८ वैशाख २०८१ शनिबार
अर्थ

मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजको वर्तमान बजार भाउ मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको छ। निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीका लागि सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको वर्तमान बजार भाउ मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको हो। इच्छुक कम्पनीले २१ दिनभित्र प्रस्ताव पेस गर्नसक्ने छन्। 

सञ्चालक समितिको गत असार २४ मा बसेको बैठकले हाल सिंगापुरमा 'ग्राउन्डेड' कलसाइन '९एन–एसिए' भएको उक्त जहाज बिक्री गर्न सैद्धान्तिक सहमति दिएको थियो। अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित 'बि७५७–२००' सिरिजका यो जहाजमा १६ बिजनेस क्लास र १ सय ७४ इकोनोमी क्लास गरी १ सय ९० सिट क्षमता छ। करिब ३० वर्ष पुरानो जहाज बिक्री गर्ने पाउने 'ग्रिन सिग्नल' पछि व्यवस्थापनले बजार भाउ मूल्यांकन गर्न प्रस्ताव मागेको हो।

'बि७५७ एसिए जहाज बिक्री गर्न सैद्धान्तिक सहमति पाएपछि यसको वर्तमान बजार भाउ मूल्यांकनका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, 'यसमा विश्वासिला विदेशी कम्पनीको प्रस्ताव पर्ने विश्वास छ।'

निगमका अनुसार प्रस्ताव पेस गर्ने कम्पनीले 'इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङ' मापदण्ड पूरा गरेको हुनुपर्ने छ। खामबन्दी प्रस्तावलाई मात्र प्रतिस्पर्धामा सहभागी गराइने छ। जहाजको बजार भाउ मूल्यांकन गर्दा लाग्ने सम्पूर्ण खर्च प्रस्तावमै उल्लेख गर्नुपर्ने छ।

'जुन कम्पनीले सबैभन्दा सस्तो खर्चमा जहाजको वर्तमान बजार भाउ मूल्यांकन गर्ने प्रस्ताव गर्छ, उसैले प्रस्ताव पाउने छ,' प्रवक्ता शर्माले भने, 'यसमा सकेसम्म विश्वसनीय कम्पनी छनोट गर्ने प्रयास गर्छौं। तोकिएको म्यादभित्र प्राप्त मूल्यांकन गरी एक/दुईदिनमै कम्पनी छनोट गर्ने छौं।'

वर्तमान हवाई बजारअनुसार बोइङ एसिए जहाज बिक्री गर्दा कति रकम हात पर्छ भन्ने निगम आफैंले पत्ता लगाउन नसक्ने भएका कारण मूल्यांकनका लागि विदेशी कम्पनी बोलाउन प्रस्ताव आह्वान गरिएको हो। यो जहाज खरिद गरेयता निरन्तर २९ वर्षदेखि उडान गरिरहेको थियो।

निगमले २०४४ साल (सन् १९८७) मा २ करोड ८० लाख अमेरिकी डलरमा बि७५७ ९एन–एसिए जहाज खरिद गरेको थियो। त्यसबेला अमेरिकी डलरको भाउ एकबराबर ३० रुपैयाँ थियो। यस हिसाबले यो जहाजका लागि निगमले ८४ करोड रुपैयाँ तिरेको थियो। यो जहाजमा अहिले दुईथान 'आरबी२११–५३५ई४' इन्जिन छन्।

'त्यसबेलाको भाउ र अहिलेमा ठूलो अन्तर छ, अनि जहाजको ह्रासकट्टी पनि हुन्छ,' प्रवक्ता शर्माले भने, 'त्यसकारण करिब तीन दशक उडेको जहाज बिक्री गर्दा कति रकम आउँछ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन। अझ बोइङ कम्पनीले यस्तो जहाज उत्पादन बन्द गरेको १२ वर्ष भइसकेको छ।'

बोइङले सन् १९८१ देखि २००४ सम्म बि७५७ जहाज उत्पादन गरेको थियो। यो जहाजको पहिलो उडान १९८२ फेबु्रअरी १९ मा भएको थियो। त्यसको पाँच वर्षपछि निगमले पहिलो र दुई वर्षपछि १९८९ मा अर्को बि७५७–२०० जहाज खरिद गरेको थियो। बोइङले २७ वर्षमा यस्ता १ हजार ५० थान जहाज उत्पादन गरेको थियो। २००४ देखि बि७५७ जहाज उत्पादन बन्द गरेको बोइङले २००२ मा यसको बजार भाउ ६ करोड ५० लाख अमेरिकी डलर तोकेको थियो।

