coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महासंघद्वारा उद्योगमन्त्रीको ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मुलुकको अर्थतन्त्र र निजी क्षेत्रका समस्याका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएका छन्। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए।  

गोल्छाले इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको बताए। उद्योगहरूमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धी कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए। कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले सो अवसरमा राखे। महासंघले राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरेको छ।

महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्न समेत सो अवसरमा महासंघकातर्फबाट आग्रह गरे। यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि सो अवसरमा जानकारी गराएको छ।

मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए। महासंघले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिन समेत आग्रह गरेको छ। भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिए। यसबारे भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए।

नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघका तर्फबाट सो अवसरमा सुुझाव दिएको थियो। मन्त्रालयसँगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुुपर्ने धारणा राखेका थिए। साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरेका थिए।

प्रकाशित: १७ माघ २०७९ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App