coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट अभावले हतुवागढी पर्यटन पूर्वाधार निर्माण अलपत्र

विद्या राई

भोजपुर– ऐतिहासिक र प्राकृतिक रुपमा छुट्टै अस्तित्व रहेको दक्षिणी भोजपुरको पर्यटकीय सम्भावनालाई प्रवद्र्धनका लागि थालिएका पूर्वाधार निर्माणका सबै काम अलपत्र भएका छन्। स्थानीय तथा बाह्य पर्यटन प्रवद्र्धन गरी क्षेत्रबासीको आर्थिक स्तरलाई उकास्न टेवा मिल्ने उद्देश्यका साथ थालिएका निर्माणमा सरकारले हेलचेक्रयाईं गरेपछि आयोजना नै अलपत्र बनेको हो।  

रानीवास गाविसमा पर्ने ऐतिहासिक हतुवागढी दरबारमा निर्माण सुरु भएको सहिद पार्क तथा स्मारकलाई आधा काम नसकिदै थाती राख्नुपर्ने भएको छ। ऐतिहासिक महत्व बोकेको हतुवागढी दरबारको प्रचारप्रसार एवमं स्थानीय तथा बाह्य पर्यटन प्रवद्र्धनका लागी सुरु भएको उक्त निर्माण अहिले आएर बीचैमा छोड्नुपर्ने अवस्थामा पुगेको छ।

द्वन्द्वकालमा हतुवागढी आक्रमणको क्रममा मृत्यु भएकाहरुको सम्झनामा थालिएको सो निर्माण कार्य बजेट अभावमा अलपत्र अवस्थामा पुगेको छ। १२ रोपनी क्षेत्रफलमा फैलिएको शहिद पार्क निमार्णका लागि २५ लाख  र स्मारक निमार्णका लागि १० गरी जम्मा ३५ लाख रकम शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट बजेट बिनियोजन भएको थियो।

आव ०६९/०७० बाट सुरु भएको उक्त कार्य ३ वर्षभित्रमा सक्नुपर्ने गरी निर्माण सुरु भएको उक्त काम विनियोजित रकम पुरै नआउँदा सम्पन्न हुने समयसीमा सकिँदा आधा पनि काम गर्न नसकिएको निर्माण समितिका सचिव तेजबहादुर राईले बताए। समितिले आव ०७१/०७२ सम्ममा १२ लाख २० हजार रकम प्राप्त भएकोले प्राप्त रकम अनुसारको मात्रै काम भएको उनले बताए।

पार्क क्षेत्रमा वाल कम्पाउण्ड, गेट, खानेपानी धारा, पिकनिक स्पट, बिश्रामघर र शौचालय निर्माण गर्ने योजनामा उल्लेख भएपनि आधाभन्दा कम मात्रामा बजेट आएकाले पुरा गर्न सकेको छैन ।

यतीबेलासम्मको निर्माणमा गेट र वाल कम्पाउण्डको आधा मात्र काम भएको समितिले जानकारी गराएको छ। जग उठाएर अढाई फिटको उचाईमा ३ सय मिटर वाल कम्पाउण्डको काम भएको छ।

पार्कको वरीपरि कम्पाउण्ड गर्न अब २ सय मिटरजति बाँकी नै छ। यसमा थप अढाई फिटको वाल उच्च बनाउन बाँकी छ। बाँकी स्टीलबार, खानेपानी धारा लगायतको काम सुरु नै भएको छैन।

सोझासाझा जनताको आँखा छल्ने काम मात्र गरेको आरोप लगाउँदै सचिव राईले सरकारले पर्यटकीय सम्भावना बोकेको यस निर्माणका लागि दत्तचित्त भएर लाग्नपर्ने उनको भनाइ छ। नभए निर्माण सुरु गर्नुको कुनै औचित्य नरहने बताउँदै उनले भने, ‘ऐतिहासिक प्रसिद्ध स्थल र देशका लागि बलिदान दिने शहिदहरुको सम्मानलाई कुल्चिन खोजिएको छ।’

