७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘नक्कली मुचुल्का’ बनाएर ३७ लाखको गुट्खा गायब

वीरगन्ज-वीरगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका विभिन्न फर्म तथा पसलबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले साउन ३० गते बरामद गरेको गुट्खा जिल्ला प्रशासन कार्यालयबाट गायब भएको छ। जिप्रकामा तयार एउटा मुचुल्कामा भने गुट्खा नष्ट गरिएको उल्लेख छ।

वीरगन्जका विभिन्न ठाउँका चारवटा गोदाममा गरिएको छापामारीमा फेला परेको एक सय ६ बोरा गुट्खा साउन ३२ मा जिल्ला प्रशासन कार्यालय पर्सा पठाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ अनुसारको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डार हुन् । ‘जिल्ला प्रशासन कार्यालयमा ल्याइएको अर्को दिन मैले नष्ट गर्ने निर्देशन दिएको थिएँ, पछि नष्ट गरिएको भन्ने कागजात हेरें, त्यो सुर्तीजन्य पदार्थ राखिराख्नु हुँदैन भनेर नष्ट गर्न लगाएको हो,’ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने, ‘नष्ट नगरेको भन्ने नहुनु पर्ने हो ।’ प्रजिअले गुट्खा नष्ट गरिएको सम्बन्धी देखेको कागजातमा सही गर्नेलाई भने, यसको जानकारी छैन ।’

मुचुल्कामा सही गर्ने सम्बन्धित कार्यालयका प्रतिनिधिले आफूहरु सहि गरेको भए पनि नष्ट गर्दै गरेको आँखाले नदेखेको बताए । कार्यालय स्रोतका अनुसार गुट्खा नष्ट नगरीकन गोप्य रुपमा पुनः व्यापारीलाई नै दिइएको छ । ‘गुट्खा जलाइएको वा नष्ट गरिएको भन्ने हामीलाई थाहा छैन, मलाई त्यसको जानकारी नै आएन, यहाँबाट जिल्ला प्रशासन कार्यालयले बोलाएको प्रतिनिधिलाई कागजमा सहीमात्र गराएर फिर्ता पठाइएको खुलेको छ,’ पर्सा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने, ‘यहाँबाट गएको प्रतिनिधिसँग मैले जानकारी माग्दा, सिडियो कार्यालयका सरहरुले सही गर्न लगाएर यत्तिकै फिर्ता पठाइदिएको र नष्ट गरेको आफूले नदेखेको बताएको छ।’

उनले त्यस ‘सई’ उपर कस्तो कारबाही गर्ने भन्ने विषयमा निक्र्यौल हुन बाँकी रहेको उनले बताए। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्य रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अमलेश्वर मिश्रले गुट्खा नष्ट गरिएको भन्ने कागजमा आफूले सही गरे पनि नष्ट गरेको भन्ने नदेखेको र नष्ट गर्ने बेला आफू उपस्थित नरहेको बताए। कारोबारीका अनुसार वीरगन्जका एकजना दलालमार्फत ‘डिल’ गरेर सम्बन्धित व्यापारीले नै गुट्खा फिर्ता लगेका हुन् ।

‘बरामद गुट्खामध्ये २६ बोरा कुहिएको अवस्थामा रहेको, अरु ८० बोरामा खतराको चिह्न नियम अनुसार नभएको र उत्पादन मिति नभएकाले जफत गरेर ल्याइएको थियो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने । १ सय ६ बोराको मूल्य प्रहरीले ३७ लाख बराबर आँकलन गरेको थियो । यस अनुसार २७ लाख बराबरको ८० बोरा गुट्खा पुनः बजारमा जान सक्ने भएको छ।

 

प्रकाशित: १७ भाद्र २०७३ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App