८ वैशाख २०८१ शनिबार
अर्थ

घर-जग्गा राजस्व १३ अर्ब नाघ्यो

काठमाडौं- बढ्दो बसाइँसराइले घरजग्गा कारोबार बढेको छ। सकेसम्म सहरी क्षेत्रमा बस्ने रुचि,कमाइपछि पहिलो आम्दानीघरजग्गामा लगानी गर्नेक्रम बढेपछि कारोबार बढेको हो।यसले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष ०७२/७३मा १३ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। जुन अघिल्लो वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ बढी हो। आव ०७१/७२मा घरजग्गा किनबेच कारोबारबाट करिब १० अर्ब रुपैयाँ संकलन भएको थियो।

रोजगारी, व्यवसायको लागि सहर पसेका, कमाउन बिदेसिएकाहरुलेे घर–जग्गालाई पहिलो प्राथमिकतामा राख्ने गर्छन्।गत आवको सुरुमा भूकम्पको केही असर देखिए पनि जग्गा खरिद–बिक्री निकै बढेपछि राजस्व संकलन बढेको विभागले जनाएको छ।

सहरी क्षेत्रमा किनबेच बढेपछि राजस्व संकलन भएको विभागका निर्देशक सम्मरबहादुरसिंह ठकुरीले बताए। 'पैसा हुनेले घर–जग्गालाई लगानी गर्ने उपयुक्त क्षेत्रको रुपमा लिएका छन्,' उनले भने, 'यसले राजस्व बढाएको हो।'

पैसा हुनेले घर–जग्गालाई कमाउने माध्यमको रुपमा लिएका छन्। भूकम्पले खस्किएको हाउजिङ व्यवसायसमेत पछिल्ला महिनामा बढेको छ। काठमाडौं उपत्यकामा वार्षिक ४० हजार घर बन्ने गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। ग्रामीण र पहाडी इलाकाबाट सहरी क्षेत्रमा बसाइँसराइको चाप बढेकोले जग्गा किनबेच बढेको हो। भूकम्पपछि घर भत्किएकाले नयाँ घर बनाउनको लागि पनि जग्गा किनबेच बढेको हो।

हाउजिङमा आकर्षण बढेको सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले बताए। 'गुणस्तर दिन सके हाउजिङप्रति सबैको आकर्षण छ,' तामाङले भने, 'त्यसैले नयाँ स्मार्ट सिटी बनाउने तयारी गरेका छौं।'

बैंकमा ब्याज कम, उद्योगधन्दामा लगानी गर्दा असुरक्षित ठानेर आम्दानी हुनेले लगानी गर्ने सुरक्षित क्षेत्र जग्गा कारोबारलाई छानेका छन्।

कमाइहुनेको लगानीको पहिलो रोजाइ घरजग्गा देखिएको भूमिसुधार मन्त्रालयका सूचना अधिकारी नारायण पाण्डेले बताए। 'अस्थिर राजनीतिले उद्योगधन्दा भन्दा घर–जग्गामै लगानी गर्ने बढेका छन्,' पाण्डेले भने, 'विदेशबाट आएको अधिकांश रेमिट्यान्स घरजग्गामै लगानी गरेको देखिन्छ।  विदेशमा कमाएको पैसा पनि यही क्षेत्रमा लगानी गरेका छन्।'

२०६६ मा घरजग्गामा अचाक्ली लगानी बढेपछि नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको थियो। त्यसपछिका केही वर्ष सुस्ताएको कारोबार पछिल्ला वर्षमा बढेको हो।

सरकारले आयस्रोतमा निगरानी बढाएपछि आम्दानीलाई वैध बनाउन यसमा लगानी गर्ने गरेको सरकारी अधिकारी बताउँछन्। घर–जग्गा कारोबार गर्नेले सरकारी मूल्यांकनभन्दा केही बढी मूल्यमा कारोबार गरेको देखाएर राजस्व तिर्ने गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग लगायत सरकारी निकायहरुले पछिल्लो समय आयस्रोत खोज्न निगरानी बढाएपछि आयस्रोत खुलाउन नसकेर कारबाहीमा परिने डरले घर–जग्गा किनबेच देखाउने पनि उत्तिकै रहेको अधिकारी बताउँछन्।

घर–जग्गामाबैंक तथा वित्तीय संस्थाको ठूलो लगानी छ। आव०७२/७३मा बैंक, वित्तीय संस्थालेघर–जग्गामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। व्यक्तिगत रुपमा खर्बौं लगानी छ।

हुनेखानेमात्र नभएर सामान्य आम्दानी हुनेले पनि जग्गामा लगानी गरेका छन्। केही रकम जम्मा हुनासाथ थप रकम बैंकबाट ऋण लिएर जग्गा किन्ने बढेका छन्।

उपत्यकापछि चितवन, भैरहवा, पोखरा लगायत क्षेत्रमा जग्गाको भाउ र कारोबार अचाक्ली बढेको छ। भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रम अघि बढेपछि त्यहाँ लगानी गर्न सबै उत्सुक भएका हुन्।

घर–जग्गा कारोबार निकै बढेर नियन्त्रणबाहिर जाला भन्ने डरले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घर–जग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिएको छ। नयाँ नीतिअनुसार घरजग्गामा धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ। रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था गरिएको छ। रियल इस्टेट कर्जामा हाल धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था छ।

प्रकाशित: २ भाद्र २०७३ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App