७ वैशाख २०८१ शुक्रबार
अर्थ

अदुवा निकासी गर्न महासंघको आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ। 

माउ अदुवा धमाधम बजार पठाउने बेला भारतले लिएको आकस्मिक निर्णयले नेपाली निर्यातकर्ता प्रभावित भएपछि प्रतिनिधिमण्डल राजदूतावासमा छलफल गर्न गएको हो।

नेपालबाट भारततर्फ हुने अदुवा निकासीमा केही दिनयता देखिएको समस्या तथा सुदूरपश्चिमाञ्चलको गौरीफन्टा नाकादेखि पलिया बजारसम्मको राजमार्ग स्तरोन्नति लगायत विषयमा छलफल भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतीय राजदूतावासका प्रथम सचिव (वाणिज्य) एन रामप्रसादसँग भएको छलफलमा अदुवाको मुख्य सिजनमा भारत निकासीमा उत्पन्न समस्याका कारण व्यवसायी मर्कामा परेकाले पूर्ववत् निकासीको वातावरण बनाउन प्रतिनिधिमण्डलले आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सो अवसरमा अदुवा लगायत कृषिजन्य उत्पादनको निकासी गर्दा आफ्ना किसानलाई मर्का नपर्नेमा दुवै देश चनाखो हुनुपर्ने र नेपालबाट के कति उत्पादन तथा निकासी हुन्छ त्यसको राम्रो अभिलेख राख्नुपर्नेमा पनि जोड दिइएको थियो। 

महासंघ प्रतिनिधिमण्डलले धनगढीको नेपाल–भारत सीमा नाकादेखि पलियासम्मको राजमार्ग व्यावसायिक उद्देश्य तथा त्यस क्षेत्रका जनताको आवतजावतका लागि अत्यन्त महŒवपूर्ण रहेकाले सोको स्तरोन्नति गरी व्यापार व्यवसाय विस्तार र आवतजावतलाई सहज बनाउन प्रतिनिधिमण्डलले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ। 

सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको र यस क्षेत्रका करिब २५ लाख जनताको जीवनसँग जोडिएको उक्त मार्ग स्तरोन्नति नहुँदा पटकपटक सवारी दुर्घटना हुनुका साथै मालबाहक सवारी साधन सयौं दिनसम्म बाटोमा रोकिएर व्यापार व्यवसायमा समेत निकै ठूलो नोक्सानी बेहोर्नुपरेको गुनासो सो अवसरमा गरिएको थियो।

चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयातमा रोक लगाएको  व्यवसायीको भनाइ छ।

नेपाली उत्पादनमा चिनियाँ अदुवा मिसावट भएको र त्यसमा अत्यधिक विषादीको मात्रा रहेको कारण देखाउँदै भारतीय पक्षले मंगलबारदेखि अदुवा आयातमा रोक लगाएको हो।

भारतीय अवरोधका कारण गत मंगलबार पूर्वी नाका काँकडभिट्टामार्फत अदुवाको एउटै ट्रक भारत गएनन्। साउनदेखि नै किसानले अदुवाको माउ निकाल्छन्। त्यसलाई सुकाएर भदौदेखि धमाधम बजार पठाउने गर्छन्। ठीक यही बेला नेपाली अदुवामा खोट देखाउँदै आयात नै बन्द गर्ने भारतीय कदमले यसको अन्तर्राष्ट्रिय बजार खतरामा पारेको निर्यातकर्ता बताउँछन्।

भारतीय राजधानी नयाँदिल्लीस्थित केन्द्रीय खाद्य विभागले नेपालसँग नाका जोडिएका सबै मातहत निकायलाई साताअघि नै पत्राचार गर्दै नेपालबाट भित्रिने अदुवामा 'मिसावट रहेको' जनाउ दिएको पानीट्यांकी भन्सारले जनाएको छ। खाद्य विभागका आयात निर्देशक विमलकुमार दुवेद्वारा प्रेषित पत्रमा चिनियाँ र नेपाली अदुवामा घातक विषादी फेला परेको उल्लेख छ। तर, आयात नै रोक्नू भन्ने व्यहोरा छैन।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतीय पक्षले सोमबार साँझसम्म भन्सार प्रक्रिया पूरा गरेका अदुवा बोकेका ट्रक मात्रै पानीट्यांकी नाकाबाट अघि बढ्न दिएको छ। 

प्रकाशित: १९ भाद्र २०७३ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App