१६ चैत्र २०८० शुक्रबार
अर्थ

हुलाकी राजमार्गका आधा दर्जन पुल अलपत्र

धनगढी- राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक अन्तर्गतका आधा दर्जनभन्दा बढी पुल ठेकेदारको लापरबाहीका कारण तोकिएको म्याद सकिएको वर्षौंसम्म निर्माण हुन सकेका छैनन्। निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ५ वर्षसम्म अलपत्र परेको हो।

केही पुलको काम नै सुरु भएको छैन। सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कमा नहुँदा काम अलपत्र छ। पुल नबन्दा वरपर पिच गर्ने जिम्मा लिएको भारतीय कम्पनी काम नगरी फर्केको छ। राजमार्ग भारतीय सरकार र पुल नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको थियो।

२०६८ जेठ ३१ गते कान्द्रा नदीमा ३० महिनाभित्र बनाउने गरी लामा शाल्पा शेर्पा बिरुवाले ठेक्का लिएको थियो। अहिलेसम्म पुल निर्माण भएको छैन। सोही मितीमा कटनी नदी पुल ३० महिनामा सक्ने गरी विपी कन्सट्रक्सनले जिम्मा लिएकोमा त्यो पनि पूरा भएको छैन। हुलाकी राजमार्ग योजना कार्यालयका सब–इन्जिनियर वीरबहादुर कोलीले सम्झौता अवधिभित्र ठेकेदारले काम नगरिदिएकाले आधाभन्दा बढी पुल बन्न बाँकी रहेको बताए। थपेको म्यादभित्र पनि काम नगरेकाले २, ३ पटकसम्म म्याद थप भइसकेको उनको भनाइ छ। 'ठेकेदारको ढिलासुस्तीले आधा दर्जनभन्दा बढी पुल बन्न बाँकी छन्,' उनले भने, '२–३ पटकसम्म म्याद थपिसक्दा पनि केही पुलको काम पूरा भएको छैन।'

निर्माण व्यवसायीले सम्झौता गरेपछि प्राथमिकता दिएर काम नगर्ने उनी बताउँछन्। 'पुल अहिलेसम्म बन्न नसक्नु ठेकेदारको लापरबाहीले हो,' उनले भने। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका अनुसार यस अन्तर्गत नेपाल सरकारले बनाउने १४ पुलमध्ये ५ वटामात्र बनेका छन्।

मोहना, पथरैया, भुटाह, काँडा र गौरीमा गरी ५ पुल बनेका छन्। मोर्निया, कान्द्रा, कटनी, झरनिया, सुर्मी, पवेरा, कानी, खग्रौला र कनौरीमा गरी ९ वटा बन्न बाँकी छन्। यीमध्यै खग्रौला र कनौरी पुल निर्माणको मात्र पछि टेन्डर भएर समय बाँकी छ। अन्य ७ को सम्झौता अवधि सकिँदा पनि निर्माण भएको छैन। यीमध्ये कानीमा पुलको म्याद सकिँदा कामै सुरु भएको छैन। पवेरामा पिलर ठड्याएर अलपत्र छाडिएको छ। सम्झौता गर्ने ठेकेदार सम्पर्कविहीन भएकाले यी २ पुलको निर्माण अनिश्चित बनेको योजना कार्यालयका लेखा अधिकृत शिखा जोशीले बताइन्।

पटकपटक म्याद थप्दा ठेकेदार साँढा

ठेक्का पाएपछि निर्माण व्यवसायीले तदारुकताका साथ काम गर्दैनन्। समयभित्र काम पूरा नगरे पनि सम्बन्धित निकायले दण्ड, सजाय नगर्ने र सजिलै म्याद थपिदिने गर्दा उनीहरुको मनपरी बढेको योजना कार्यालयका कर्मचारी नै बताउँछन्। 'ठेकेदारले चाहे जति म्याद थप्न पाएकै छन्, किन काम गर्नुपर्‍यो?' एक कर्मचारीले भने। निर्माण व्यवसायीले तोकेको समयमा काम नसके ठेक्का तोड्ने, कालो सूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने लगायत सजाय गर्ने प्रावधान रहेको लेखा अधिृकत जोशी बताउँछिन्। अहिलेसम्म तोकेको समयमा काम पूरा नगर्ने कुनै पनि व्यवसायीलाई दण्ड दिएको उदाहरण छैन। सबै ठेकेदारले आफूले चाहे अनुसार म्याद थप्ने गरेका छन्।

