८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थतन्त्र सुधारोन्मुख हुँदै छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र भर्खर सुधारतर्फ उन्मुख हुदै गएको बताएका छन्। उदयपुरको बेलटारमा बिहीबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले नेपाली अर्थतन्त्र पछिल्लो केही महिनायता सुधारतर्फ अघि बढ्दै गएको बताएका हुन्।  

गभर्नर अधिकारीले कोविड कहर र विश्व राजनीतिक उतारचढावका कारण धरासायी हुँदै गएको नेपालको अर्थतन्त्र सुधार हुँदै गएकाले अव अव छिट्टै अर्थबजारमा सकारात्मक परिणाम देखिन थाल्ने अपेक्षा गरिएको पनि बताए। विश्वव्यापी महामारी कोविड कहरसँगै विश्वको राजनीतिक उतारचढावले खस्केको अर्थतन्त्रमा पछिल्लो ४ महिनायता सुधार आएको दाबी गरे।  

‘कोविड कहरदेखि विश्व राजनीतिक उतारचढावले गर्दा निरन्तर घाटातर्फ गएको नेपाली अर्थतन्त्र गत असोजयता सुधारोन्मुख देखिएको छ’ अधिकारीले भने ‘नेपाली अर्थतन्त्र यति धेरै कमजोर हुनुको मुख्य कारण आन्तरिकभन्दा वाह्य समस्या नै हो।’ केही महिनायता अर्थतन्त्र सुधारका केही सूचकहरु देखिन थालेको उनको भनाई थियो।  

अर्थतन्त्र सुधारका लागि साना व्यवसायीलाई संरक्षण गर्ने खालका नीति बनाइएको बताउँदै गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान थालिएको पनि बताए। वित्तीय सुधारका लागि ‘विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रम’ समेत लागू गरेर विद्यार्थी अवस्थाबाटै नागरिकलाई बैंकसम्बन्धी जानकारी दिन सुरु गरिएको उनले बताए।  

गभर्नर अधिकारीले चौदण्डीगढी नगरपालिका ६ बेलटार बजारस्थित ज्योति माध्यमिक विद्यालय प्रांगणमा निर्मित सरस्वति मन्दिरको उद्घाटन पनि गरे। स्वर्गीय भतिज र भतिजीको स्मृतिमा उनका सहोदर दाजु चौनपा ७ का केशब अधिकारीले निर्माण गरिदिएको मन्दिरको उनले उद्घाटन गरेका ह्न्।  

केशब अधिकारीले २५ वर्षीय छोरा युगान्त र १९ वषीया छोरी अनुजाको स्मृतिमा मन्दिर निर्माण गरिदिएको प्रधानाध्यापक ९प्रअ० राजकुमार ओझाले बताए। प्रअ ओझाका अनुसार विद्यालय परिसरमा छोरा र छोरीको स्मृतिमा अधिकारीले १५ लाख रुपैयाको लागतमा सरस्वति मन्दिर निर्माण गरिदिएका हुन्।  

कार्यक्रममा प्रअ ओझाले विद्यालय स्थापनादेखि हालसम्म भए गरेका शैक्षिक गतिविधी, भौतिक प्रगति तथा अन्य विषयमाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। कक्षा शिशुदेखि १२ सम्म अध्ययन अध्यापन हुदै आएको ज्योति मावि चौदण्डीगढी नगरपालिकाकै नमूना विद्यालय पनि हो। विद्यालयमा प्राविधिक धार र साधारणतर्फ गरी १ हजार ६ सय विद्यार्थीले पठनपाठन गर्दै आएको प्रअ ओझाले बताए। सरकारको सामुदायिक विद्यालयतर्फ ‘एक स्थानीयतह एक नमूना विद्यालय’ कार्यक्रम अनुसार सो विद्यालय चौदण्डीगढीको नमूना घोषित विद्यालय हो।  

प्रकाशित: १२ माघ २०७९ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App