'नाम चलेका र विश्वसनीय विदेशी कम्पनीबाट एसिए जहाजको वर्तमान बजार भाउ मूल्यांकन गरेपछि जहाज बिक्रीमा रहेको र लिलाम बढाबढमा खरिद गर्न ग्लोबल टेन्डर आह्वान गर्छौं। यसका लागि केही समय लाग्ने छ,' शर्माले भने।

मर्मतका लागि करिब दुई महिनाअघि सिंगापुर लगिएको यो जहाज बिक्री गर्ने भएपछि निगमले मर्मत नगरी राखेको छ। यसका दुई इन्जिनमध्ये एउटा झिकेर अर्को बि७५७ ९एन–एसिबी जहाजमा जडान गरेको छ। निगमले एसिएलाई सिंगापुरमा दैनिक भाडा तिरेर राखेको छ।

एसिएमा भएका दुई इन्जिनमा उडान अवधि कम छन्। दुइटा बोइङका चारथान इन्जिनबाहेक अर्को एउटा जगेडा इन्जिन स्पेनको सरकारी वायुसेवा कम्पनी आइबेरियामा मर्मत भइरहेको छ। त्यसलाई सिंगापुर ल्याइने र एसिबीमा जडान गर्ने निगमको योजना छ।

'अब एसिए जहाज जेजस्तो हालतमा छ, त्यसैअनुसार विदेशी कम्पनीले बजार भाउ मूल्यांकन गर्नेछन्,' निगम प्रवक्ता शर्माले भने, 'त्यसपछि आह्वान हुने टेन्डरमा जसले बढी रकम प्रस्ताव गर्छ, जहाज उसैले पाउने छ।'

निगमको आर्थिक उन्नतिमा दुईथान बि७५७ जहाजका योगदान उल्लेख्य रहेको छ। यी जहाजले उडान गरिरहँदा वार्षिक २ अर्बदेखि २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरिरहेका थिए। यसको अर्थ बिक्री गर्न लागिएको एसिए जहाजले पनि वार्षिक करिब सवा अर्ब रुपैयाँसम्म कमाउँथ्यो।

एसिए जहाजले काठमाडौंबाट लन्डन (बेलायत), पेरिस (फ्रान्स), फ्र्यांकफर्ट (जर्मनी), ओसाका (जापान), सांघाई (चीन), दुबई (युएई), कोलम्बो (श्रीलंका), माले (माल्दिभ्स), ढाका (बंगलादेश), कराँची (पाकिस्तान), बैंकक (थाइल्यान्ड), हङकङ, क्वालालम्पुर (मलेसिया), ल्हासा (तिब्बत) तथा भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता, बैंगलोरलगायत गन्तव्यमा उडान गरेको थियो।

यी जहाज जति पुराना भए मर्मत खर्च तथा इन्धन खर्च त्यत्ति नै बढी हुन थालेको थियो। सम्बद्ध अधिकारीका अनुसार एसिए जहाजले प्रतिघन्टा उडान गर्दा ४ हजार किलो इन्धन खपत गर्थ्यो। यसले एक उडानबाट जति आम्दानी गर्थ्यो, त्यसको अधिकतम ४० प्रतिशतसम्म इन्धनमा खर्च गर्नुपर्थ्यो र त्यसबाहेक मर्मत खर्च छुट्टै थियो।

'अब एसिए जहाज मर्मत गर्न एकदेखि डेढ अर्ब खर्च लाग्ने देखिएको छ,' ती अधिकारीले भने, 'पुरानो भएपछि मर्मत खर्च बढी लाग्नु स्वाभाविक हो। मर्मत गरेर ल्याए पनि समयमा उडाउन नसकिने समस्या आउनसक्छ भने जुनसुकै बेला प्राविधिक कारण रोकिन पनि सक्छ।'

प्रकाशित: २३ श्रावण २०७३ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App