coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र ६५ प्रतिशत ‘रिकभर’

सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १४८ जना विदेशी पाहुना भित्रिए। कोरोना भाइरस संक्रमण सुरु भएपछि विदेशी पर्यटक आगमनको यो संख्या अहिलेसम्मकै बढी हो। यसअघि २०२० र २०२१ को वर्षभरिको आगमनको तुलनामा २०२२ को आगमनमा निकै नै सुधार देखिएको पर्यटन व्यवसायीले बताएका छन्।  

विदेशी पाहुना आगमनको यो संख्यासँगै सरकारले राखेको वर्षभरि (२०२२) को विदेशी पाहुना आगमनको लक्ष्य नाघेको छ। कोरोना भाइरस संक्रमणपछिको यो वर्ष सरकारले वर्षभरिमा पाँचलाख विदेशी पर्यटक भित्रिने अनुमान गरेको थियो। वर्षभरिमा हवाई माध्यममार्फत नेपाल भित्रिने विदेशीको संख्या ६ लाख १४ हजार १ सय ४८ पुगेको पर्यटन बोर्डको तथ्यांक छ।

बोर्डका निर्देशक मणिराज लामिछानेले सरकारले सन् २०२२ मा पाँचलाख विदेशी पाहुना भित्रिने अनुमान गरेकोमा त्यो भन्दा निकै नै बढी पाहुना आएको बताए। सरकारी लक्ष्य भन्दा करिब २३ प्रतिशत बढी पाहुना नेपाल भित्रिएको लामिछानेको भनाइ छ। त्यसबाहेक विश्व पर्यटन संगठन –युएन–डब्लुटिओ) ले पनि पछिल्लो समय पर्यटनमा सुधार हुँदै गएको देखाएको थियो। कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्र पछिल्लो समय सुधारको लयमा फर्केको संगठनको भनाइ छ। संगठनले २०२२ मा पर्यटन क्षेत्रमा ६० देखि ६५ प्रतिशत सुधार हुने प्रक्षेपण गरेको थियो। ‘युएनडब्लुटिओले २०१९ को तुलनामा पर्यटन क्षेत्रमा २०२२ मा ६५ प्रतिशत रिकभर हुने भनेको थियो,’ उनले भने, ‘नेपाल भित्रिएका पाहुनाको आगमनले पनि यूएनडब्लुटिओको अनुमानलाई पुष्टि गरेको छ। अब नेपालको पर्यटन क्षेत्र ग्रिनजोनमा फर्किसकेको छ।’ सरकारी लक्ष्यभन्दा २३ प्रतिशतमाथि पर्यटक भित्रिनुले पर्यटन क्षेत्रमा आशावादी तुल्याएको उनले बताए। लामिछानेको अनुमानमा अब कुनै अवरोध नआउने र कोरोना संक्रमण मत्थर हुँदै जाने हो भने नेपालले २०१९ मा हवाई माध्यममार्फत भिœयाएजति विदेशी पाहुना २०२३ को दोश्रो सिजन (सेप्टेम्बर–अक्टोबर) तिर भिœयाउन सक्नेछ। विश्वव्यापी रूपमा पनि २०२३ को अन्तिमसम्ममा विश्व पर्यटन बजार २०१९ को हाराहारीमा उक्लिने अनुमान छ। नेपालले पनि सेप्टेम्बर–अक्टोबरसम्म त्यो आकार लिइसक्ने उनले बताए।  

सन् २०१९ मा जति पाहुनाको आगमन यो वर्षभित्रै पुग्नेमा लामिछानेको विचारमा दुई कारण बढी सहयोगी छन्। ती हुन्, पोखरा र भैरहवामा यसैवर्ष सञ्चालनमा आएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल। गत जेठमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चारदिन अघि मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन्। यी दुवै विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सञ्जाल बिस्तार हुने हुँदा यो वर्षको विदेशी पाहुना आगमन बढ्ने अपेक्षा रहेको लामिछानेको भनाइ छ।

‘दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल यहीवर्ष देखि सञ्चालनमा आएका छन् । अहिलेसम्म नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी एउटा विमानस्थलमार्फत थियो। अब तीनवटा विमानस्थलमार्फत हाम्रो हवाई सेवा अन्तर्राष्ट्रिय सञ्जालसम्म पुगेको छ,’ उनले भने, ‘त्यसले गर्दा पाहुना आउनेमा आशावादी हुन सकिन्छ।’  

कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा वर्षभरिमा सबैभन्दा बढी ११ लाख ९७ हजार १९१ विदेशी भित्रिएका थिए। कोरोनाका कारण २०२० मा त्यो आगमन २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९६२ मा झरेको थियो। सन् २०२२ मा पर्यटक आगमनको आकार भने निकैमाथि उक्लिएकाले आगामी सिजनसम्म निकै सुधार हुने अपेक्षा रहेको बोर्डका सूचना अधिकारी समेत रहेका निर्देशक लामिछानले बताए।  

अब पनि कोरोनाले कुनै अप्ठेरो नपार्ने हो भने नेपालमा पाहुना आगमन बढ्नेमा हामी ढुक्क छौं। अन्तर्राष्ट्रिय हवाई सञ्जालको आकार पनि बढेकाले आश गर्ने ठाउँ पर्याप्त छ,’ उनले भने। बोर्डका अनुसार नेपालमा सन् २०२२ मा भित्रिएका पाहुनामध्ये २ लाख ९ हजार १ सय ५ जना भारतीय छन्। नेपालमा वर्षभरिमा सबैभन्दा बढी पाहुना भित्रिने मुलुक भारत नै भएको छ। त्यस्तै दोस्रो नम्बरमा अमेरिका। सन् २०२२ मा अमेरिकाबाट ७७ हजार ९ जना पाहुना नेपाल आएका छन्। त्यस्तै तेस्रो नम्बरमा बेलायतबाट ४४ हजार ७८१ जना पाहुना भित्रिए। अस्टे«लियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक नेपाल भित्रिएका छन्।  

बोर्डका अनुसार नेपालमा भित्रिने विदेशी पाहुनामध्ये ४० प्रतिशत हिस्सा सार्क मुलुकका सदस्य राष्ट्रको छ। युरोपेली मुलुकको हिस्सा २१.७२, एसियाको ८.३, अमेरिकाको १४.३१ प्रतिशत हिस्सा रहेको बोर्डले बताएको छ। सन् २०२२ वर्षभरिमा नेपाल भित्रिने विदेशी पाहुनामध्ये सबैभन्दा बढी अक्टोबरमा भित्रिएका थिए। अक्टोवरमा मात्र ८८ हजार ५८२ जना विदेशी नेपाल भित्रिएका छन्। त्यसपछि नोभेम्बरमा ७२ हजार ६ सय ५३ र डिसेम्बरमा डिसेम्बर ६७ हजार ९३२ जना पाहुना भित्रिएका छन्।

२०२२ को दोस्रो सिजन (अक्टोबर–डिसेम्बर) मा भित्रिएका पाहुनाको आकारले संख्या उकास्न निकै सघाएको बोर्डको भनाइ छ। नेपालमा जनवरीमा १६ हजार ९७५, फेबु्रअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ जना विदेशी भित्रिएका थिए। त्यस्तै मे महिनामा ५३ हजार ६०८, जुन महिनामा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ जना पाहुना भित्रिएका थिए।  

पर्यटन व्यवसायी पनि कोरोना संक्रमणपछिको यो आगमनले पर्यटन क्षेत्रमा निकै सुधारको संकेत देखाएको बताउँछन्। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘कोरोना संक्रमणको बेलाको आगमनको अवस्था हेर्दा पर्यटन क्षेत्र निराशामा रुमलिएको थियो। यति छिटै रिकभर होला भन्ने सोचेका पनि थिएनौ तर सोचेभन्दा छिटो गति पर्यटनले लिएको हो ।’ आगामी सिजनमा अझै राम्रो आगमन हुने अपेक्षा रहेको उनले बताए।  

चीनले पनि अबको केही दिनपछि क्वारेन्टिन हटाउने भनिसकेकाले चिनियाँ पर्यटक भित्रिने अपेक्षा रहेको पराजुलीले बताए। त्यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच बढेकाले पनि आगामी सिजनको आगमनमा अझै सुधार हुने अपेक्षा रहेको पराजुलीले बताए।

प्रकाशित: ८ माघ २०७९ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App