१५ चैत्र २०८० बिहीबार
अर्थ

चोर बाटोबाट करोडौंको बिस्कुट

विराटनगर- एसियन बिस्कुट एन्ड कन्फेसनरीका प्रबन्ध निर्देशक महेश जाजुको ह्वाट्सअपमा बिस्कुटको र्‍यापरको फोटो लगालग आयो। भारतीय बिस्कुटको र्‍यापर हेरेर उनी चकित भए। ब्रिटानिया कम्पनीको ३ सय ग्रामको बिस्कुटमा र्‍यापरको एउटामा बिक्री मूल्य ७० र अर्कोमा बिक्री मूल्य २८ रूपैयाँ उल्लेख थियो।

मारियो गोल्ड ब्रान्डको ब्रिटानियाको ७० रूपैयाँ एनआरएस कोड गरिएको बिस्कुट भन्सार तिरेर नेपालमा बिक्रीका लागि आयात गरिएको र एमआरपी २८ रूपैयाँ उल्लेख गरिएको त्यही ब्रान्डको एउटै तौलको बिस्कुट चोर बाटोबाट नेपाल आएको जाजुले अड्कल गरिहाले। ‘भारतमा उत्पादित बिस्कुटको नेपाली बजारमा अवैध जालो छ,’ उनले भने, ‘भन्सार तिरेर जति भारतीय बिस्कुट नेपाल आउँछ, त्यसको दोब्बर परिमाणमा चोर बाटोबाट भित्रिन्छ।’

पूर्वी नाका बिर्तामोड, काँकडभिट्टा, जोगवनी र पश्चिमी नाका भैरहवाको चोर बाटोबाट मात्रै १ सय ५० करोड रूपैयाँभन्दा बढीको भारतीय बिस्कुट नेपाल भित्रिने गरेको बिस्कुट व्यवसायीको अनुमान छ। झोलेपोके, साइकल र क्यारिङमार्फत भारतीय बिस्कुट नेपालमा आउने गरेको जानकारी बिस्कुट व्यवसायीले सरकारी अधिकारीलाई गराइसकेका छन्। ‘चोर बाटोबाट आउने भारतीय बिस्कुटको कारण नेपाली बिस्कुट उद्योग धराशयी हुँदै गएको छ,’ नेपाल बिस्कुट संघका उपाध्यक्ष समेत रहेका उद्योगपति जाजुले भने, ‘यो समस्याबारे भन्सार विभाग र राजस्व विभागलाई समेत जानकारी गराइसकेको छु।’

चोर बाटोबाट आउने भारतीय बिस्कुट नेपाली बजारमा सस्तोमै बिक्री हुँदा नेपाली बिस्कुट उत्पादकलाई समस्या परेको छ। जस्तो, सीमावर्ती भारतीय बजार फारविसगन्जमा २८ रूपैयाँ भारूमा खरिद गरिएको ३ सय ग्रामको ब्रिटानियाको मारिया गोल्ड बिस्कुट चोर बाटोबाट आए विराटनगरमा ४० रूपैयाँमा पाइन्छ। तर, सोही परिमाणको त्यही बिस्कुट भन्सार तिरेर आए ७० रुपैयाँ पर्छ। ‘यही मार्जिनको फाइदा उठाउँदै भारतीय बिस्कुट चोर बाटोबाट नेपाल आइरहेको छ,’ जाजुले भने, ‘बिस्कुटको अवैध आयात नरोकिए नेपाली बिस्कुट उत्पादकको अवस्था नाजुक हुन्छ।’

ब्रिटानिया कम्पनीकै २ सय ५० ग्रामको गुड–डे बिस्कुट भन्सार तिरेर नेपाल आए बजार मूल्य७५ रूपैयाँ छ। त्यही बिस्कुट चोर बाटोबाट ल्याए ३०भारु मात्र पर्छ। अर्थात नेपाली ५० रूपैयाँ। व्यवासायीका अनुसार भारतबाट चोर बाटो आउने बिस्कुट लगभग म्याद गुज्रने बेलामा आइपुग्छ। बिस्कुट उत्पादन भएको मितिदेखि ६ महिनाभित्रमा खाइसक्नुपर्छ। तर, चोर बाटो आउने भारतीय बिस्कुट३ देखि ४ महिना म्याद नाघिसकेपछि मात्रै नेपाल आउँछ।

बिस्कुटको कच्चा पदार्थ मैदा, घिउ र चिनी नेपालभन्दा भारतमा सस्तो छ। नेपालमा भारत र तेस्रो मुलुकबाट भन्सार तिरेर वार्षिक १ अर्ब ५० करोड रूपैयाँको बिस्कुट आयात हुन्छ। भन्सारमा आयात हुने बिस्कुटलाई किलोको १ सय २० रूपैयाँ मूल्यांकन गरी ३५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) तिनुपर्छ। वैध बाटोबाट आउने विदेशी बिस्कुट र नेपालमा उत्पादन हुने बिस्कुटको मूल्य लगभग एकै खालको हुन्छ। त्यसले बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ। ‘तर, चोर बाटोबाट आएको बिस्कुट कम मूल्यमा बिक्री हुन्छ,’ जाजुले भने, ‘अनि महँगो बिस्कुट कसले किन्छ?’

भारतको चर्चित कम्पनी ब्रिटानिया, पार्ले र अनमोलका बिस्कुट अधिकतर चोर बाटोबाट नेपाल आउने गरेको बिस्कुट व्यवसायीको भनाइ छ। पार्ले–जीको ग्लुकोज बिस्कुट नेपालमा उत्पादन हुँदैन। भारतमा १० रूपैयाँ प्याकेट पाइने ग्लुकोज बिस्कुट पनि चोर बाटोबाट नेपाल ल्याएर २० रूपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ। बिस्कुट उत्पादक संघले चोर बाटोबाट आउने बिस्कुटको आयात रोक्न बजारमा छापा मार्नुपर्ने माग गरेको छ।

भन्सार र राजस्व विभागले सीमामा कडाइ गर्ने र बजारमा छापा मारेर एनआरएस नलेखिएको विदेशी बिस्कुट भेटिए जफत र कारबाही गर्ने आश्वासन पाएको जाजुले बताए। नेपालमा बिस्कुटको ४० वटा उद्योग छन्। जसमध्ये आधा बन्द छन्। चालु अवस्थाका बाँकी बिस्कुट उद्योगलाई भने चोर बाटोबाट आउने विदेशी बिस्कुटले समस्या पारिरहेको छ।

               

प्रकाशित: ९ भाद्र २०७३ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App