१६ चैत्र २०८० शुक्रबार
अर्थ

एकै दिन ८९ अंकले ओर्लियो नेप्से

काठमाडौं- सेयर बजार तीव्र गतिले घट्ने क्रम नरोकिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सेयर कारोबार डेढ घन्टाअगाडि नै स्थगित गरेको छ। बजार ५ प्रतिशतभन्दा बढीले घटेपछि सोमबारका लागि कारोबार स्थगित गरिएको हो।

११ बजे खुलेको बजार ५ प्रतिशतले घटेपछि साढे १ बजे बन्द भएको थियो। बजार खुलेको दुई घन्टामै बजार ३ प्रतिशतले घटेको थियो। त्यसपछि आधा घन्टामा पुनः २ प्रतिशतले घट्यो। बजार ५ प्रतिशतले झरेपछि ३ बजे बन्द हुनुपर्नेमा डेढ बजे नै बन्द भएको हो।

सोमबार नेप्से ८८.८१ बिन्दुले झरेर १६७५.९१ अंकमा आइपुगेको छ। उत्पादनबाहेक सबै समूह ओरालो लागेका छन्। १३ साउनमा उच्चतम १८८१ अंक पुगेपछि घट्न थालेको बजार त्यसयता कुनै दिन पनि बढेन। आइतबार एकल अंकले घटे पनि गत साता हरेक दिन दोहोरो अंकले ओरालो लागेको थियो। सोमबार भने ऐतिहासिक रुपमै घट्न पुग्यो।

उच्चतम अंकबाट निरन्तर ७ दिन घटेर नेप्से १६७५.९१ मा आएको छ। कारोबार रकमसमेत घटेर ८७ करोड ९३ लाख रुपैयाँमा खुम्चिएको छ। बढ्दो बजारमा पौने ४ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।

नेपाल धितोपत्र बोर्डको नियमित निर्देशनका कारण बजार घटेकोे केही ब्रोकर बताउँछन्। बोर्डले जारी गर्ने केटौले निर्देशनले पनि बजार घटाउने काम गरेको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए। 'बोर्डको अस्वाभाविक अभिव्यक्ति (निर्देशन)ले पनि लगानीकर्ता निरुत्साहित भएका हुन्,' उनले भने, 'यसले लगानीकर्तामा मनोवैज्ञानिक असर परेको हुनुपर्छ।' यसैबीच माओवादी नेतृत्वमा सरकार बन्नुले पनि बजार घटाउन बल पुर्‍याएको लगानीकर्ताको दाबी छ।

सोमबार १ सय ३० कम्पनीको सेयर कारोबार भएको थियो। कारोबारमा आएका उक्त कम्पनीमध्ये ४ बाहेक सबैको सेयर मूल्य घटेको छ। युनिलिभरको सेयर मूल्य २ प्रतिशतले बढेपछि उत्पादन समूह भने हरियो देखिएको हो।

सोमबार सबैभन्दा धेरै बिमा समूह ५ सय ३७ बिन्दुले ओरालो लागेको छ। वाणिज्य बैंक समूह ९२ बिन्दुले झरेको छ। प्रिमियर इन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र फेवा विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी घटेको छ।

केही दिन बजार घटेपछि फेरि पुरानै लयमा फर्किन्छ भन्ने अनुमान विपरीत एकै दिन यसरी ओरालो झरेपछि लगानीकर्ता अत्तालिएका थिए। उनीहरु आत्तिएर सेयर बेच्न थालेपछि बजारमा आपूर्ति बढेको र केही दिन संयमित भएर बसेकाले पनि सेयर फ्याँक्न थालेको ब्रोकरहरु बताउँछन्। लगानीकर्ताको विश्वासमा कमी आएका कारण बजार उच्च बिन्दुले ओर्लेको उनीहरुको भनाइ छ।

धितोपत्र बोर्डले बजारमा कालो धनको प्रवेश छ कि छैन भनेर छानबिन गर्न समिति नै बनायो। यस्तो हल्लालेे ठूला लगानीकर्ताको समेत मनोविज्ञान हल्लाइदिएको ब्रोकर बताउँछन्। 'कालो धनको जाचबुँझ गर्न समिति नै बनाएको धितोपत्र बोर्डले सार्वजनिक गरेपछि सेयर लगानीकर्ता हतोत्साही भए,' सिजापतिले भने, 'ठूला लगानीकर्तामा त्यसको पनि असर पर्‍यो।'

माओवादी नेतृत्वमा सरकार बनेपछि लगानीकर्ता निराश भएको केही विज्ञहरुको दाबी छ।  विगतमा पनि पुष्पकमल दाहाल नेतृत्वमा सरकार बन्दा बजार ओरालो लाग्न सुरु गरेको थियो। यसपालि पनि त्यही प्रभाव परेको अनुमान केही लगानीकर्ताले गरेका छन्।

तैपनि केहीले कमाए

सेयर बजार निरन्तर ओरालो लागे पनि चार कम्पनीको सेयर मूल्य बढेको छ। त्यसमध्ये एउटाको मूल्य १० प्रतिशतले बढेर कारोबार स्थगन नै भयो। बाँकी तीन कम्पनीको मूल्य पनि राम्रोसँग बढेको छ।

बजार ओरालो लागे पनि माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ। सोमबार १० प्रतिशत अर्थात प्रतिकित्ता ८८ रुपैयाँ बढेर सेयर कारोबार बन्द भएको छ। कम्पनीको सेयर मूल्य बढ्नुमा एक ठूलो बैंकसँग मर्जरको चर्चा प्रमुख कारण हो।

 यसपछि जनउत्थान सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य उकालो लागेको छ। यसको सेयर मूल्य सात प्रतिशत अर्थात प्रतिकित्ता ६६ रुपैयाँले बढेको छ। जनउत्थान लघुवित्त कम्पनीमध्ये सस्तो मूल्यको सेयर भएको कम्पनी हो।

हाम्रो विकास बैंकको सेयर मूल्य पनि ४.६२ प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैयाँ बढेर २ सय ४९ रुपैयाँ पुगेको छ। आइतबारबाट कारोबार खुलेको कम्पनीको सेयर बढ्नुमा लामो समय कारोबार स्थगित हुनुको हात छ।

धेरै रकमले सेयर मूल्य भने युनिलिभर नेपालको बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिशतका हिसाबले जम्मा दुई प्रतिशत देखिए पनि रकमका हिसाबले सबैभन्दा बढी दरले बढेको छ। केही दिनदेखि मजदुर आन्दोलनले बन्द भएको कम्पनी मजदुरसँग कुरा मिलेपछि त्यसको प्रभाव सेयर मूल्यमा परेको हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ४९ रुपैयाँले बढेर ३३ हजार १ सय १९ रुपैयाँ पुगेको छ।

प्रकाशित: २५ श्रावण २०७३ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App