१५ चैत्र २०८० बिहीबार
अर्थ

'प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धि, सम्झौता'

काठमाडौं- वाणिज्य मन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा महत्वपूर्ण द्विपक्षीय सन्धि–सम्झौता हुने सम्भावना रहेको बताएका छन्। मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धि–सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौता प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका हुन्।

उनले शनिबार रिपोर्टर्स क्लबमा बोल्दै प्रधानमन्त्री भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना देखेको भन्दै प्रमको भ्रमणसँगै व्यापारका द्विपक्षीय नयाँ ढोकाहरु खुल्ने पनि बताएका छन्।

नेपालको बजार भनेको नै भारत र चीन भएकाले नेपाली उत्पादनलाई असर नपर्ने गरी डाटा बेस एनलाइसिसमा रहेर सम्झौता गर्नुपर्नेमा जोड दिँदै उनले नेपालले उत्पादन बढाउनुपर्ने धारणा पनि राखे। भारतसँगको व्यापार घाटा कम गर्न पनि नेपालले उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। 'व्यापार घाटा कम गर्न, नेपालले निर्यात बढाउनुपर्छ।'

विशाखापटनम बन्दरगाह तत्काल प्रयोगमा ल्याउनेबारे समेत प्रधानमन्त्रीको भ्रमणको बेला कुरा उठ्ने संकेत गर्दै उनले उक्त बन्दरगाहबाट ल्याउँदा लागत कम पर्ने बताए। बंगलाबन्धु पोर्ट, विशाखापट्नम बन्दरगाह प्रयोगको लागि रेलवे आवश्यक पर्ने भएकाले यसबारे भारतले व्यवहारिक रुपमा सहयोग गर्नेमा आफूहरु विश्वस्त रहेको मन्त्री थकालीको भनाइ थियो।

नेपाल डब्लुटिओ, बिमस्टेक र साफ्टाको सदस्य राष्ट्र भएपनि फाइदा लिन नसकेकोमा अहिले समीक्षा भइरहेको समेत उनले जनाए।

अर्को एक प्रसंगमा मन्त्री थकालीले लाइसेन्स प्राप्त फर्मको अनुगमन गर्ने र गलत गरेको पाइए तत्काल कारबाही गर्ने चेतावनी दिए।

इजाजत प्राप्त फर्महरुले कानुन विपरीत काम गरे, कालोबजारी गरे र कृत्रिम अभाव सिर्जना गरेको पाइए ती फर्महरुलाई कारबाही गरेरै छाड्ने चेतावनी उनको थियो। 'वाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कन पाउँदैन, त्यसलाई कानुनी कारबाही गरेरै छोड्छु।'

मन्त्रीले गलत गर्नेलाई कारबाही गर्दा कोही कसैले अवरोध गरे वा दबाब दिए आफू एक इन्च पनि नडगमगाउने दाबी गरे। उनले थपे, 'कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कसैले संरक्षण गर्छु भनेर कसैले नसोचे हुन्छ। प्रधानमन्त्री वा पार्टीको दबाब आए पनि म सुन्नेवाला छैन।'

प्रकाशित: १९ भाद्र २०७३ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App