीय कम्पनीले छोडेर गएको १८ किलोमिटर सडक निर्माणका लागि सरकारले बजेट विनियोजन नगरेकाले निश्चित बनेको छ। योजना कार्यालयका प्रमुख मण्डलले सरकारले बजेट विनियोजन नगरेको बताए।

प्रकाशित: २१ भाद्र २०७३ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App