१६ चैत्र २०८० शुक्रबार
अर्थ

उतारचढावबाट हतोत्साही नबनौं : अध्यक्ष कार्की

काठमाडौं-नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लगानीकर्ता अहिले हतोत्साही हुनुपर्ने र आत्तिनुपर्ने अवस्था नभएको र बजार सुधारोन्मुख रहेको बताए ।

कार्कीले पछिल्लो राजनीतिक परिवर्तनको कारण यस्तो समस्या आएको भन्ने हल्ला चले पनि त्यसमा सत्यता नभएको बताए । उनले थपे, ‘आजैमात्र मैले अर्थमन्त्रीसँग भेट गरेको छु, उहाँ पुँजी बजारलाई प्रोत्साहन गर्नेमा सकारात्मक हुनुहुन्छ ।’

कार्कीले संस्थागत लगानीकर्ता नहुँदा बजारमा समस्या देखिएको टिप्पणी गरे । उनले बोर्ड पुँजी बजारलाई नियमन गर्दै चुस्त र दुरुस्त वातावरण बनाएर सहजीकरण गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।

धितोपत्र बोर्डले बजारमा कालो धनको प्रवेश छ कि छैन भनेर छानबिन गर्न समिति बनाएको तर यसका कारण लगानीकर्ता हतोत्साही भएका कारण विघटन गरेको उनले प्रस्ट्याए । उनले थपे, ‘हामी पछि हटेको भन्ने कुरामा सत्यता छैन, हामीले त लगानीकर्तालाई सुरक्षित महसुस होस र द्विविधामा नपरुन् भनेर समिति विघटन गरेर दोस्रो विज्ञप्ति जारी गरेका हौं ।’ लगानीकर्तामा गलत बुझाइ पर्न गएको र धितोपत्र बजारमा समेत नकारात्मक प्रभाव परेको भन्दै बोर्डले उक्त समिति खारेज गरेको कार्कीको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले पछिल्लो समय सेयर बजार विवेकसंगत ढंगले चलेको छ कि छैन भन्ने कुरामा आशंका रहेको तर्क गर्दैै भने, ‘सेयर बजारमा अहिले भाइरल ज्वरोको संकेत देखिएको छ, हिजो ८८ अंकले घटेको नेप्से आज ८४ अंकले बढनुलाई मैले अस्वाभाविक मानेको छु ।’

क्षेत्रीले नेपालमा पुँजी बजार प्रणालीबारे ज्ञानको अभाव रहेको समेत गुनासो पोखे । उनले नियामक निकायले बजार अनुगमन गर्ने कुरामा विशेष पहलकदमी लिनुपर्ने सुझाव दिए ।

ब्रोकरहरुले आफ्नो कमिसनबापतको रकम घटेपछि बजारमा प्रभाव पार्न कारोबारमा ध्यान नदिँदा पनि अहिलेको समस्या उत्पन्न भएको उनको तर्क थियो ।

इन्भेस्टर फोरमका अध्यक्ष आत्माराम घिमिरेले सेयर बजारलाई लोभ र डरको संयोजनको रुपमा टिप्पणी गर्दै अस्वाभाविक रुपमा बढेको सेयर सच्चिएको बताए । यद्यपि उनले २–४ दिनदेखि सेयर बजारको प्रवृत्ति अस्वाभाविक बनेको टिप्पणी गरे ।

घिमिरेले सरकार परिवर्तन, धेरैजसो ब्रोकर नै लगानीकर्ता बन्ने जस्ता परिपाटीलाई पनि समस्याको रूपमा चित्रण गर्दै यसबारेमा नियामन निकायले अनुसन्धान गर्नुपर्ने सुझाव दिए । उनले बजार चलाउनको लागि सुशासन चाहिने भन्दै त्यतातिर नियामक निकायको ध्यान जान जरुरी रहेको बताए ।

घिमिरेले थपे, ‘कमाइको मात्रा कति छ भन्नेमा पनि पारदर्शी हुनुपर्छ, गलत लगानीकर्ता भए त्यसमा पनि छानबिन गर्नुपर्छ ।’ उनले पछिल्लो समय सेयर बजारमा कमाइ छ भन्ने भएकाले पनि यसको आकर्षण ह्वात्तै बढेको स्पष्ट पारे ।

स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले मार्केट फोर्सका कारण बजार घटबढ भएको तर्क गरे । उनले भने, ‘बजार तलमाथि हुनुमा ब्रोकरको कुनै हात छैन, अहिले हामी अचानो बनेका छौं ।’ उनले लगानीकर्ताले जे चाहन्छ आफूहरुले त्यही गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

उनले स्टक एक्सचेन्जको व्यावसायिक क्षमता बढाउनुपर्नेतर्फ समेत ध्यानाकर्षण गराए । उनले थपे, ‘टेक्नोलोजी फ्रेन्डली भयो भने त्यति समस्या हुँदैन ।’

उनले लगानीकर्ताको विश्वासमा कमी आएका कारण बजार उच्च बिन्दुले ओर्लेको दाबी गर्दै भने, ‘आत्तिएर सेयर बेच्न थालेपछि बजारमा आपूर्ति बढेको र केही दिन संयमित भएर बसेकाले पनि सेयर फ्याँक्न थालेका थिए, हामीले त उनीहरुले जे भन्छन् त्यही गर्ने हो ।’

सोमबार अप्रत्याशित रुपमा पहिरो गएको सेयर बजारमा मंगलबार खुसीयाली छाएको छ । सोमबार ८८ अंकले गिरेको बजार मंगलबार झन्डै त्यही अनुपातमा उक्लिएको छ ।

मंगलबार बजार खुलेदेखि नै निकै तीव्र गतिमा उकालो लागेको नेप्से एक घन्टामै ८४.५१ अंकले बढेको छ । सोमबार १६७५ मा ओर्लिएको बजार मंगलबार बुलकै शैलीमा बुर्कुसी मारेर १७६०.४२ अंकमा उक्लिएको छ । सोमबार शोकमग्न सेयर बजारमा मंगलबार एकाएक खुसीयाली छाएको छ ।

प्रकाशित: २६ श्रावण २०७३ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App