१६ चैत्र २०८० शुक्रबार
अर्थ

अदुवा निकासी रोकिँदा किसान मर्कामा

इलाम- नेपाली अदुवामा हानिकारक विषादी पाइएको भन्दै भारतीय पक्षले लिन छाडेपछि सयौं किसान र व्यापारी मारमा परेका छन्। मध्य सिजनमै अदुवा निकासी रोकिएपछि कुहिने डरले किसानलाई सताएको छ। काँकडभिट्टा नाकाबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ। अदुवा बोकेका एउटै गाडी भारत गएका छैनन्। निकासी रोकिँदा व्यापारीले किसानबाट किनेको ठूलो परिमाणको अदुवा गोदाममै छ। केही किसानले व्यापारीलाई अदुवा बेचिसकेको भए पनि केहीले माउ निकाल्नै बाँकी छ।

बरबोटे–१, तोरीबारीका किसान चूडामणि अधिकारीले यो वर्ष करिब ५० मन (१ मनबराबर ४० किलो) अदुवा रोपेका थिए। यसबाट करिब ४५ मन माउ आउने उनको अुनमान थियो। उनले अदुवा खनिसकेका छन् तर बेच्न बाँकी छ। ‘अब व्यापारी लिन आउलान् भन्ने लागेको थियो, भारतमा निर्यात रोकिएपछि अन्योल भएको छ,' उनले भने, ‘व्यापारीले अलि दिन पर्खनु भनेका छन्।' उनले आफूले अदुवामा विषादी प्रयोग नगरेको दाबी गर्दै निर्यात रोकिए आफूसहित सयौं किसान घाटामा पर्ने बताए। ‘अहिले गरेको खेतीबाट करिब २ सय मन अदुवा फल्ला भन्ने अनुमान छ तर विषादीकै कारणले अब भारतले अदुवा लगेन भने त हामी डुब्छौं,' उनले भने, ‘माउ बेचेर त खर्च पनि उठ्दैन।'

उनले खेती लगाउँदा अदुवाको बीउ प्रतिमन २ हजार ५ सय रुपैयाँ थियो। यो हिसाबले उनले बीउमा मात्रै १ लाख २५ हजार रुपैयाँ खर्च गरेका छन्। ‘अदुवा रोप्ने बारी बनाउन, मल, रोपाइँ, गोडमेल, माउ र तयारी अदुवा निकाल्न धेरै खर्च लाग्छ,' उनले सुनाए, ‘अदुवा त हाम्रो जीवन धान्ने खेती भइसकेको छ।'

बरबोटेकै अर्का किसान नारायण पौडेलले भने अदुवाको माउ निकालेका छैनन्। माउ निकालेर बेच्ने बेला निकासी रोकिएको सुनेर आफू अन्योलमा रहेको उनले बताए। ‘करिब १० मन रोपेको छु तर माउ निकाल्ने बेला निकासी रोकिएको सुनेर अब के गर्ने भन्ने अन्योल छ,' उनले भने, ‘केही दिनभित्र माउ निकालेर नबेचे बारीमै कुहिएर जान्छ।' किसानले साउनदेखि अदुवाको माउ निकाल्छन्। साउन र भदौ माउ व्यापारको मुख्य सिजन हो।

जिल्लाको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेलको गोदाममा अहिले ५ सय क्विन्टल अदुवा छ। किसानबाट किनेर बेच्नुअघि नै निर्यात रोकिएकाले उनी पनि अन्योलमा छन्। ‘किसानबाट किनेको अदुवा बेच्न नपाएर दुईचार  दिन राख्नुपर्‍यो भने सुकेर आधा घट्छ,' उनले भने, ‘त्यसको केही दिनमा त कुहिएरै सकिन्छ।' उनले किसानबाट सरदर प्रतिमन हजार रुपैयाँ दरले किनेको अदुवाको ढुवानी, गोदाम, लोड–अनलोडले पनि खर्च बढिसकेको बताए। ‘अकस्मात अदुवा लिन भारतले रोकेपछि लाखौं रुपैयाँको अदुवा खेर जाने सम्भावना छ,' उनले भने, ‘केही छिट्टै यसको निकास ननिकालिए व्यापारी र किसानको लाखौं रुपैयाँ लगानी डुब्छ।' व्यापारीका अनुसार बिब्ल्याँटे बजारबाट मात्रै बर्सेनि करिब १० करोड रुपैयाँको अदुवा कारोबार हुन्छ। माउ बेच्ने बेला यहाँबाट करिब ३ करोड रुपैयाँको कारोबार हुने गरेको पौडेलले बताए।

