coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटक आगमनः जनवरीमा ५५ हजार बढी

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पाहुना। फाइल तस्बिरः नागरिक

अफसिजनसँगै नेपालमा भएको हवाई दुर्घटनाले पछिल्लो समय पर्यटन क्षेत्र केहि सुस्ताएको छ। सिजनको मुखमा भएको दुर्घटनापछि विदेशी पाहुनाले सिजनको बुकिङ पनि रद्द गरिरहेको व्यवसायीले बताएका छन्। तर, यही अफसिजनको महिनामा पनि नेपाल भित्रिने विदेशी पाहुनाको संख्यामा उल्लेख्य सुधार देखिएको पर्यटन बोर्डले बताएको छ।  

अघिल्ला वर्ष कोरोना भाइरस संक्रमणका कारण खस्किएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि अफसिजनको समयमा पनि पाहुना आगमन उत्साहजनक रहेको बोर्डको भनाई छ। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ती सबै पाहुना हवाई माध्यमबाट भित्रिएका हुन। अघिल्लो महिना सन २०२२ को डिसेम्बरको आगमन संख्या भने ६७ हजार ९ सय ३२ थियो।  

‘हुन त अहिले अफसिजन हो। तरपनि यो जनवरीमा नेपाल भित्रिने विदेशीको पाहुनाको आकारले राम्रै संकेत देखाएको छ,’ लामिछानेले भने, ‘यो बेला हवाई दुर्घटनापछिको सन्देशले केही प्रभावित पारेपनि जनवरीको आगमनको संख्या तुलनात्मक रुपमा राम्रो हो।’ अघिल्ला तीनवर्ष कोरोना भाइरस संक्रमणका कारण जनवरीको आगमन निकै नै कम रहेकोमा यो पटक भने निकै नै सुधार भएको उनले बताए। ‘डिसेम्बरको तुलनामा जनवरीमा पर्यटक आगमन झन्डै ८० प्रतिशत रहेको छ । अफसिजनको आगमन राम्रो हो,’ उनले भने।  

बोर्डका अनुसार कोरोना संक्रमण सुरु हुन अघि नेपालमा सन् २०१९ को जनवरीको आगमन संख्या ८१ हजार २ सय ७३ थियो। त्यो संख्या सन् २०२० मा ७९ हजार ७ सय २ थियो। सन् २०२० जनवरीमा कोरोना संक्रमणको असर खासै नपरिसक्दा त्यो महिनाको आगमनमा उत्तिसारो असर परेको थिए। तर, सन् २०२१ को जनवरीमा भने जम्मा ८ हजार ८ सय ७४ जना मात्र विदेशी नेपाल भित्रिएका थिए। सन् २०२२ को जनवरीमा भने १६ हजार ४ सय ३६ जना मात्र विदेशी नेपाल आएका थिए।  

‘अफसिजनको आगमनलाई उत्तिसारो नराम्रो भन्न मिल्दैन। अघिल्ला दुइवर्ष त निकै नै कम संख्यामा मात्र विदेशी पाहुना आएका थिए,’ उनले भने, ‘तर, यो वर्ष भने सुरुको महिनाको आगमनमा केही उत्साह देखिएको छ।’ ‘डिसेम्बरको तुलनामा जनवरीमा कम्तिमा ८० प्रतिशत सुधारको पुरानो लय यो पटक भेटिएको भन्न सकिन्छ,’ उनले भने,‘आगामि दिनमा कुनै अवरोध नहुने हो भने पर्यटक आउनेछन्।’ चिनियाँ पाहुनालाई नेपाल भ्रमण खुला नगरेकोले पनि आगमन संख्या अझ बढ्न नसकेको उनले बताए।  

अहिले चीनले आफ्ना नागरिकलाई कतिपय मुलुकमा घुम्न जानका लागि फुकुवा गरेको भएपनि नेपालका लागि भने अझैसम्म खुला नगरेको व्यवसायीले पनि बताउँदै आएका छन्। चिनियाँ नागरिक आउन नपाउँदा त्यसको मार पर्यटन क्षेत्रमा परेको व्यवसायीले गुनासो गरिरहेका छन्।  

बोर्डको तथ्यांक अनुसार यो जनवरीमा सबैभन्दा बढी पाहुना भित्रिने मुलुक भारत भएको छ। भारतका १६ हजार ४ सय ३६ जना पाहुना जनवरीमा नेपाल भित्रिएका छन् त्यस्तै अमेरिकाका ६ हजार ५ सय ६१ जना पाहुना आएका छन। तेश्रो नम्बरमा अस्ट्रेलियाबाट ३ हजार ४ सय ४१ जना पाहुना भित्रिएका छन्। चौथो नम्बरमा बंगलादेशबाट २ हजार ४ सय ६८ जना पाहुना नेपाल भित्रिएको बोर्डका निर्देशक लामिछानेले जानकारी दिए। ती सबै पाहुना हवाईमार्गबाट नेपाल भित्रिएका हुन।

व्यवसायीहरु पनि चिनियाँ पर्यटकलाई नेपाल भिœयाउन सक्ने हो भने पर्यटकको आकार माथि लाग्ने बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई चिनियाँको आगमनमा सुधार हुने हो भने पर्यटन क्षेत्रले राहत दिने बताउँछन्। ‘छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई अन्य मुलुकमा घुम्न जानका लागि अनुमति दिएको छ। तर, नेपालमा अहिलेसम्म फुकुवा गरेको छैन, चीनले घुमघामका लागि पाहुना पठाइदिने हो भने त्यसले हामी व्यवसायीलाई राहत दिन्थ्यो,’ भट्टराइले भने।  

पछिल्लो समय चिनियाँ पर्यटक नेपाल आउन नपाएको र अन्य मुलुकका पाहुना पनि आउन नसक्दा र पछिल्लो घटनाक्रमले नकारात्मक सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्रमा असर परेको व्यवसायीले बताएका छन्। व्यवसायीले पछिल्लो समयमा भएको हवाई दुर्घटनाका कारण पर्यटक आगमनमा गिरावट आएको भन्दै विभिन्न मुलुकमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारी गरेको पनि भट्टराईले जानकारी दिए।

प्रकाशित: १८ माघ २०७९ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App