७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो। गत जेठ २ गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरहवा आउने बताएका थिए। श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो।  

विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरहवा–आबुधाबीका लागि बिज एयरवेजले सातामा तीनवटा उडान गर्नेगरी प्रक्रिया थालिसकेको त्यतिबेलै बताएका थिए। तर अहिले ‘बिजनेस’ अभावको कारण देखाउँदै बिज एयरवेज पछाडि हटिसकेको छ। भैरहवाबाट उडान गर्न आतुर रहेका भनिएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एकाएक किन पछाडि हटिरहेका छन् त ? यसको जबाफ न प्राधिकरणसँग छ, न सरकारसँग। बरु यसअघि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरवेजसमेत भैरहवाबाट काठमाडौं नै फर्किएको छ। चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्स पनि फर्केर काठमाडौं गएको छ।  

यो विमानस्थलमा पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प छ। आन्तरिक उडान पनि प्रतिकूल मौसमका कारण घटेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल शून्यप्रायः छ। कर्मचारी फुर्सदिला छन्। विमानस्थलकै मुख हेरेर अर्बौं लगानी गरेको निजी क्षेत्र पनि निराश देखिएको छ।

अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिनुको मुख्य दोष मौसमलाई दिइएको छ। किनकि पुस र माघका केही दिन भैरहवा आसपास क्षेत्रमा बाक्लो हुस्सु लाग्छ। भिजिबिलिटी नपुगेर उडान अवतरण अवरुद्ध हुन्छ। जजिरा पनि भिजिबिलिटी नपुगेर उडान डाइभर्ट गर्नुपर्ने अवस्था आएपछि काठमाडौं फर्किएको हो। तर पछिल्ला केही दिन मौसममा सुधार भए पनि जजिरा फर्किएको छैन। सुरुमा उसले जनवरी १५ देखि भैरहवाबाटै उडान भर्ने बताएको थियो। तर अहिले मिति सारेर फेब्रुअरी पहिलो साता आउने भनेको छ।

प्राधिकरणका एक अधिकारीका अनुसार चौतर्फी दबाबपछि जजिरा भैरहवा फर्कन तयार भए पनि यथास्थितिमै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भव छैन। अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डअनुरूपका सेवासुविधा प्रयोगमा सहजता ल्याउनुपर्ने माग जजिराको छ।  

प्राधिकरण र विमानस्थलकै अधिकारी यहाँबाट अन्तर्राष्ट्रिय उडान रोकिनुमा मौसम मात्रै दोषी नरहेको स्वीकार गर्छन्। विमानस्थलका महाप्रबन्धक गोविन्द दाहाल भन्छन्, ‘अन्तर्राष्ट्रिय उडान रोकिनुको एउटा कारण मौसम हो तर त्यसबाहेक अरू समस्या पनि छन्, जसलाई राज्य संयन्त्रले नै समाधानको पहल गर्नुपर्छ।’

प्राधिकरणका पूर्वअधिकारीहरू पनि गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल सञ्चालनमा आउन नसक्नुको मुख्य दोष सरकारलाई दिन्छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्छन्, ‘भिजिबिलिटी नपुग्दा अन्तर्राष्ट्रिय उडान रोकियो भनेर तत्काललाई जवाफ दिन सहज भएको छ तर यसको मुख्य कारण राज्यको गैरजिम्मवारीपन हो।’ ठुला दल र ठुला भनिएका नेताहरूले राष्ट्रिय नीति र हितभन्दा बढी आफ्नो राजनीतिक स्वार्थका लागि ठुला आयोजनालाई प्रचारमा ल्याउने गरेको तर सफल सञ्चालनमा ध्यान नदिएको उनको तर्क छ।  

विमानस्थल सफल सञ्चालनका लागि विमान चढ्ने यात्रुको संख्या वृद्धि नै प्रमुख हुने उनले बताए। ‘सातामा तीन चारवटा उडान भरेर मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले व्यावसायिक सफलता पाउन सक्दैन, बिजनेस दिन सकिएन भने एयरलाइन्सहरू फर्केर आउँदैनन्,’ क्षेत्रीले भने। त्यसका लागि सरकारले भारतसँग लिनुपर्ने अनुमति, गर्नुपर्ने सम्झौता गरेर विमानस्थलमा आवश्यक सेवासुविधा उपलब्ध गराउने र यात्रु संख्या वृद्धिका लागि ठोस योजना ल्याउनुपर्ने उनले बताए। क्षेत्रीले भनेजस्तै भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जस लिने सवालमा यसअघिका सबै सरकार प्रमुख, मन्त्री तथा यस क्षेत्रका नेता र सांसद अगाडि छन्। तर उनीहरूले विमानस्थलको व्यावसायिक सञ्चालनमा न चासो दिए न कुनै योजना अगाडि सारे।

