७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतीय नाकाबन्दीले गरेन असर

काठमाडौं- स्वतन्त्र मुलुकका सार्वभौम जनता आफैंले संविधान जारी गरेको झोंकमा छिमेकी भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व इन्धन अभाव झेल्नु परे पनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ। मधेस केन्द्रित दलहरुले गरेको आन्दोलन देखाउँदै भारतले झन्डै ६ महिना नाकाबन्दी गर्दा आयात–निर्यातमा प्रत्यक्ष रुपमा प्रभाव पारे पनि गाडी आयातमा भने वृद्धि भएको यातायात व्यवस्थापन विभागको तथ्यांकले देखाएको हो।

यातायात व्यवस्थापन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा गाडीको दर्ता ४३.४८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा विभिन्न प्रकारका गाडीको आयात ४३.४८ प्रतिशतले बढेको हो। विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३ लाख ४३ हजार ७ सय ६५ नयाँ गाडी दर्ता भएका छन्। जबकि अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा २ लाख ३९ हजार ५ सय ८३ वटा गाडी दर्ता भएका थिए।

विभिन्न सुविधाले उपभोक्ताको क्रयशक्ति बढेपछि गाडीको माग बढेको र यो व्यवसायमा वृद्धि देखिएको सम्बद्ध व्यवसायीको भनाइ छ। 'गाडीको व्यवसाय र अटोमोबाइल उद्योग गत आर्थिक वर्ष उल्लेख्य रुपमा वृद्धि भएको छ,' अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)का पूर्वअध्यक्ष शेखर गोल्छाले भने, 'अटोमोबाइल उद्योग वृद्धिमा बैंकको लिक्विडिटीले प्रमुख भूमिका खेलेको छ।'

गोल्छाका अनुसार वित्तीय क्षेत्रमा बढेका तरलता (लगानीयोग्य पैसा) ले गर्दा अटोमोबाइलमा जाने कर्जाको ब्याजदर घटाइएको छ। यसकारण गाडीमा लगानी गर्नेहरू बढेको उनले बताए। हाल बैंकहरूले ७ देखि ८ प्रतिशतमा गाडी कर्जा उपलब्ध गराउँदै आएका छन्। यही सुविधाले उपभोक्ताले गाडीमा लगानी गरेको व्यवसायीको भनाइ छ।   

त्यसैगरी, ग्रामीण क्षेत्रमा सडक विस्तारले पनि यो व्यवसायलाई माथि उठाएको छ। 'प्रत्येक जिल्लाका गाविसमा बाटो ट्र्याक खोलिएका छन्। बाटो विस्तारको काम भइरहेको छ। यसरी खोलिएका नयाँ बाटोमा गाडी पनि कुद्न थालेका छन्,' गोल्छाले भने, 'यसले गर्दा गाउँगाउँमा पनि गाडीहरू बाक्लिन थालेका छन्। यसको सिधा फाइदा उद्योगलाई भएको हो।'

आयातमा भएको वृद्धि जस्तै आन्तरिक व्यवसायमा पनि वार्षिक रुपमा उल्लेख्य वृद्धि भएको छ। गोल्छाका अनुसार पछिल्लो केही वर्षमा आन्तरिक अटोमोबाइलको बिक्री ३५ प्रतिशतले वृद्धि भइरहेको छ।

हरेक वर्ष जस्तो गत आर्थिक वर्षमा पनि मोटरसाइकल आयात धेरै भएको छ। विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३५ प्रतिशतले मोटरसाइकल दर्ता वृद्धि भएको छ। तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ लाख ६७ हजार ४ सय ३९ मोटरसाइकल दर्ता भएका छन्। अघिल्लो वर्ष यसको संख्या १ लाख ९६ हजार ३ सय ८३ थियो।

नाडाका उपाध्यक्ष शम्भु दाहालका अनुसार रेमिटेन्सको वृद्धिले गाडी बिक्रीमा उल्लेख्य भूमिका खेलेको छ। 'नेपालमा उल्लेख्य रुपमा रेमिटेन्स वृद्धि भइरहेको छ,' दाहालले भने, 'बजारमा आएको यो पैसाले उपभोक्ताको क्रयशक्ति बढाएको छ।' दाहालका अनुसार भूकम्प र नाकाबन्दीपछि अटोमोबाइल उद्योग पुरानै स्वरुपमा फर्किंदै व्यवसाय बढिरहेको छ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा इ–रिक्सा आयात वृद्धि भएको छ। सो वर्ष ११ हजार ८ सय ९४ वटा इ–रिक्सा आयात भएका छन्। नाकाबन्दीपछि विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ। तराईका प्रमुख सहरमा विद्युतीय रिक्साको प्रयोग बढिरहेको छ। त्यस्तै, विद्युतीय स्कुटरको बिक्री पनि बढिरहेको व्यवसायीको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा भने इ–रिक्सा आयातको तथ्यांक अल्लेख गरिएको छैन।

मिनिबस, क्रेन/डोजर/एस्काभेटर/ट्रक, कार, जिप, माइक्रो, टेम्पो जस्ता गाडीको आयात बढेको छ। बस, पिकअप, ट्याक्टर, पावर टेलर जस्ता गाडीको आयात भने घटेको छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App