ठेकेदारको पहुँच कार्यालय प्रमुखभन्दा बढी

तोकेको समयमा काम नसके पहिलोपटक ६ महिनासम्म योजना कार्यालय प्रमुखले म्याद थप्ने अधिकार छ। त्यसपछि पनि थप्नु परे विभागले थप्नु पर्छ।  प्रक्रिया अनुसार कार्यालय प्रमुखले सिफारिस गरेर फाइल विभागमा पठाउने गरिन्छ। यहाँ केही ठेकेदारले आफैं फाइल लगेर म्याद थपाएर ल्याउने गरेको कर्मचारी बताउँछन्। 'कार्यालय प्रमुखले फाइल लैजाँदा म्याद नथपिएकोमा ठेकेदारले लगेर थपेर ल्याएका उदाहरण पनि छन,' एक कर्मचारीले भने। कमिसन र राजनीतिक पहुुँचका आधारमा निर्माण व्यवसायीले पटकपटक सजिलै म्याद थप्ने गरेको बुझिएको छ। 'समयमा काम पूरा नहुने मुख्य कारण निर्माण व्यवसायीको मनपरी चल्नु हो,' उनले भने। सबैै कार्यालय अन्तर्गतका ठूला योजनाका काम समयमा सम्पन्न नहुँदा यसरी नै म्याद थपिने गरेको बुझिएको छ। कतिपय निर्माण व्यवसायीले आफूअनुकूल काम नगर्ने कार्यालय प्रमुखलाई नै सरुवा गराउन चलखेल गर्ने गरेको कर्मचारी बताउँछन्।

योजना कार्यालयका प्रमुख तुरन्त मण्डल कमिसन खाएर निर्माण व्यवसायीको म्याद थपिएको भन्ने कुरा गलत भएको बताउँछन्। बन्द, हडताल, आन्दोलनका कारण काममा अवरोध भएकाले म्याद थपिएको उनको तर्क छ।

कैलाली जिल्लामा पर्ने हुलाकी सडक खण्ड निर्माण कार्य ३० महिनाभित्र पूरा गरिसक्नुपर्ने गरी २०६८ मा सुरु भएको थियो। राजमार्ग अन्तर्गत ठूला नदीमा पर्ने पुल निर्माण, जग्गाको मुआब्जा, माटो, ढुंगा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडक निर्माणको जिम्मा भारत सरकारले लिएको हो।

पुल निर्माण बाँकी हुँदा पुलको वरपर गर्नुपर्ने काम जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी काम छोडेर फर्केको छ। 'पुल नबनेकाले वरपर पिच गर्ने काम छोडेर जानुपरेको हो,' हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी जिआर गावरका एक कर्मचारीले भने।

कैलालीमा पवेरा ६ बैजपुरदेखि २ किलोमिटर क्षेत्रफलमा रहेका रुख काट्ने स्वीकृति वन मन्त्रालयले नदिँदा धनगढीदेखि सत्तीसम्मको ६१.२ किलोमिटरमध्ये १८ किलोमिटर निर्माण हुन बाँकी छ।

धनगढीदेखि सत्तीसम्म ६१.२ र टीकापुर–खग्रौला–लम्की २७ किलोमिटर गरेर ८८ किलोमिटर हुलाकी सडक निर्माण गर्न भारतीय कम्पनीले ठेक्का लिएको हो।

कैलाली जिल्लामा सदरमुकाम धनगढीबाट हसुलिया, भजनी, वसन्ता वन क्षेत्र हुँदै सत्तीसम्मको ६१.२ किलोमिटर र लम्कीबाट टीकापुर, खक्रौलासम्मको २७ किलोमिटरमध्ये धनगढीदेखि कटैनीसम्मको करिब ३१ किलोमिटर र भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर निर्माण पूरा भएको छ। यो भागमा १८ किलोमिटर निर्माण हुन बाँकी छ। यस्तै लम्कीदेखि टीकापुर खक्रौलासम्मको २७ किलोमिटर पनि निर्माण पूरा भएको छ।

प्रकाशित: १३ भाद्र २०७३ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App