यो विमानस्थलको अर्को समस्या हो, भारतले इन्ट्री रुट नदिनु। अधिकारीहरूका अनुसार भैरहवाका लागि उडेका विमान सिमरा हुँदै आउँदा करिब ९÷१० मिनेट समय बढी लाग्छ। घुमाउरो रुटले सञ्चालन खर्च बढाउने भएकाले विदेशी एयरलाइन्सहरूको रोजाइमा भैरहवाभन्दा काठमाडौं नै पर्ने गरेको छ।  

गत जेठमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणकै बेला भैरहवाका लागि इन्ट्री रुट र आइएलएस प्रयोगका सम्बन्धमा छलफल भएको भनिए पनि त्यसलाई प्राथमिकताका साथ उठाउन नसक्नु राज्यको कमजोरी भएको क्षेत्रीले बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकै चरणदेखि सरकारले यी विषयमा पहल गर्नुपथ्र्यो तर सञ्चालनमा आइसक्दा पनि भारतसँग गहन ढंगले कुरा राख्न नसक्नु सरकारको कमजोरी हो,’ क्षेत्रीले भने।  

त्यस्तै यात्रु संख्या वृद्धिका लागि भैरहवाबाट हवाई यात्राको सुविधा लिन चाहने भारतीय नागरिकलाई ‘नो अब्जेक्सन लेटर’ को व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने विमानस्थलका महाप्रबन्धक दाहालले बताए। ‘भारतले आफ्ना नागरिकलाई नो अब्जेक्सन लेटर दियो भने भैरहवाबाट हवाई सेवा लिनेको संख्या बढ्छ तर त्यसका लागि पनि नेपालले कूटनीतिक पहल गर्नुपर्छ,’ दाहालले भने।  

विमानस्थलले गति लिन नसक्नुका अन्य कारण पनि छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध हुनुपर्ने सेवाहरू भिसा, स्वास्थ्य परीक्षण, बिमा, मेन पावर कम्पनीका शाखा अहिलेसम्म भैरहवा ल्याइएकै छैनन्। बिमा, स्वास्थ्य परीक्षण, भिसा आदिका लागि काठमाडौं नगई नहुने भएकाले ती काम गर्न गएकाहरू फेरि फर्केर भैरहवा सितिमिती नआउने महाप्रबन्धक दाहालको अनुभव छ।  

त्यसो त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए काठमाडौंको बिजनेसमा असर पर्ने आशंकाबीच यी सेवासुविधा विस्तारमा जानाजान ढिलाइ गरिएको चर्चा पनि सुनिन थालेको छ। बुटवल–नारायणगढ सडकको दुरवस्थाका कारण नवलपरासी पश्चिमका यात्रुलाई भैरहवा आउनभन्दा काठमाडौं जान छिटो र सहज छ। यी विविध कारणले यात्रु संख्या कम हुने र बिजनेस अभावमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरू भैहरवाबाट उडानका लागि अनिच्छुक देखिएको प्राधिकरणका अधिकारीको विश्लेषण छ।  

प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्छन्, ‘अर्बौंको ऋण लिएर बनाइएका यस्ता ठुला आयोजनालाई नै सेतो हात्ती बनाइयो भने त्यसले देशको अर्थतन्त्रलाई तहसनहस बनाउन बेर लाग्दैन।’ विमानस्थल निर्माणकै चरणमा रुट, आइएलएस प्रयोग अनुमतिजस्ता अत्यावश्यक विषयमा छिमेकी मुलुकसँग पहल गर्नुपर्नेमा अहिलेसम्म राज्य उदासीन देखिएको उनले बताए। ‘हवाई रुट, प्राविधिक समस्या समाधानमा सहमति, यात्रु संख्या वृद्धि गर्न भारतीय नागरिकलाई एनओसी प्रदान गर्ने सवालमा भारतलाई आग्रह गर्ने जस्ता विषयमा सरकारले उच्चस्तरीय संयन्त्र बनाएर काम अगाडि बढाउन सक्छ,’ क्षेत्रीले भने।  

