८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमा ‘बर्बोन कफी’को बाहुल्य

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको ‘कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले नेपाल बर्बोन कफीको देश भएको निष्कर्ष निकालेको छ।

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययनसहितको प्रतिवेदन सोमबार एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ।

इयु नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक सहयोगमा भएको सो अध्ययनले प्रतिवेदनले एकै किसिमको आणुवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव दिएको छ। अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए।

यो अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक जीतनारायण चौधरीले नेपालमा किसानले आफ्नै तरिकाले कफीको स्थानीय नाम राखेको र आधिकारिक रूपमा कफीको जातको नामकरण नभएको अवस्थामा नेपालमा उपलब्ध भएका कफीका आणुवांशिक जातका बारेमा पहिचान गर्न यो अनुसन्धान गरिएको बताए।

नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफीको जात छनौट, कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ। किसानलाई कफीका विरूवाहरू वितरण गरिरहेका सरकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना बिरूवाहरू संकलन गरिएका थिए।

यस अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिका मध्ये ९८ प्रतिशत बर्बोन आणुवांशिक पृष्ठभूमि रहेको देखिएको छ। ‘बर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकूल रहेकाले यस जातकै आणुवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकाले नेपालका लागि यो ठूलो जोखिम पनि हो,’ प्रतिवेदनमा भनिएको छ। ‘ठूलो मात्रामा बर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो।’

यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणुवांशिक विविधता कायम गरिरहेको देखाएको छ। अध्ययनको क्रममा संकलन गरिएका नमुनामध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए। कुल नमुनाहरू मध्ये ७१ प्रतिशत बर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए। युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धि गर्दै आइरहेको बताए। 

प्रकाशित: १० माघ २०७९ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App