८ वैशाख २०८१ शनिबार
अर्थ

होटलमा १२ अर्ब लगानी थपिँदै

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौंस्थित होटल वर्णवासको डिजाइन।

मुलुकमा पर्यटक आगमन बढ्ने अपेक्षाले निजी क्षेत्रले होटल व्यवसायमा धमाधम लगानी बढाएको छ। चालु आर्थिक वर्षमा नयाँ होटलमा करिब सवा १२ अर्ब रूपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमै १८ होटलमा १२ अर्ब १७ करोड २४ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। होटलमा करोडदेखि अर्बरूपैयाँसम्म नयाँ लगानी आएको छ । कतिले नयाँ होटल खोल्दैछन् भने पुराना होटलले पनि लगानी थपेर पूर्वाधार विस्तार गरिरहेका छन्।

पछिल्लो समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्मको लगानी बढेको छ। नेपाल होटल संघ (हान) का पदाधिकारीको अनुमानमा निजी क्षेत्र र वैदेशिक लगानीबाट समेतगरी होटलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। सबै होटलको लगानी जोड्दा झण्डै साढे तीन खर्ब हाराहारी पुग्ने हानको अनुमान छ। पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि पनि लगानीकर्ताले लगानी बढाएका छन्। होमस्टेदेखि चेन होटलसम्मको अवस्था हेर्दा झण्डै २५ लाख भन्दा धेरै पर्यटक धान्ने क्षमताको पूर्वाधार तयार भएको छ।

आयुष्मान होटल्स लिमिटेडमा २ अर्ब ५१ करोड रूपैयाँ लगानी हुँदैछ। यो झापाको मेचीनगरमा सञ्चालन हुनेछ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरासमेत रहने कम्पनीले जनाएको छ। होटल इष्टर्न नेपाल प्रा. लि.ले १ खर्ब ६९ करोड, बुढानीलकण्ठ हेरिटेज लिमिटेडमा २ अर्ब ४० करोड रूपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका छन्।

त्यसैगरी मारिया होटल एण्ड रेष्टुरेण्ट प्रा. लि., युवान होटल एण्ड रेष्टुरेण्ट प्रा. लि., हुवालिन होटल एण्ड रेष्टुरेण्ट प्रा. लि., जिन मेन होटल प्रा. लि., मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा. लि., ग्राण्ड सेन्ट्रल होटल प्रा. लि., पशुपति रिक्रिएशन प्रा. लि., आजु होल्डिङ प्रा. लि., हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रा. लि., होटल पञ्चावती प्रा. लि., दोर्जेज् फार्म रिसोर्ट प्रा. लि., लोन्नी चिकेन चप प्रा. लि., प्लेजर नेपाल प्रा. लि., मार्स हस्पिटालिटी ग्रुपमा नयाँ लगानी आएको हो।

नेपालमा साना व्यवसायीदेखि कर्पोरेट हाउसहरूसम्मले होटलमा लगानी बढाइरहेका छन्। काठमाडौं, पोखरा, विराटनगर, झापा, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका ठूला सहरमा नयाँ होटल थपिँदैछन्। कतिपय होटल अहिले निर्माणाधीन छन्। नयाँ थपिने क्रम पनि जारी छ।

होटल व्यवसायीका अनुसार पाँचतारे होटल निर्माण गर्दा एउटा कोठाको लागि करिब एक करोड रूपैयाँ हाराहारी खर्च हुन्छ। भूकम्पपछि केही समय पर्यटकीय गतिविधि शून्य थियो। त्यसपछि कोभिडमा पर्यटन र होटल क्षेत्र निकै प्रभावित भयो। यो वर्ष पर्यटकीय गतिविधि बढेसँगै अहिले विदेशी पर्यटक आगमन बढेको छ।

सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार विदेशी पर्यटक आाएका छन्। कोरोनाको समयमा पर्यटक आगमन निकै कमी थियो। सन् २०२० र २०२१ को तुलनामा निकै बढेको छ। पर्यटन बोर्डका अनुसार सन् २०२२ मा पाँचलाख विदेशी पाहुना भित्रिने अनुमान गरेको भए पनि आगमन निकै बढेको छ। बोर्डको अुनमानभन्दा करिब २३ प्रतिशत बढी पर्यटक आएका छन्। विश्व पर्यटन संगठनका अनुसार कोभिडले थला परेको पर्यटन क्षेत्र लयमा फर्किएको छ। संगठनले २०२२ मा पर्यटन क्षेत्रमा ६० देखि ६५ प्रतिशत सुधार भएको जनाएको छ।

कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा एकै वर्षमा ११ लाख ९७ हजार विदेशी पर्यटक आएका थिए। सन् २०२० मा कोरोनाको कारण विदेशी पर्यटक २ लाख ३० हजार मात्र आएका थिए भने सन् २०२१ मा १ लाख ५० हजार पर्यटक आएका थिए। नेपालमा सबैभन्दा बढी भारत त्यसपछि अमेरिका, बेलायत, अस्ट्रेलिया, चीन, बंगलादेश र युरोपेली मुलुकबाट धेरै पर्यटक आउने गरेका छन्।

प्रकाशित: १६ माघ २०७९ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App