coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुटनैतिक पहलबाट अदुवाको समस्या हल गर्न माग

कृषक तथा व्यापारीहरुसँग छलफल गर्दै कृर्षि राज्यमन्त्री राधिका तामाङ ।

धरान–चाइनिज अदुवा रोक्ने नाममा भारतले नेपाली अदुवा निकासी गर्न नदिदा कृषकहरु ठूलो मारमा परेको भन्दै पूर्वका किसान तथा व्यापारीहरुले कुटनैतिक पहल गरेर समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

धरान १३ स्थित कृर्षि उपज बजारस्थलको अवलोकन गर्न आएकी कृर्षि राज्यमन्त्री राधिका तामाङलाई आइतबार सञ्चालक समितिको तर्फबाट माग पत्र पेश गर्दै कृषक तथा व्यापारीहरुले यस्तो माग गरेका हुन्। तत्काल समस्या समाधान नभए कृषकसँगै व्यापारीहरुको ठूलो लगानी डुब्ने भन्दै उनीहरुले सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्।

‘निर्यात सहज हुन नसक्दा किसान तथा व्यापारी वर्गमा ठूलो असर परेको छ, जबकी भारतबाट सामग्री आयातमा भने भारतीय पक्षमा कुनै समस्या छैन’,माग पत्र पेश गर्दै अध्यक्ष काजी गिरीले भने, ‘केही दिनदेखि भारतीय पक्षबाट चाइनिज अदुवालाई रोक्ने नाममा नेपाली अदुवा लान मानिरहेको छैन, जसले गर्दा नेपाली कृषकलाई मार परेको छ। भारत सरकार समक्ष कुटनैतिक पहल गरी यो समस्या तत्काल समाधानको लागि सादर अनुरोध छ।’

राज्यमन्त्री तामाङले पनि अदुवा निकासी सहज बनाउन सरकारले हरसम्भव प्रयत्न गर्ने भन्दै कृषक एवं व्यापारी प्रतिनिधिलाई आश्वासन दिइन्। यो समस्या हल गर्न नसके सरकार भएको अर्थ नहुने भन्दै राज्यमन्त्री तामाङले कुटनैतिक रुपमा पनि समाधान गर्न पहल हुने बताइन्।

‘यो नेपाल भारतको मात्र होइन, चिनियाँ अदुवाको पनि बिषय भएकोले ३ देशबीचको सम्बन्धको कुरा हो’, मन्त्री तामाङले भनिन्, ‘यसको समाधान कुटनैतिकतवरबाट नै गर्नुपर्छ ।’ आफू मन्त्रालय पुगेलगत्तै यो बिषयलाई गम्भीररुपमा अघि बढाउने उनको भनाइ थियो। क्षेत्रीय कृर्षि निर्देशनालयका निर्देशक ताराकुमार श्रेष्ठले चाइनिज अदुवा के कति मात्रामा आइरहेको छ र त्यसको खपत कहाँ कसरी भइरहेको छ भन्नेबारेमा विस्तृत अध्ययन गर्न आवश्यक रहेको बताए।

कृषक एवं व्यापारीले कृर्षि बजारस्थलमा क्वारेन्टाइन जाँचको व्यावस्था नहुदा अदुवा तथा फलफुल निकासीमा सहज नभएको गुनासो पोखेका थिए । बजारस्थलका सल्लाहकार शिव भण्डारीले प्रेस्टिसाइट परीक्षण गर्न ल्याब नभएको साथै बजेट अभावले ग्रेडिङको व्यवास्था गर्न पनि नभएको बताए । कोल्डस्टोर नहुँदा अफ सिजनमा भारत नागपुरबाट आयातित सुन्तलाले नेपाली बजारमा कब्जा जमाउने गरेको उनको भनाइ थियो। व्यापारी विनोद राईले वन कार्यालयले एक पटकमा ५ टनको मात्र छुट पुर्जी दिने गरेकोले रिट्ठा र तेजपत्ता निकासीमा ठूलो समस्या भोग्नु परिरहेको गुनासो गरे।

व्यापारीहरुले कृर्षि उपज एक जिल्लाबाट अन्य जिल्ला र विदेशमा निकासी हुदा प्रत्येक जिल्लाले निकासी कर भ्याटसहित लिने गरेको बिषयलाई पनि व्यापारी तथा कृषकहरुले मन्त्रीसमक्ष प्रमुखताका साथ उठाएका थिए । उनीहरुले यस्तो गैरकानुनी कार्यलाई अबिलम्ब रोकेर करमुक्त गर्न पनि आग्रह गरे । कृषक तथा व्यापारीहरुको गुनासो सुनिसकेर राज्यमन्त्री तामाङले कृर्षि उपज बजारस्थलको अवलोकन पनि गरेकी थिइन् ।

 

प्रकाशित: १९ भाद्र २०७३ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App