जिल्लाको पूर्वी व्यापारिक केन्द्र फिक्कलनजिकै गोदक–५ का व्यापारी सुवास राईको गोदाममा करिब २ सय क्विन्टल अदुवा छ। मंगलबारदेखि भारतले अदुवा नलिएको थाहा पाएका उनले किन र कहिलेसम्मका लागि रोकिएको भन्ने जानकारी नभएको बताए। ‘मैले अदुवा व्यापार गरेको १९ वर्ष भयो, अहिलेसम्म यस्तो अवस्था आएको थिएन,' उनले भने, ‘किसानबाट अदुवा किनियो, दुईचार दिनमा बिकेन भने हाम्रो लगानी खरानी हुन्छ।' उनले किसानबाट प्रतिमन एक हजार ५ सय रुपैयाँसम्मका दरले अदुवा किनेका थिए।

गोदक–१ का व्यापारी पप्पु पेडियालको गोदाममा पनि चार सय क्विन्टल अदुवा छ। उनी भन्छन्, ‘किसानलाई अदुवा किनेको दाम तिर्न छँदैछ, एक ट्रक अदुवा यहाँबाट सिलिगुडी पुर्‍याउँदा भाडाबाहेक २७ हजार रुपैयाँ खर्च हुन्छ।' उनले अदुवा निर्यात सहज नभए व्यापारमा ठूलो घाटा लाग्न सक्ने बताए।

गाउँका व्यापारीले किसानलाई चामललगायत दैनिक उपभोग्य सामान दिएर नगदेबालीमा भाउ मिलाउँछन्। यसो गर्दा कहिले किसान त कहिले व्यापारीलाई समस्या आउँछ। गोदकका व्यापारी राई भन्छन्, ‘पछि अदुवाको माउ लैजाउँला भनेर गाउँमा सौदा लगानी गरियो, अदुवा उठाएर ल्याइयो पनि तर बेच्न पाइएन।' उनले सम्बन्धित निकायले अदुवा निकासीमा पहल गर्नुपर्ने बताए।

भारतीय केन्द्रीय खाद्य विभागले नेपालसँग नाका जोडिएका आफूअन्तर्गतका निकायलाई पत्राचार गर्दै नेपाली अदुवामा मिसावट रहेको जानकारी गराएको छ। तर, उसले अदुवा आयात रोक्नू नभनेको भए पनि अर्काे निर्देशन नआउञ्जेल यस्तै अवस्था रहने ती भारतीय निकायले बताइसकेका छन्।

जिल्लाका बिब्ल्याँटे, मंगलबारे, फिक्कल, नयाँबजारलगायत बजारमा अदुवा किनबेच धेरै हुन्छ। किसानले साउन–भदौमा माउ र कात्तिक–मंसिरमा नयाँ उत्पादन खनेर बेच्छन्। मेची राजमार्गले छोएका कोल्बुङ, हर्कटे, तीनघरे, इलाम, राँकेलगायत बजारमा पनि अदुवा किनबेच  हुन्छ।

गाउँबाट अदुवा पिकअप र घोडालाई बोकाएर बजारमा ल्याइन्छ। स्थानीय व्यापारीले बारीमै पुगेरसमेत अदुवा किन्छन्। यहाँको अदुवा भारतीय बजार नक्सल, बैंगलोर र सिलिगुडी पुग्छ। कृषि विकास कार्यालयले जिल्लामा करिब साढे ३ हजार हेक्टरमा अदुवा खेती हुने गरेको जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७३ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App