यता घोरेटार बजारसँग हतुवागढी दरबार जोड्ने सिँढी निर्माण कार्य पनि अधुरै छ। संस्कृति तथा पर्यटन प्रवद्र्धन बोर्डबाट हतुवागढी पर्यटन पुर्वाधार निर्माणअन्तर्गत आव ०६९÷०७० मा प्राप्त १० लाखले आधा बाटोसम्मको सिँढी र त्यहाँ एउटा बिश्राम घर मात्र निर्माण गर्न सकेको निर्माण समिति सचिब सत्कार श्रेष्ठले बताए। उनका अनुसार बाटोमा ढुङ्गा बिछ्याएर सोलिङ्ग गरिएको छ । त्यसको फिनिसिङसँग रेलिङबार र प्रवेशद्वार निर्माण गर्न आवश्यक बजेटको अभाव छ।

ऐतिहासिक महत्व बोकेको भए पनि गुमनाम हुनै लागेको घोडेटार बजारमा रहेको भविष्यबक्ता पोखरी मर्मतसम्भारको भबिष्य पनि पार्क र सिँढीको काम जस्तै छ। पोखरीको संरक्षणका लागि मर्मतसम्भार गरी घोडेटार स्मृति पार्क निर्माण गर्न लागेको भए पनि बजेट अभावका कारण लक्ष्य अनुरुप सम्पन्न गर्न नसकेको समिति अध्यक्ष महेश राईले बताए।

निर्माणका लागि एक वर्षअघि संस्कृति तथा पर्यटन प्रवद्र्धन बोर्डबाटै ५ लाख रकम आएको थियो। आएको रकमले पोखरीको पुनःनिर्माण र बीचमा १८ फिटको स्तम्भ उठाइएको छ। १०५ फिट लम्बाई र ५५ फिट चौडाईको पोखरीको एकापट्टीको ३ फिट मात्र वाल उठाइएको छ। बाँकी निर्माण र स्तम्भमाथि घोडाको मुर्ति राख्न बजेट अभाव भएको समितिले जानकारी गराएको छ।

यसरी सरकारले नै संरक्षण सम्वद्र्धनमा ठोस उद्दारता नदेखाउँदा सम्भावित पर्यटकीय स्थल ओझेलमै परिरहने र पर्यटनको सरकारी नीति सिद्धान्तमा मात्र सीमित हुने नभइ जनताले गरेको काममा तगारो लाउन खोजेको स्थानीय प्रकाश बस्नेतको आरोप छ। पर्यटन व्यवसाय गरी जीवनस्तर उकास्ने सम्भावना हुदाँहुँदै पनि बेवास्ता गरी नेपालीलाई सँधै गरीबीको रेखामुनी नै पार्न खोजेको पनि उनले उनको गुनासो छ।  
किराँती राजा अटल सिहंले राज्य सञ्चालन गर्दै आएको हतुवाक्षेत्रमा पृथ्वीनारायण शाहको हमलापछि किराँती राजा हारेर भागेका थिए। त्यसपछि दरबारको संरक्षणको अभावले भग्नाबशेषमा परिणत भएको थियो। राजाले राज्य सञ्चालन गर्दा उनले बस्न प्रयोग गरेको ढुंगा, जाँतोलगायतका केही पुरातात्विक वस्तुहरु अझै पनि देख्न सकिन्छ। हाल हतुवागढी दरबार क्षेत्रमा नेपाली सेनाको व्यारेक बस्दै आएको छ। दरबार रहेको गढीडाँडा समुन्द्री सतहदेखि करिब १५ सय मिटर माथि रहेको छ। जानकारहरुका अनुसार भोजपुरको प्रसिद्धस्थल ट्याम्केडाँडा, मकालु, कञ्चनजंघालगायतका हिमशिखरको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। मौसम सफा भएको बेला तराईका फाँटहरु, छिमेकी देश भारतका केही ठाँउहरु देख्न सकिन्छ। वरपरको प्राकृतिक दृश्यावलोकनबाट मनोरञ्जन लिन सकिन्छ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App