हाल देखिएका समस्याको हल गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सहरू आउने वातावरण सिर्जनामा राज्यको ध्यान जानुपर्ने बताउँछन् सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका पूर्वअध्यक्ष रामकुमार शर्मा। ‘भारतसँग लिनुपर्ने अनुमति र गर्नुपर्ने सहमतिहरू त छँदै छन् तर राज्यले गर्नसक्ने बिमा, भिसा, स्वास्थ्य परीक्षण, श्रमजस्ता आवश्कयक सेवा विस्तारमा किन ढिलाइ भइरहेको छ ?’ शर्माले प्रश्न गरे। सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलको व्यावसायिक सफलताका लागि अन्य क्षेत्रको विकास र विस्तारका योजनालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताए।

देशको युवा जनशक्ति विदेश पलायन हुने ट्रान्जिटको रूपमा यो विमानस्थललाई परिणत हुन नदिन पर्यटन लक्षित कार्यक्रम र योजनाहरू ल्याउनुपर्नेमा उनले जोड दिए। सरकार र निजी क्षेत्रको सहकार्यमा विमानस्थलबाट नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र अन्य पर्यटकीय क्षेत्रको विकास र विस्तारका योजना बनाउनुपर्ने उनले बताए। श्रीलंका, थाइल्यान्ड म्यानमार, मंगोलिया, भियतनाम, चीनजस्ता बुद्धिस्ट मुलुकसँग लुम्बिनीलाई प्रत्यक्ष जोड्न सकिने बताए।  

निजी क्षेत्रको सय अर्ब जोखिममा  

करिब एक दशकअघि भैहरवा विमानस्थललाई अन्तर्राष्ट्रियमा स्तरोन्नति गर्ने योजना ल्याइँदा यहाँको निजी क्षेत्र निकै उत्साहित थियो। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको पर्यटन क्षेत्र गुल्जार हुने अपेक्षा थियो। विश्वशान्तिको क्षेत्र लुम्बिनीसँग बाह्य मुलुकको सिधा हवाई सम्पर्क स्थापित हुँदा पर्यटन क्षेत्रमा उवार आउने आशा गरिएको थियो। त्यही आशामा यहाँको निजी क्षेत्रले भैरहवा, बुटवल, लुम्बिनी र आसपासका क्षेत्रमा अर्बौं लगानी गर्‍यो। धमाधम सानादेखि ठुला र स्टार होटल खोलिए। नेपाल एसोसिएसन ट्राभल्स एन्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष विष्णु शर्माले विमानस्थललाई ध्यानमा राखेरै निजी क्षेत्रले एक सय अर्ब बढीको लगानी गरेको बताए।  

राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित यो विमानस्थलले वार्षिक २० लाख यात्रुलाई सेवा दिने लक्ष्य लिइएको थियो। प्रारम्भमा दैनिक १० वटा उडान गर्ने लक्ष्य लिइएकोमा त्यसलाई बढाउँदै लगेर सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने भनिएको थियो। तर सरकारको अदूरदर्शिताका कारण विमानस्थलले व्यावसायिक सफलता पाउनेमा आशंका पैदा भएको छ।  

२०२३ सालमा पहिलो पटक आन्तरिक विमानस्थलको रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाले शिलान्यास गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंसरह उडान–अवतरण क्षमताको भैरहवा विमानस्थलमा चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँचवटा विमान पार्किङ क्षमता छ। विमानस्थलको रनवे ३ हजार मिटर छ। हालसम्म यो विमानस्थलबाट १५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। जसबाट १३ हजार ५९३ यात्रु आएका छन् भने १८ हजार २५ जना बाहिरिएका छन्।  

अन्तर्राष्ट्रिय उड्डयन कम्पनीहरूलाई आकर्षित गर्ने उद्देश्यले अवतरण शुल्क, विमान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिइएको छ। तर छुट सुविधा दिइए पनि यो विमानस्थलप्रति अन्तर्राष्ट्रिय बिमा कम्पनीहरू आकर्षित हुन सकिरहेका छैनन्।

प्रकाशित: १४ माघ २०७९ ००:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App